विपी कोइरालाले लेखेको हिन्दी लघु कथा ‘वहा’ मा गजवको सरलता छ।
प्रेमचन्द हिन्दुस्तानका चर्चित व्यक्तित्व रहे, उनकै पत्रिका हंशमा कोइरालाको लघु कथा हिन्दी भाषामा पहिलोपटक प्रकाशित भएको थियो।
शारदा पत्रिकामा प्रकाशन भएको उनको पहिलो रचना ‘चन्द्रवदन’ थियो।
स्व. कोइरालाको जन्मजयन्तीमा यो वर्ष नेपाली काँग्रेसले ‘विपी साहित्य महोत्सव’ लगाउने निर्णय गरेको छ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका प्रणेता कोइरालाको मूल परिचय भने राजनीतिज्ञ नै हो। साहित्य उनको ‘वाइ प्रोडक्ट’ हो। उनको मूल परिचयलाई उनैले स्थापना गरेको काँग्रेसले आत्मसाथ गर्न सकिरहेको छैन।
साहित्यका पाटाहरूमा भातृ तथा शुभेच्छुक संगठनले चर्चा परिचर्चा गर्दा पनि पुग्छ। तर मूल पार्टीले कोइरालाको राजनीतिक पाटोलाई गौण ठानेर साहित्यिक पाटो प्रधान ठान्नु काँग्रेसको एउटा महाभूल हो।
हितेन सहसहित तस्य भवः संस्कृतमा साहित्यको एउटा सटिक परिभाषा छ- कल्याणकारी भावका साथ गरिने सेवा नै साहित्य हो। जुन कुराले समाज र मानव जातिको हित गर्दै हृदयलाई प्रमोदित गर्दछ, त्यो नै साहित्य हो। विपीले अपनाएको साहित्यिक जीवन त्यसकै उपजमात्रै हुन्, त्यसमा उनको राजनीतिक साइनो छैन। राजनीति र विपीको मूल प्रवृत्ति नै हो।
सुप्रसिद्ध ग्रीक विद्वान एरिस्टोटलका नजरमा त झन् साहित्य जीवन र जगतबीचको उत्कृष्ट सम्बन्ध हो। जीवनकालको एक खण्डमा विपीले बाँचेको जीवन पनि यही नै हो।
हो, राजनीतिज्ञ विपी कोइरालाले नेपाली सामाजका लागि देखेको सपना समाजवाद थियो। सिग्मन्ड फ्रायडको पुस्तक ‘द इन्टरप्रिटेशन अफ ड्रीम’मा भनिएको छ कि- ‘हाम्रो अतृप्त इच्छाहरूको प्रतिबिम्ब नै सपना हो।’
राजनीतिक बन्दीका रुपमा लामो समय निर्वासन र जेल जीवन बिताएका विपी कोइरालाले जेलमा दिन कटाउन र जानकारी हासिल गर्न अनि आफूलाई अपडेट गरिरहन अध्ययन र लेखन अपनाए।
कोइरालाका लेखनमा सिग्मन्ड फ्रायडको प्रभाव झल्किन्छ। विपी कोइरालाले नेपाली समाजका लागि देखेको सपना हाम्रै मौलिकतामा आधारित समाजवाद थियो।
फ्रायड र कोइरालाको लक्ष्य फरक भए पनि परिस्थिति उस्तैउस्तै थियो। हिटलरको अत्याचारका कारण फ्रायड बेलायत निर्वासनमा बस्नुपर्ने अवस्था आएको थियो। यता राणा र राजाहरूको बर्बरताका कारण कोइराला भारत निर्वासनमा बस्नुपर्यो। लक्ष्य फरकफरक र परिवेश अलग भए पनि फ्रायड र कोइरालाबीच केही समानता पनि पाइन्छ। जीवनको उत्तरार्धमा दुवै क्यान्सर पीडित पनि थिए।
सामाजिक संरचना कुनै भौतिक अस्तित्वको अवस्था नभएर यो त विचारहरूको उत्पादन पो हो त। तर हाम्रो देशमा विभिन्न कारणले सामाजिक संरचना यतिबेला लगभग तंगभंग अवस्थामा पुगेका छन्।
हाम्रै पुस्ताले भौतिकरुपमा त देख्न पाएनौँ तर सामाजिक संरचनामा कोइरालाका विचारलाई हामीले पढ्यौँ र आउने पुस्ताले पनि पढ्नेछ।
रेकर्डअनुसार नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री भए उनी।
विपी कोइरालाले अख्तियार गरेको मेलमिलापको नीति हाम्रो समाजको मियो थियो कुनै कालखण्डमा। अहिले मेलमिलापको विषय समाजबाट धेरै पर धकेलिएको छ। यति नै बेला फेरि विपीको विचार खड्किएको आभास हुन्छ। यसो हुनु अहिलेको समाजको उपज पनि हो।
विपी कोइरालाले परिकल्पना गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवाद उनको दिमागी संरचनामा जन्मेका विचार थिए। ती विचारहरूमा उनका उच्च कोटीको दिमागी संरचना प्रतिबिम्बित थियो।
