असोज १३ गते बिहान उठ्दा बाहिर बरफ जमेको थियो। घाम नझुल्केसम्म हिँडडुल गर्न नसकिने। प्राकृतिक शौचको लागि उपयुक्त स्थानको खोजी कार्य भयो। तातोपानी मागेर हात मुख धोयौं।
प्लाष्टिक टनेलबाट झोला लगायतका सामान निकालेर उहाँहरुको टेन्टभित्र पसेर तातोपानी खादै भोट्या च्या (घ्यु चिया/नुन चिया) पकाउन उहाँहरुकै भाषामा अनुरोध गरियो।
५ वर्ष बौद्ध बसेको अलि–अलि काम आयो। भाषा बुझ्थेँ। अलि कम बोल्न आउँथ्यो। सबै जान्दिनथे। यसो ट्यांकामा हेरेको हिजोको भात थुप्रै बाँकी रहेछ। सबैसँग सल्लाह गरेर त्यै भातमा चौरीको घ्यु राखेर भुटेर खाने सहमति भयो।
दिउँसको लागि उवाको रोटी र आलु उसिन्न साँझ नै भनिसकेका थियौं। हामी गुम्बा वारीपट्टीको चौरी राखिने चौरमा बास बसेका थियौं।
बासी भात खाइसकेपछि २० ओटा रोटी र लगभग २ किलो उसिनेको आलु प्याक गरी शे गुम्बा हुँदै साल्दाङ्ग तिरको यात्रा अगाडि बढ्यो। चार हजार एक सय ६० मिटरमा अवस्थित शे गुम्बा बन्द थियो।
११औं शताब्दीमा निर्मित उक्त गुम्बामा प्रत्येक १२ वर्षमा शे मेला लाग्ने रहेछ। १२औं शताब्दीको सुरुवाती वर्षहरुमा कग्युद सम्प्रदायले विजय उत्सवको रुपमा यस मेलाको प्रचलन चलाएको रहेछ। जुन बौद्ध धर्मको पाँच प्रमुख सम्प्रदायहरू मध्ये एक हो।
सोही गुम्बाको नामबाट राष्ट्रिय निकुञ्ज र गाउँपालिकाको नाम जुराइएको हो। गुम्बा बन्द भएकोले बाहिरबाटै अवलोकन गरेर फोटो खिच्दै हामी अगाडि बढ्यौं। त्यहाँबाट भिजेर जान एकदिन पुरै हिँड्नुपर्ने रहेछ। भिजेर तिब्बतबाट नजिकैमा पर्ने रहेछ।
भिजेर हुँदै साल्दाङ्ग आउन सकिने थियो। तर, हामी हाम्रो अवस्थालाई ध्यानमा राखेर सकेसम्म यात्रा छोट्याउने मनसायमा पुगिसकेका थियौं।
हाम्रो काम भनेकै हिँड्ने हिँड्ने अनि हिँड्ने भइसकेको थियो। साथीहरु फोटोको लागि क्यामेरा झिक्न समेत अल्छि गरिरहेका देखिन्थे।
साल्दाङ्ग पुग्न पनि पाँच हजार मिटर माथिको एक लेक काट्नुपर्ने थियो। हामी सवा १२ बजेतिर पाँच हजार १६ मिटरको काङ्गला/साल्दाङ्ग ला पास पुग्यौं। फ्रेन्च निर्देशक एरिक भल्लीको ’हिमालयन क्याराभान’ फिल्ममा थिन्ले ढलेको ठाउँ अर्थात् फिल्मको क्लाइमेक्स सिन।
हामी पुग्दा यस्तो हावा चलिरहेको थियो कि स–साना ढुंगाका कणहरु उडिहेका थिए। स–साना ढुङ्गाहरु उडेर अनुहारमा ठोकिन्थे। फोटो/भिडियो खिच्ने क्रम लगभग १५ मिनेट चलिरह्यो। अलि अगाडि खोलामा झरिसकेपछि खाजा खानुपर्छ भन्ने सल्लाह भयो।
सोहीअनुसार आलु र रोटी बोकेर म र सुरज भाइ आवश्यक तयारीको लागि अरुभन्दा अगाडि लम्कियौं। तल खोलामा पुगेर एउटा ढुङ्गा र लोडो (आलु पिस्ने) खोज्यौ। ढुङ्गालाई पखालेर त्यसमा नुन खुर्सानी राखि सुरज भाइले धनेष दिए अर्थात् पिसे। आलुको बोक्रा छोडाएर ढुङ्गामै पिसियो अर्थात् मिक्स गरियो। तयार भयो लोभ्याउने ततनी अर्थात् चट्नी।
