आज एउटा महत्वपूर्ण खोजयात्रालाई सम्झिएको छु। मैले पाँचपटक पढिसक्दा यो पुस्तकको रस्वादन गरें।
सन् १८५४ मा अंग्रेजी भाषामा प्रकाशित भएको त्यो पुस्तकको नेपाल खण्डको चर्चालाई नेपालीमा उल्था गरेर अनुवादक हस्त गुरुङले नेपाली समाजलाई ठुलो गुण लगाएका छन्।
हुन त यो पुस्तक बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड पनि हुनसक्छ।
तर, नेपालको पत्रकारिताका धारिला सम्पादक गुरुङले यो अनुवाद गर्न आफ्नो महत्वपूर्ण समय, ज्ञान, सूचना र भाषाको पूँजी खर्चिएका छन्।
‘हिमालयन जर्नल अर नोट्स अफ अ नेचुरलिस्ट इन बङ्गाल, सिक्किम एण्ड द नेपाल हिमालयाज, द खसिया माउण्टेन एटसेट्रा’ जोसेफ डाल्टन हुकरले लेखेको पुस्तक हो।
त्यही पुस्तकमा समेटिएको ‘नेपाल खण्ड’लाई पत्रकार हस्त गुरुङले लामो समय लगाएर वि.सं. २०७९ मा प्रकाशन गरेका हुन्।
हुकरले पदयात्रा गरेको त्यो महत्वपूर्ण र ऐतिहासिक नोटहरूलाई सुरुमा कलकत्ताबाट ट्रिग्नोमेट्रिकल सर्भेले प्रकाशन गरेको थियो।
जोसेफ डाल्टन हुकर सन् १८४८ अक्टोबर २७ मा नेपाल प्रवेश गरेका थिए। ४९ दिन नेपालको पूर्वी क्षेत्रका हिमाली, पहाडी र मैदाने क्षेत्रमा हुकरले कष्टकर यात्रा गरेका थिए।
सुन्दा अपत्यारिलो लाग्ने उनको त्यो यात्राको गन्तब्य सुरुमा नेपाल थिएन। तर, तत्कालिन सिक्किम सरकारले त्यहाँको भित्रीभागमा उनलाई भ्रमण गर्न अनुमति नदिएकाले उनी नेपाल छिरेका थिए।
रोचक त के छ भने प्रख्यात वैज्ञानिक चार्ल्स डार्विनका सहकर्मी हुन्, पुस्तकका मूल लेखक जोसेफ डाल्टन हुकर।
बेलायतका सुप्रसिद्ध जेम्स कुक झैं जोसेफ डाल्टन हुकर पनि अनुसन्धान र यात्रामा रमाउँथे।
त्यही हुटहुटीले बेलायतबाट उनी एशिया पसेका थिए। लगभग ३ वर्ष हिमालय क्षेत्रको अध्ययन अनुसन्धानमा हुकरले जीवन बिताए।
सुरुमा सन् १८४८ मा कलकत्ता पुगेका हुकर प्रकृतिविद् ब्रायन हट्न हजसनको सम्पर्कमा कलकत्ता बसेका थिए। त्यहाँबाट उनी दार्जिलिङ पुगे। त्यसैताका दार्जिलिङमा बेलायती महारानीका भायसराय प्रतिनिधि डा.आर्किबाल्ड क्याम्बेलको सम्पर्कमा पुगे। उनकै तारतम्यमा श्री ३ महाराज जङ्गबहादुरले उनलाई कञ्चनजङ्घा आसपासका क्षेत्रमा भ्रमण गर्न अनुमति दिएका थिए। त्यसरी हुकर नेपाल प्रवेश गरेका हुन्।
विश्वले त्यतिबेलासम्म संसारको शिखर कञ्चनजङ्घालाई भनेर मानिरहेको परिवेशमा हुकरले आफ्नो गन्तब्य कञ्चनजङ्घालाई बनाएका थिए। उनको लक्ष्य कञ्चनजङ्घालाई नजिकबाट मात्रै नभएर चारै दिशाबाट अध्ययन गर्नु पनि थियो। हुकर आफैँमा वनस्पतीविज्ञ त छँदै थिए।
