आइतबार, १३ जुलाई २०२५

एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं
2025-07-12 21:00:00
News Image
• • •

-अजय कठायत

हाम्रो घरको आँगन, बाबुको पसिनाले सिँचिएको खेत, त्यो उकालो भिरालो गाउँपाखाको माया लाग्छ तर माया मात्रले भोक मेटिने रहेनछ। 

राति सुतेको बेला म सपना देख्छु, त्यहाँ म नयाँ कपडामा हुन्छु, हातमा डलर हुन्छ, अनि तपाईंलाई फोन गर्दै भन्छु- ‘आमा, अब गहना राख्नुपर्दैन बैंकमा।’

म कुनै नेताको छोरो होइन, जो सरकारी अफिसमा घुसले जागिर पाउँछ। म कुनै धनाढ्य व्यापारीको पनि होइन, जसले विदेश पढ्न पठाउने पैसा सजिलै जोहो गर्छ। म त एउटा सामान्य नेपाली किसानको छोरो हुँ। 

बुबा बिहान ५ बजे उठेर हलो लिएर बारी जानुहुन्छ। आमा बिहान दूधको जार बोकेर कच्ची बाटोमा पसल पुग्नुहुन्छ। अनि म…?

म काठमाण्डौ आएँ। पढेँ, संघर्ष गरेँ। डिग्री पाएँ, तर जागिर छैन। जहाँ हेरें, त्यहाँ सिफारिस छ, पहुँच छ, घुस छ। तर बिडम्वना मसँग त्यसका लागि केही पनि छैन। 

अब म आकाश हेरेर सोच्न थालेको छु। ‘विदेशको सूर्यले त मलाई न्यानो दिने हो कि?’

मेरो सपनाका विभिन्न अवस्थाहरू छन जस्तै:

सामाजिक दबाबको अवस्था:
सडक छेउको चिया पसलमा काकाहरू बस्नुहुन्छ। त्यहाँ एउटै कुरा हुन्छ– ‘मेरो छोरो विदेश छ, घर बनाउन लागेछ।’

त्यही कुरा सुनेर आमाको छाती पोल्छ- ‘मेरो छोरो त यतै बेरोजगार छ।’
हाम्रो समाजले विदेश जानेलाई सफल मान्छ, मान सम्मान दिन्छ तर देशमै बस्नेलाई अल्छी भन्छ। 

विदेश जानु बाध्यता हो कि गौरव– त्यो कसैलाई मतलब छैन। हाम्रो समाजले सपना बेचेर, निन्द्रा किन्छ र भावना बेचेर भोज किन्छ। छोरो उड्दै छ, भन्दै फोटो खिचिन्छ, तर त्यो छोराको आँखाभित्र भने डर लुकेको हुन्छ, ‘के म फर्केर आउन सकुँला?’ भन्ने।

शैक्षिक डिग्रीको अवस्था : 
पढेँ, म शिक्षित मान्छे बने, स्नातक गरेँ, डिग्री छ– तर जागिर छैन। सरकारी सेवा भनेको पहुँचको खेल। निजी क्षेत्र भनेको शोषणको जालो भयो, १५ हजार तलबमा काठमाडौंमा कोठा, खाना, लुगा, किताब के सम्भव छ?
अनि विदेशबाट विज्ञापन आउँछ, ‘कतार, मलेसिया, दुबई, जापान’ काम धेरै, तलब थोरै, तर सपना छ।

यहाँ ‘योग्यता’ भन्दा चाकडी बेच्न सक्ने मान्छेको खोजी हुन्छ अनि कसरी मेरो योग्यता को कदर हुन्छ?