केही बेरमा सबैजना हामी भएको ठाँउमा आइपुग्नुभयो। आफैं घरिना बनेर एक ज्यानलाई २ रोटी त्यसमाथि आलुको चट्नी राखेर सबैलाई बाँडे। रोटी खासै पाकेका थिएनन् तर पेटमै पकाउनुपर्छ भनेर सबैजनाले खुबै स्वादले खायौं। वाह ! स्वाद, भोक मिठो कि भोजन ? अनि समय सान्दर्भिक गीतको रचना ठाँउको ठाउँ भैगयो।
बरिलै शैलीमा.... ‘नुन पिस्ने लोहोरो, चाटे मैले एकहोरो; बरिलै शेरबादुर दाई हेर्याको हेर्यै।’ यहाँ पनि फोटो/भिडियो खिच्ने क्रम रोकिएन, टोली भारी पेट लिएर अगाडि बढ्यो।
शे बाट हिँडेको लगभग ७ घण्टापछि अर्थात् दिउँसोको ३ बजेतिर नामग्याङ्ग गुम्बा भएको स्थलतिर पुग्यौं। पर्यटकहरुले एक दिन यतै क्याम्प गरेर बस्ने रहेछन्। हामीसँग बसोवास र खानाको ब्यवस्था नभएकोले बस्ती/गोठ भएको स्थानमा पुग्नैपर्थ्यो।
लगभग साडे एक घण्टा हिँडेपछि तल गहिरोमा साल्दाङ्ग बस्ती देखियो। हेर्दा नजिकै देखिए पनि ओरालो झर्न सार्है गाह्रो हुने रहेछ। त्यो डाँडामा एकछिन आराम गरेर सबैजना जम्मा भइसकेपछि हामी ओरालो झर्यौं। गाउँको लागि माथिबाट पानीको पाइप लगिएको रहेछ। बीच बीचमा पानी ट्यांकी बनाइएका थिए।
मोटरसाइकल गुडाउन बनाइएका कोदाले बाटाहरु छरपष्ट थिए। लगभग ६ बजेतिर साल्दाङ्ग पुग्यौं। शे फोक्सुण्डो गाउँपालिकाको केन्द्र हो साल्दाङ्ग। गाँउपालिकाको केन्द्र पुग्न भन्दा जिल्ला सदरमुकाम चाँडै पुगिने। अजब संघीयताका, गजब संरचना!
दुनैबाट उकालो हिँडेपछि पहिलो पटक मोटरसाइकल देखियो। मौतका कुवामा दौडीने जस्ता लिफानका मोटरसाइकलहरु, कुनै–कुनै राम्रै डर्ट बाइक। मोटरसाइकल चलाउन न अनुमति पत्र चाहिने न बिलबुक, पाँच हजार एक मिटरका लेक, मोटरसाइकल मात्र अट्ने बाटो। मान्छे हिँड्न डर लाग्ने बाटोमा मोटरसाइकल चलाउन तेल होइन चालकको साहसको चाहिने, पेट्रोल लिटरको रु.८०० मात्र।
यस्ता ठाँउमा मोटोक्रस/एक्सट्रिम, ईन्ड्यूरो जस्ता साहसिक मोटरसाइकल रेस प्रतियोगीता गरे क्या गज्जब हुन्थ्यो होला। मैले साइकल सम्झे। नेपालमा ७/८ लाख पर्ने डर्ट बाईक यता एक डेढ लाखमै आउने, मोटरसाइकल चढ्नभन्दा किन्न सस्तो, डेढ घण्टा चढेको वा कसैलाई कतै पुर्याइदिएको दश हजार मात्र।
साँझ वडा कार्यालय मुनिपट्टी रहेको एक होटेलमा बास बस्यौं। गाउँपालिकाको केन्द्रका मान्छेको कुरै बेग्लै। त्यो पाटो मैले समेट्न चाहिन।
खुट्टालाई भोलि फेरि हिँड्नुपर्छ भन्ने निर्देशन दिएर सुत्यौं। निन्द्रा परेन। उठियो सुतियो, उठियो, सुतियो, यो क्रम चलिरह्यो। रातको साढे एक बजे पिउने पानी सकिएछ। म रित्तो बोत्तल बोकेर पानीको खोजिमा बाहिर निस्किएँ..।
(लेखक कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अधिकृत हुन्। बिएल नेपाली सेवामा उनको डोल्पा यात्रा संस्मरण शृङ्खलाबद्ध रुपमा प्रकाशन भइरहेको छ।)