म पुस्तकको सबै विषय यहाँ समेट्न सक्ने छैन। तर, पुस्तकमा सरसर्ती आँखा दौडाउनेछु।
एउटा उपखण्ड अभिवादनको शैलीमा लेखिएको छ, एकआपसमा सम्मान दर्शाउन र अभिवादन गर्न त्यहाँका मानिसहरू जिब्रो बाहिर निकाल्छन, कि मुसुक्क हाँस्छन् कि त टाउको हल्लाउँछन कि कान कन्याउँछन्-जोसेफ डाल्टन हुकरका शब्दमा अनुवादक हस्त गुरुङले गरेको ओलाङ्चुङगोलाको चर्चा हो यो।(पृष्ठ:५१)
यो साँच्चिकै त होला तर त्यसो हो वा भाषाको समस्याले हो म पनि यसबारे थप बुझ्न उत्सुक छु।
जोसेफ डाल्टन हुकरको यात्रामा ठुलो संख्यामा भरिया, केही गोर्खा सिपाही र बाटो देखाउनेहरूसमेत थिए। यात्रामा एक ठाउँ हुकर लेख्छन- ‘लिम्बुहरूको बासस्थान भएको अन्तिम गाउँ तोपथोक पुग्दा स्थानीबासीले बाटैभरि र गाउँ पुग्दा यसरी नै अभिवादान, स्वागत र सम्मान गरेका थिए।’ यो जोसेफ डाल्टन हुकरको अनुभव थियो।
२३ नोभेम्बरका दिन हुकरको समूह ओलाङ्गचुङ्गोला पुगिसकेका थिए। तमोर उपत्यकाको सुन्दर फाँटको वर्णन पनि उत्तिकै कलात्मक छ। करिब ११ हजार फिटको उचाइसहित त्यस क्षेत्रका चट्टान, वनस्पती र संस्कृतिको चर्चा पढ्दा मात्रै पनि मनमोहक लाग्छ।
अनुवाद गर्दा अनुवादक हस्त गुरुङले अंग्रेजी शब्दलाई नेपालीमा लेख्न गरेको मेहनत अझ गह्रौं छ।
हिमाल, पहाड, मलेवा चराको बथान, गुलाफ, चुत्रो, धुपिसल्ला र स-साना अरु बुट्यानको महिमा सविस्तार छ पुस्तकमा। ती वनस्पतिका मनमोहक दृश्यलाई यात्रासँगै ‘प्लट’ मिलाएर उत्कृष्ट चर्चा गरिएको छ।
पुस्तक पढ्दा पुस्तकमा उल्लेख गरिएका निर्जीव वस्तुहरू पनि बोले झैं अनुभव गर्न सकिन्छ। वनस्पतिका विभिन्न खाले समूह र तिनका वैज्ञानिक पहिचानका लागि यो पुस्तकको उपयोगिता भएभरको छ।
ओलाङ्चुङगोला आसपास पाइने चौरीका बथानको उपस्थितिलाई मिठासपूर्ण तरिकाले ब्याख्या गरिएको छ। चौंरीको आनिबानी र ब्यवहारसहित।
याक र हिमाली गाईबीच सम्पर्क हुँदा जन्मिएका बाच्छा/बाच्छीलाई झाबो(Zobo) भनिन्छ। हुकर लेख्छन-‘चौंरीले बाच्छा/बाच्छी मरेपछि दूध दिन मान्दैनन्। दूध दुहुँदा बाच्छा/बाच्छी चौंरीको अगाडि देखिनुपर्छ।’
यस क्षेत्रका मानिसको जीवनयापनको मुख्य आयस्रोत चौंरी भएको कुरा हुकरले लेखेका छन्।
हुकरको समूह याङ्मा उपत्यका पुगेर त्यहाँको शान्त वातावरणको चर्चा पुस्तकको अर्को फ्लेवर पनि हो। हुकर कतै लेख्छन्-‘शान्तिको राज्य।’
हुकरको यात्रमा बढी चर्चा भएका वनस्पतिहरूमध्ये गुँरास पनि एउटा हो।
काम्बाँछे उपत्यकाको छेवै भएर उनको यात्रा अघि बढिरहँदा रोडोडेन्डन हजसनी प्रजातिकै एउटा विषेश वनस्पति पहिलोपटक यहाँ दखेको पनि लेखेका छन्।
