शरीर कमजोर भएपनि मन बलियो बनाए जस्तोसुकै परिस्थितिबाट गुज्रिन सकिन्छ भन्ने एउटा गतिलो उदाहरण बनेका छन्, राष्ट्रिय पारा एथलेटिक्स खेलाडी हिमाल अर्याल।
रूपन्देहीका अर्यालको सानैदेखिको सपना थियो, देशको रक्षक अर्थात् आर्मी बन्ने। यही सोच लिएर नै हिमाल १८ वर्षको उमेरमा नेपाल आर्मीमा भर्ती भए। वि.स. २०५७ सालमा आर्मीमा भर्ती भएका उनले पहिलो पटक आफूलाई आर्मीको बर्दीमा पाउँदा एउटा सपना पूरा भएकाे महसुस गरे।
आर्मीमा भर्ती भएको तीन वर्षमै उनले कहिल्यै नसोचेको घटनाको सामना गर्नुपर्यो। उनी आर्मीमा भर्ती हुँदा देशमा माओवादीको विद्रोह चलिरहेको थियो। कुन समयमा कहाँ मरिने हो भन्ने त्रासमा उनका दिनहरु बिते।
आर्मी भएर नै देशको लागि सेवा गर्छु भन्ने उनको सपना वि.स. २०६० सालमा चक्नाचुर भयो। देशमा चलिरहेको युद्धकाे बेला माओवादीले थापेकाे एम्बुसमा परेर घाइते हुन पुगे, जसकाे कारण उनी मेरुदण्ड पक्षघातकाे सिकार भए।
‘म ड्युटीमा रहेकै समयमा एम्बुसमा परेर मेरुदण्ड पक्षघातपछि आफैँले आफूलाई ह्वीलचियरमा पाएँ। हामी त्योबेला मकवानपुरको भिमफेदीबाट हेटौँडा जाँदै थियौँ। त्यही समयमा एम्बुसमा परेर मेरुदण्ड पक्षघातको सिकार हुन पुगेँ’, उनले भने।
एम्बुसमा परेर घाइते भएपछि हिमालसहित उनका टोलीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँस्थित छाउनी अस्पतालमा ल्याइयो।
जब डाक्टरले खुट्टा चल्दैन भने...
अस्पताल ल्याएको केही दिनपछि आफू हिँड्न सक्छु जस्तो लागेको थियो हिमाललाई। तर अस्पताल रहेको हप्तादिनपछि उनलाई संसार सकिएको जस्तो लाग्यो, जब उनले डाक्टरबाट आफ्नो खुट्टा अब कहिल्यै चल्दैन भन्ने कुरा सुने।
‘डाक्टरले अब तपाईंको खुट्टा चल्दैन भनेपछि मलाई मेरो जिन्दगी सकिएको जस्तो लाग्यो। मलाई त्योबेला बाँच्नै मन थिएन, मरौँ जस्तो लाग्थो’, उनले सुनाए, ‘घाइते भएको एक वर्षसम्म त म हिँड्न सक्छु जस्तो लागेको थियो तर डाक्टरले नै मलाई खुट्टा नचल्दैमा जिन्दगी सकिँदैन भनेर हौसला दिनुभयो।’
हिमाल ३ वर्षसम्म अस्पतालमै बस्नुपर्याे। अस्पतालमा आफूलाई व्यस्त राख्न उनले तीन वर्षको अवधिमा कहिले पेन्टिङ गरे। साथै दुई वर्ष शास्त्रीय संगीत र एक वर्ष गितारको कक्षासमेत लिए। अस्पतालमै रहेर गरेका थुप्रै पेन्टिङहरु उनले बिक्रीसमेत गरे।
‘अस्पतालको बसाइका क्रममा मैले धेरै पेन्टिङहरु बिक्री गराएँ। फोटो फ्रेमहरु, फूल तथा चराहरुलगायतका पेन्टिङहरू बनाउँथेँ, त्यो पेन्टिङहरु अहिले पनि मेरो कोठाभरि छ’, उनले भने, ‘लामो समय अस्पताल बस्ने भएकाले मलाई यी कामहरु गर्दा छुट्टै शक्ति प्रदान हुन्थ्याे।’