आर्थिक अवस्था: 
ऋणको भार र सपना बेच्ने बाध्यता
बाबुको खेत बाँझिएको छ, आमाले लगाएको गहना बैंकमा धितो छ। २० लाख रुपैयाँको ऋण लिएर म एजेन्टकोमा जान्छु। सर भिसा झर्न कति समय लाग्छ?
एजेन्ट भन्छ– ‘६ महिना यस्तै…’
म भन्छु – ‘ठिकै छ दाजु, देशमा एकछिनपनि बस्न मन छैन। त्यसपछि सुरु हुन्छ– भाषा परीक्षा, मेडिकल, भिसा… अनि एकदिन ‘बिदाइ’।

घरमा पार्टी हुन्छ – रक्सी, मासु, नाचगान। 

तर त्यो नाचगानभन्दा टाढा कुनामा उभिएकी मेरी आमा चुपचाप रूँदै हुन्छिन् र बार्दलीमा बसेर बुबा ब्याजको हिसाब सोच्दै हुन्छन्। 

म उहाँलाई हेर्न सक्दिन, किनभने म पनि रोइरहेको हुन्छु। त्यो खुशीको आँसु हैन, त्यो पीडाको आँसु हुन्छु। 

भौगोलिक अवस्था :
देश राम्रो छ, व्यवस्था छैन
नेपाल सुन्दर छ। हिमाल, पहाड, तराई सबै छन्। तर त्यस सुन्दरतालाई जोगाउँने योजना छैन। गाउँमा इन्टरनेट छैन, अस्पताल छैन, गुणस्तरीय स्कुल छैन।

जहाँ पानी पुग्दैन, त्यहाँ सपनाको बिरुवा कसरी उम्रन सक्छ र?

त्यसैले गाउँका १८ बर्ष जेनतेन पूरा भएका युवाहरूले भन्छन्, ‘अब म साउदी भएनी जान्छु।’

राजनीतिक अस्थिरता: 
भाषण धेरै, विश्वास शून्य
-विदेश जाने युवालाई फर्काउने योजना ल्याउँछौं
‘स्वदेशमै रोजगारी सिर्जना गर्छौं’
यी वाक्यहरू टीभीमा मात्र आउँछन्।

नेताको छोरा अमेरिका जान्छ, तर म भने कोरियाको फार्ममा १२ घण्टा हाड घोट्छु।
नेताहरू कुर्सीका लागि लड्छन्, म भने पासपोर्टका लागि लाइन बस्छु।

देश बनाउने सपना त हामीले पनि देखेका थियौं, तर हामी देशमै बाँच्न नपाउने देशमा जन्मियौं।

सांस्कृतिक प्रभावको अवस्था: 
फेसबुकको ‘झल्को’ र यथार्थको ‘छायाँ’
-फेसबुकमा साथीको जापानको फोटो हेर्छु। ऊ मस्त छ जस्तो देखिन्छ। टिकटकमा नाचेको छ, हाँसेको छ। तर मलाई थाहा छ– त्यो भिडियो खिच्नुअघि उसले १४ घण्टा भाडा धुन्थ्यो।

त्यसैले थाहा छ– विदेश सजिलो छैन। तर नेपालमा ‘बाँच्न’ गाह्रो छ र युवाको सपना मात्र नभइ सबै नेपालीको अभिवाकहरूको सपना नै विदेश हो।

-म विदेश जान चाहन्छु’ भन्नु मेरो रहर हैन– बाध्यता हो। 

म कुनै राजकुमार होइन, म त पसिना बगाउँने मजदुर हुँ। 
तर सपना देख्न मलाई पनि अधिकार छ। 

यदि देशले मलाई रोक्न सक्यो भने म देश बनाउने सपना देख्न सक्छु। 

म हिड्न चाहन्न आमा, 
म यहीं बस्न चाहन्छु। 
तर मसँग रोजगारी छैन, भरोसा छैन, 
त्यसैले म जान बाध्य छु। 

आशा छ म विदेशिदा मेरो रेमिटेन्सले यो देश फेरिन सक्छ। देशले चाह्यो भने हामीजस्ता युवालाई फर्काउन सक्छ। 
    
    •    गाउँमै रोजगारी सिर्जना गरौँ, 
    •    कृषि, पर्यटन, र उद्यमशीलता प्रवर्द्धन गरौँ, 
    •    सीपमूलक तालिम र लगानीको वातावरण बनाऔँ, 
    •    राजनीतिक स्थायित्व र जवाफदेही नेतृत्व ल्याऔँ। 

देशले थाम्न सके, हामी दौडन तयार छौँ।
म फर्किन चाहन्छु, 

म बनाइदिन चाहन्छु यो देशलाई, 
तर म बाँच्न पाउनेछु भने मात्र, मेरो सपना छ देश बनाउने।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?