त्यो पर्वतीय श्रृङ्खला पार गर्दा उनले हदैसम्मको सास्ती भोग्नुपर्यो। मौसम र स्वास्थ्यको प्रतिकुलता। त्यसको प्राकृतिक सविस्तार बुझ्न पुस्तक पढ्नैपर्छ।
उनी लेख्छन्- यहाँ अरनेरिया र अम्बेलिफर प्रजातीका वनस्पति पनि भेटिएका छन् अनि तापक्रम छ माइनस- ९.७ डिग्री सेन्टिग्रेट।
यालङको पखेराबाट तमोर नदी भेट्न काबेली नदी हुँदै जाने पदयात्रामा चाँप, लालीगुँरास र धुपीसल्लाको घना जङ्गलको वैज्ञानिक तहकै सरल भाषामा वर्णनको अनुवाद अद्भुत लाग्छ।
ठाउँ-ठाउँमा हुकरले काबेली नदीको आसपासकै तार्बु गाउँको चर्चा पनि गरेका छन्। सन् १८१४ देखि १८१६ मा भएको नेपाल-अंग्रेज युद्ध भएको त्यही कुनै नाकाको सेरोफेरोका कुरा पनि छन्।
लामो यात्राको वर्णन यो पुस्तकको सबै विषय एकै अंकमा भ्याउन मुस्किल मात्रै होइन सम्भव देख्दिनँ।
त्यसैले म सरसर्ती पुस्तकलाई पुछारबाट पहिल्याउन थालेको छु।
खेवाङ्ग गाउँ हुँदै हुकर सिक्किम जाने बाटो खोज्छन्। तर, उही पुरानो नेपाल-अंग्रेज युद्धले त्यो नाका बन्द भइसकेको विषयमा पनि पुस्तकबाट जानकारी लिन सकिन्छ।
यही यात्रामा हुकरले कञ्चनजङ्घालाई नजिकबाट मात्रै होइन चारैतिरबाट नियाल्न भरपुर यात्रा गरेका थिए। अनि हुकरले लेखेको काबेली उपत्यकालाई छिचोल्दै सिक्किमतर्फ अघि बढेका कुरा अनुवादक हस्त गुरुङ्ले सरल नेपाली शब्दमा उतारिदिएका छन्।
सिक्किम प्रवेशको तरखरमा रहेका बेला हुकरले इष्ट-इण्डिया कम्पनीले नेपाल, तिब्बत र भुटानसँग सिक्किमलाई सुरक्षा दिनेगरी सम्झौता भएको समेत उल्लेख गरेका छन्।
सिक्किम सरकाले हुकरको सुरक्षा र मदतका लागि खटिएका गोर्खा सिपाहीको समेत आलोचना गरेको पुस्तकमा उल्लेख छ।
वनस्पतिहरूको विभिन्न प्रजाती, मौसम र उचाइँसँगै पहाड, चट्टान, जंगल, गाउँ, संस्कृती, परम्परा, भेषभुषा, रहनसहन, संस्कार, हिमाल, भाषा र वातावरणको विषयमा हुकरले नेपाल र सिक्किमको विस्तृत अध्ययन गरेका कुरा पुस्तकमा उल्लेख छन्।
विट मार्दै गर्दा अनुवादक हस्त गुरुङसँगको सहकार्य सम्झन मन लाग्यो।
खोज पत्रकारिता केन्द्र र युएनडिपीसँगको सहकार्यमा म ‘फेलो’ रहँदा पत्रकार गुरुङसँग काम गरेको अनुभव छ।
देशभरिका पत्रकारलाई तालिम दिने, खोज पत्रकारिता गर्ने र अध्ययन अनुसन्धान गर्ने काममा पोख्त ब्यक्तित्वका रुपमा परिचित नाम हो, हस्त गुरुङ।
सम्पादक त हुन नै, यो पुस्तकले गुरुङलाई कुशल अनुवादकका रुपमा पनि चिनाएको छ।
मेरा अनुभवमा नेपाली पत्रकारिताका धारिला सम्पादक हुन्, हस्त गुरुङ।
हस्त गुरुङलाई अनुवादकका रुपमा बुझ्नका लागि एकपटक त हस्तका ‘हस्ते’ अनुवादित ‘कञ्चनजङ्घा जुहार’ पढ्नैपर्छ।