...अनि खेलाडी बने हिमाल
तीन वर्ष लामो अस्पताल बसाइपछि उनी आफ्नो गाउँ फर्किए। द्वन्द्वका समयमा एम्बुसमा परेर कम्मरभन्दा मुनिको भाग नचल्ने भएपछि गाउँ फर्किएका उनलाई समाजले हेर्ने दृष्टिकोण अर्कै भयाे।
‘समाजले नै यसले के गरी खान्छ भन्ने जस्तो कुराहरु गर्न थाले। बुबाआमा पनि अब यसले कसरी गरी खाला, यसको जिन्दगी निकै कठिन छ भन्दै सधैँ रोइरहनुहुन्थ्यो’, उपचारपछि घर फर्किएकाे क्षण सम्झिँदै अर्यालले भने, ‘समाजमा पुनः घुलमिल हुन मलाई केही समय लाग्यो।’
समाजले आफूलाई हेर्ने फरक दृष्टिकोणलाई थिचोल्दै उनी दिन प्रतिदिन आफूजस्तै मेरुदण्ड पक्षघात भएको साथीभाइहरुसँग निकट हुन पुगे। धेरै साथीहरुसँगको भेटघाटपछि उनले मेरुदण्ड पक्षघात भएको व्यक्तिहरु पनि खेलकुद क्षेत्रमा लाग्न सक्ने कुरा सुने।
‘मैले साथीहरुबाट नै अपाङ्गता भएका व्यक्तिहरुले पनि खेलकुदमा योगदान दिन सक्छन् भने कुरा सुनेँ’, उनले भने, ‘राष्ट्रिय-अन्तर्राष्ट्रिय खेलमा झन्डा बोक्न सक्छन् भने कुरा सुनेपछि म पनि खेलकुद क्षेत्रमा केही गर्छु भनेर लागेँ।’
सोही सिलसिलामा उनले एकदिन राष्ट्रिय पारा ओलम्पिकमा आवद्ध रहेका मानबहादुर लोप्सङलाई भेटे। उनीसँगको त्यो भेटले हिमाल खेल क्षेत्रमा आवद्ध हुन पुगे। उनै मानबहादुरकाे कारण हिमाललाई खेलकुदमा लाग्न हौसला मिल्याे।
उनी भन्छन्, ‘पहिलो भेटमा नै उहाँले मलाई आर्मीको मान्छे त आफ्नो खुट्टामा उभिनुपर्छ, केही गर्नुपर्छ भनेर हौसला दिनुभयो। उहाँले तपाईंहरु जस्तो मानिसले एसियन ओलम्पिक खेल्न सक्नुहुन्छ भन्नुभएको थियो तर मलाई त्यसबेला विश्वास लागेको थिएन। पछि आफैँमा विश्वास राखेर अघि बढेँ।’
उनले सबैभन्दा पहिला भारत्तोलनको अभ्यास गर्न थाले। त्यसपछि धेरै घरेलु प्रतियोगितामा खेल्ने अवसर पाएका उनले सन् २०१० मा पहिलो पटक चीनमा गएर प्रतिस्पर्धा गर्ने मौका पाए। भारत्तोलनबाट नै उनले तीन वटा एसियन गेम खेल्ने मौका पाए।
‘भारत्तोलनबाट नेपाललाई प्रतिनिधित्व गर्न पाउँदा निकै नै खुसी लागेको थियो। त्यसबेला खेल्ने सामाग्री थिएन, गतिलो प्रशिक्षण थिएन, निकै नै गाह्रो भएको थियो। त्यसको लागि आफैँ लागिपरेँ र झन हौसला जागेर आयो’, उनी सुनाउँछन्।
चीनबाट भारत्तोलन खेलेर आएलगत्तै हिमालले नेपाली सेनाको ह्वीलचियर बास्केटबल सुरु गरे। जहाँ उनले १० वर्ष आर्मीको ह्वीलचियर बास्केटबलको कप्तानी गरे। आर्मीमै कप्तानी गरिरहँदा उनी राष्ट्रिय ह्वीलचियर बास्केटबलको कप्तानीसमेत भए। सोही कप्तानीमा उनले आफ्नो टिमको लागि धेरै उपाधिहरु जिताए।
