उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता आज

आगामी वैशाख १० गते तनहुँ, बारा र चितवनमा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ।

निर्वाचन आयोगका अनुसार चितवन–२, तनहुँ–१ र बारा–२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न लागिएको हो। निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको आयोगले जनाएको छ। 

गत मङ्सिर ४ गतेको निर्वाचनबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन–२ रिक्त हुन पुगेको थियो। त्यस्तै, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ–१ र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा–२ रिक्त हुन पुगेको थियो।

मनोनयन गर्न जाँदा र मनोनयन स्थलमा उम्मेदवारको पक्षमा नारा–जुलुस, भाषण र प्रतिस्पर्धी लक्षित गालिगलौज र टिकाटिप्पणी नगर्ने नगराउने, उम्मेदवारको मनोनयनको समयमा सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाको वा अन्तर्गतको कुनै परियोजनाको स्रोतसाधन र सम्पत्ति प्रयोग गर्न नहुने, नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले तत् तत् हैसियतमा रही उम्मेदवारको मनोनयनमा सहभागी हुन नहुने, उम्मेदवारको मनोनयनका समयमा बालबालिकाको प्रयोग गर्न गराउन नहुने, मनोनयनका क्रममा संवैधानिक निकाय तथा सोका पदाधिकारीले कुनै राजनीतिक दल वा उम्मेदवारलाई आफ्नो सवारीसाधन वा अन्य सामाग्री प्रयोग गर्न दिन नहुने जनाइएको छ।

आयोगले हेलिकप्टर प्रयोग गरी राजनीतिक दल वा उम्मेदवारले उम्मेदवारी मनोनयन गर्न जान नहुने नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गत निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले उम्मेदवारी मनोनयनको क्रममा राजनीतिक दल वा उम्मेदवारसँग सहभागी हुन नहुने पनि स्पष्ट गरेको छ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०७९ ले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि राजनीतिक दल, राजनीतिक दलका प्रतिनिधि र राजनीतिक दलका उम्मेदवारले पालना गर्नुपर्ने आवश्यक विषयका सम्बन्धमा कानुनी व्यवस्था रहेको छ।

उपनिर्वाचनलाई, स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन उम्मेदवारको मनोनयनको समयमा उम्मेदवार र राजनीतिक दलले देहाय बमोजिमका काम कारबाही नगर्न नगराउन राजनीतिक दल र उम्मेदवारलाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम निर्वाचन आयोगले निर्देशन दिने निर्णय गरेको हो।

प्रकाशित मिति: : 2023-04-03 05:55:00

प्रतिकृया दिनुहोस्