गणतन्त्रको दृढतापूर्वक पक्षपोषण गर्नुपर्दछ– अध्यक्ष ओली

फाइल तस्बिर
फाइल तस्बिर

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्रको सुन्दर प्रणालीलाई मजबुत बनाएर गरिबी र पछौटेपन विरूद्धको लडाइँ जित्नुपर्ने बताएका छन्।

गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले गणतन्त्र एउटा शासन प्रणाली मात्र नभएर सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धति रहेको भन्दै यसलाई अभ्यासद्वारा नै लोकप्रिय बनाउनुपर्ने बताएका छन्।

'गणतन्त्रलाई अभ्यासद्वारा नै लोकप्रिय बनाउनुपर्छ। जहाँ सीमान्तकृत, अल्पसङ्ख्यक, गरिबी र बेथितिमा बाँचेका वर्गहरू, महिला, बालबालिका, पछाडि परेका र पारिएका समुदायको बीचमा विभेद र बहिष्करण होइन, राज्यको संरक्षणले स्थान पाउन सकोस', उनले जारी गरेको सन्देशमा भनिएको छ।

उनले हाम्रा बाआमा, दाजुभाइ, दिदीबहिनीले शहादत गरेर, अङ्गभङ्ग हुनेगरी घाइते भएर र रगत बगाएर ल्याएको गणतन्त्र प्रणालीको दृढतापूर्वक पक्षपोषण गर्नुपर्ने बताएका छन्। अध्यक्ष ओलीले गणतन्त्र दिवस जनताले ऐतिहासिक सफलता प्राप्त गरेको र जनता विजयी भएको महान उत्सव भएको उल्लेख गर्दै जनता वास्तविक अर्थमा सार्वभौम बनेको यस दिन नेपालको राजनीतिक इतिहासको महत्त्वपूर्ण र अविस्मरणीय दिन रहेको बताएका छन्।

प्रकाशित मिति: : 2023-05-29 06:13:00

प्रतिकृया दिनुहोस्