रेशम चौधरीले भने- अझै न्यायालयप्रति भरोसा छ, रत्तिभर मन विचलित छैन

टीकापुर घटनामा दोषी ठहर भएर कैद सजाय भाेगिरहेका रेशम चौधरीले सर्वोच्च अदालतले गरेकाे फैसला स्वीकार गर्नुको विकल्प नभएको बताएका छन्।

मंगलबार सर्वोच्चले जन्मकैद गर्ने उच्च अदालत, दिपायलको फैसला सदर गरेपछि  बुधबार विज्ञप्ति जारी गर्दै चौधरीले यस्ताे बताएकाे हुन्।

उनले सर्वोच्चले गरेकाे फैसलामा आफूप्रति न्यायिक नभए पनि स्वीकार गर्नुको विकल्प नभएको बताएका हुन्।

‘सम्माननीय सर्वोच्च अदालतले गरेको फैसलामा मप्रति न्यायिक नहुन सक्छ, तर त्यसो भन्दैमा स्विकार्नुको विकल्प हुन्न। टीकापुर घटनालाई लक्षित बनाएर गरेको फैसला स्विकार्दै भोलि पुनरावलोकन‌को बाटो हाम्रा लागि खुल्ला छ। हामी सम्मानित अदालतलाई सदा सम्मान गर्छौं‚ साथै सम्मानीत अदालतलाई सबैले उत्तिकै सम्मान गर्नुपर्दछ। अहिले टीकापुर घटनाको फैसलालाई अनर्गल बनाउँदै जथाभाबी सामाजिक सञ्जालमा जे पायो त्यही पोस्ट नगर्नहुन अनुरोध गर्दछु’ विज्ञप्तिमा भनिएकाे छ।

सर्वाेच्च न्यायालयप्रति भरोसा रहेको भन्दै उनले आफू अझै न्यायिक पर्खाइमा रहेका बताएका छन्। ‘मलाई अझै सम्मानीत सर्वोच्च न्यायालयप्रति भराेसा छ। हामी अझै न्यायिक पर्खाइमा छौं । त्यसैले सबैलाई सम्मानित सर्वोच्च अदालतको सम्मान गर्न अनुरोध गर्दै यो विज्ञप्ति जारी गरेको छु, उनले भनेका छन्, ‘म डिल्लीबजार कारागारमा धैर्य, सहनशीलताका साथ कैद भुक्तान गरिरहेको छु। स्वस्थ छु। रत्तीभर मन विचलित छैन।’

प्रकाशित मिति: : 2023-05-17 14:03:00

प्रतिकृया दिनुहोस्