नेपाल संस्कृत विश्वविद्यालय

संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई असहयाेग गर्ने ‘रजिष्ट्रार भान्जा’ निलम्बित

Break n Links
Break n Links

नेपाल संस्कृत विश्वविद्यालय बेलझण्डी दाङका कुलसचिव माधव अधिकारी निलम्बित भएका छन्। विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रसाद लामिछानेले बुधबार (हिजो) उनलाई निलम्बन गरेका हुन्। 

उपकुलपति लामिछानेले कुलसचिव अधिकारीलाई निलम्बन गरेर विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री र सहकुलपति तथा शिक्षामन्त्रीलाई बोधार्थ दिएका छन्।

अधिकारी एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छँदा कुलसचिवमा नियुक्त भएका थिए। कारबाहीको प्रक्रिया अघि बढेको सुईंको पाएपछि रजिष्ट्रार अधिकारीले एमाले महासचिव शंकर पोखरेललाई गुहारेको स्रोत बताउँछ। 

महासचिव पोखरेल अधिकारीका मामा हुन्। स्रोतका अनुसार कारबाहीको प्रकृया अघि बढेपछि पोखरेलले तीन दिनदेखि उपकुलपति लामिछानेलाई फोन गरेका थिए। तर उनले फोन उठाइदिएनन्। 

बुधबार प्रा.डा. लामिछानेले रजिष्ट्रार अधिकारीलाई पदबाट निलम्बन गरेका छन्। अधिकारीलाई विश्वविद्यालयले गत शुक्रबार स्पष्टीकरण पनि सोधेको थियो। सात दिने स्पष्टीकरणमा चित्त नबुझेपछि विश्वविद्यालयले गत बिहीबार पुनः तीन दिने स्पष्टीकरण सोधिएको थियो।

स्राेतका अनुसार अधिकारीले जवाफ चित्त नबुझेपछि निलम्बनमा परेका हुन्। उनलाई निलम्बन गर्नुको कारण भने असहयोग भएको बताइएको छ।

निलम्बन पत्रमा लेखिएको छ, ‘आफूखुशी निर्णय गर्दै जाने, पदीय मर्यादा एवम् गरिमालाई कायम गर्न नसकेको, माथिल्लो पदाधिकारीलाई सोधपुछ गर्ने दुस्साहस गरेको र शिक्षाध्यक्षलाई कार्यकारी परिषदको बैठक सञ्चालन भइरहेको अवस्थामा अशिष्ट, अभद्र तथा दुव्र्यवहार गरेको, कार्यकारी परिषद्ले गरेका निर्णयलाई अवज्ञा गरेकोले निलम्बन गरिएको छ।’

प्रकाशित मिति: : 2024-07-11 21:12:00

प्रतिकृया दिनुहोस्