हामीले गरेको गल्तीलाई आधार बनाएर गणतन्त्रमाथि दोष लगाउनु हुँदैन: रेखा शर्मा 

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक दलले गरेको गल्तीलाई आधार बनाएर अहिले गणतन्त्र व्यवस्थाप्रति प्रहार भइरहेको बताएकी छिन्।

आइतबार काठमाडौंमा सामुदायिक सूचना नेटवर्क (सीआईएन)को १५औँ स्थापना दिवसलाई उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो बताएकी हुन्।

उनले राजनीतिक दलले गरेको गल्तीलाई आधार बनाएर सिंगो गणतन्त्रमाथि नै प्रहार गर्न नहुने बताइन्। उनले भनिन्, ‘कैयन मान्छे, कैयन शक्तिकेन्द्रहरुले गणतन्त्र प्राप्तिपछि जो सरकार सञ्चालनमा हामी गयौँ। हामीले गरेको गल्ती कमजोरीलाई आधार बनाएर गणतन्त्रलाई दोष दिने, व्यवस्थालाई दोष दिने, तपाई हामीले प्राप्त गरेको समावेशी व्यवस्थालाई दोष दिने काम भइरहेको छ।’

यसरी राजनीतिक दलले गरेको गल्तीका कारण व्यवस्थामाथि नै दोष लगाउनु राम्रो नरहेको बताउँदै मन्त्री शर्माले यसलाई सञ्चारमाध्यमले चिर्नुपर्ने बताइन्। ‘हाम्रो समावेशी संविधानले एउटा महिलालाई राष्ट्रपति बनायो। कैयनलाई मन्त्री बनायो’, उनले भनिन्, ‘त्यो सम्बन्धित व्यक्तिले गल्ती गर्नु व्यक्तिको कुरा हो। समावेशी सिद्धान्तको गल्ती होइन।’

गल्ती गर्ने व्यक्ति सजायको भागिदार हुने बताउँदै शर्माले गणतन्त्र व्यवस्थाको विकल्प अर्को निरङ्कुश व्यवस्था नहुने बताइन्। उनले गणतन्त्रको व्यवस्था गणतन्त्र नै हो भन्ने कुरा स्थापित गर्न सञ्चारमाध्यमले भूमिका खेल्नुपर्ने बताइन्।

प्रकाशित मिति: : 2023-05-28 11:47:00

प्रतिकृया दिनुहोस्