उनकै कप्तानीमा सन् २०१४ मा बास्केटबलमा भारत र बगंलादेशसँग खेल्ने मोका पाए। तर, फाइनल खेलमा नेपाली टोली बंगलादेशसँग पराजित भएर उपविजेतमा नै सीमित हुन पुग्यो। त्यसलगत्तै छाउनीमा आयोजना भएको अन्तर्राष्ट्रिय ह्वीलचियर बास्केटबल र क्रिकेट प्रतियोगितामा उनकै कप्तानीमा अन्तर्राष्ट्रिय खेल जित्न सफल भएको थियो।
‘आफ्नै कप्तानीमा भारत, बंगलादेश जस्ता बलियो टोलीसँग खेल्ने मौका पाएँ’, हिमाल सुनाउँछन्, ‘त्यसबेला उपाधि जित्न नसके पनि आफ्नै कप्तानीमा नेपाललाई फाइनलसम्म पुर्याउन पाउँदा निकै नै खुसी लागेकाे थियाे।’
भारत्तोलन, बास्केटबलबाहेक उनले नेपालका लागि ह्वीलचियर क्रिकेटलाई पनि सफलता दिलाएका छन्। ह्वीलचियर क्रिकेटमा पनि नेपालले भारत र बंगलादेशलाई हराएर विजयी हासिल गरेको थियो। अरु खेलहरुसँग तुलना गरेर हेर्दा उनलाई बास्केटबल खेल्न नै धेरै रमाइलो लाग्ने उनी बताउँछन्।
...त्यसपछि गोल्डमेडलिस्ट बने
जिन्दगीमा धेरै उतारचढाव भोगेका हिमालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रबाट धेरै उपलब्धि हासिल गरेका छन्। उनी राष्ट्रपति अवार्ड, खेलकुद युवा प्रतिभा पुरस्कार, पल्सर स्पोट्स अवार्ड, दशरथ चन्द मेमोरियल पुरस्कारहरुबाट पुरस्कृतसमेत भएका छन्।
पहिलो पटक मेडल पाउँदा त्यो मेडललाई धेरैबेर चुमेको अर्याल बताउँछन्। ‘पहिलो पटक जोरपाटीमा ह्वीलचियर बास्केटबल खेलेका थियौँ, त्यहीबेला पाएकाे मेडल मेरो खेल जीवनको पहिलो मेडल हो। त्यो मेडल घाँटीमा झुन्डिँदाखेरी हामीले धेरैबेर त्यो मेडललाई चुम्याैँ।’
उनले २०७४ सालमा खेलकुद पत्रकार मञ्चले दिँदै आएको पल्सर पारा एथ्लेस्ट अफ द एयर अवार्ड पाएका थिए। उनी २०७९ सालमा राष्ट्रपतिले प्रदान गर्दै आएकाे जनसेवाश्री पञ्चम श्रेणी विभूषणबाट विभूषितसमेत भए।
‘जनसेवाश्री पञ्चम श्रेणी विभूषबाट विभूषित भएको क्षण मैले जीवनभर कहिल्यै भुल्ने छैन’, उनी सुनाउँछन्, ‘म जस्तोले पनि अवार्ड पाउँछु र? भन्ने भएको थियो। राष्ट्रको सबैभन्दा ठूलो तक्मा पाउँदा निकै गर्व लागेको थियाे।’
सरकारले अन्य क्षेत्रको खेलाडीभन्दा पारा खेलाडीहरुप्रति चासो अलि कम दिने गरेको उनकाे गुनासाे छ। ‘सरकारले पारा खेलाडीहरुलाई हेर्न नजर नै छुट्टै छ। कति जनाले त हामीले खेलेको देख्नु नै हुँदैन, उहाँहरुको नजरमा हामी परेको छैनौँ,’ अर्याल भन्छन्, ‘सरकारले हामीहरुलाई अपाङ्गमैत्री कर्भडहल, खेलकुद सामाग्री, प्रशिक्षक र केही प्रशस्त मात्रमा बजेटहरु छुटाइदिनुभयो भने हामीले राष्ट्रिय, अन्तराष्ट्रिय प्रतियोगिताहरुमा भाग लिन सक्छौँ।’