अस्तित्ववादी नेता कोइराला भावना शून्य विचारका पक्षपाति भने थिएनन्। कोइरालाका लिखित दस्तावेजलाई केलाउने हो भने यो सहजै बुझ्न सकिन्छ। बाँच्नका लागि दर्शन आवश्यक पर्छ भन्ने मान्यता राख्ने कोइरालाले मर्नका लागि दर्शनको कुनै उपयोगिता नरहने विचार अघि सारेका थिए। त्यही विश्वासका साथ राजनीतिलाई जीवनको अभिन्न पाटोका रुपमा अघि बढाए।
समाजवादी विचारका एक प्रणेता हुन् कोइराला। लामो समय भारतमा निर्वासन जीवन बिताएका कोइराला त्यहाँ अंग्रेजविरुद्ध ‘भारत छोडो’ आन्दोलनमा समेत सक्रिय रहे। त्यही पृष्ठभूमिले उनलाई प्रजातन्त्र स्थापनाका लागि बल पनि मिल्यो। तर उनको समाजवादी उचाईअघि कतिपय भारतीय नेतृत्व ईर्ष्या पनि गर्दथ्यो। यी सबै विषय किन उठाइएको छ भने मुलत: कोइराला राजनीतिज्ञ थिए।
नेपालमा चलिरहेको जहानियाँ राणा शासनविरुद्ध उनको भूमिका एउटा सुनौलो इतिहास बनेर दर्ज छ।
प्रजातन्त्र स्थापनाका लागि जनस्तरबाट क्रान्ति आवश्यक भएको ठहरसहित कोइराला अघि बढेका थिए। क्रान्ति गर्दा हिंसाको बाटो सजिलो हुने भए पनि कोइराला हिंसाको बाटो अंगालेर क्रान्ति नगर्ने मान्यता अघि सार्दथे।
विपी कोइरालाले कतै लेखेका छन्- ‘राजनीति चारैतिरबाट बन्द हुन्छ, तर कला चारैतर्फ खुल्ला।’
निर्वासनका दौरानमा सायद यो अनुभुति आयो होला भन्ने म अनुमान लगाउँछु। भारतमा बस्दा त्यहाँका शासक र राजनीतिज्ञहरूबाट पनि थिचोमिचो सहनुपर्दा उनमा यो विचार आयो होला। त्यसैले उनले जीवनको अर्को बाटो पनि पैलाए, त्यो थियो साहित्य।
कोइराला सानै उमेरदेखि पश्चिमा जगतका पुस्तक खुबै रुचिका साथ पढ्ने गर्थे। अध्ययनले नै मानिसको व्यक्तित्वलाई निखार्छ भनेको साँच्चिकै हो भन्ने कुराको ज्वलन्त उदाहरण पनि हुन् कोइराला।
विपी कोइरालाका साहित्यिक कृतिहरू श्वेत भैरवी, नरेन्द्र दाई, सुम्निमा, तीन घुम्ती, दोषी चस्मा, मोदिआईन, हिटलर र यहुदी, जेल जर्नल, बाबु,आमा र छोरा अनि आत्मकथा(आत्म वृत्तान्त) चर्चित छन्। साहित्यमा मनोवैज्ञानिक पक्षलाई कोइरालाले जवर्जस्त प्रयोग गरेका छन्।
एउटा मानिसले उसको संसारलाई उसको आफ्नै दिमागी संरचनाका आधारमा नै बुझ्ने गर्दछ। मैले पनि विपी कोइरालालाई त्यही आधारमा बुझ्ने प्रयास गरेँ। आशा गरौँ, उनै कोइरालाले देखेको समाजवादको सपना कुनै दिन अवश्य पूरा हुनेछ।
लेभी स्ट्रसले भनेका छन कि- ‘सामाजिक संरचनालाई अनुभवजन्य वास्तविकताका रुपमा लिन सक्नुपर्छ।’
हो, विपी कोइरालामा समाज र अनुभवजन्य वास्तविकतालाई ग्रहण गर्नसक्ने क्षमता थियो। लेभी स्ट्रस जो एक फ्रान्सेली मानवशास्त्री थिए।
नेपाली काँग्रेसमा स्थापनाकाल यता वि.सं. २०५३ सालदेखि २०५६ सालसम्मको अवधिलाई ‘स्वर्ण पर्व’का रुपमा मनाइएको स्मरण गराउन चाहन्छु। त्यसका केही दस्तावेज पनि छन्।
नेपाली काँग्रेसको नवौँ महाधिवेशन (पृष्ठ ५३०) तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले प्रस्तुत गरेको विचार र कार्यक्रमको यो एउटा उदाहरण थियो।
नेपाली काँग्रेसको स्थापना वि.सं. २००६ र त्यसअघिको नेपाली राष्ट्रिय काँग्रेसको स्थापना वि.सं. २००३ साललाई आधार मानिन्छ। यसरी पार्टी स्थापना गराउने मूल नेतृत्व हुन्, विपी कोइराला। नेपाली काँग्रेस नेपालको प्रजातान्त्रिक आन्दोलनको एउटा गर्विलो इतिहास पनि हो। त्यही इतिहासका मूलपात्र विपी कोइराला हुन्।
उनकै पार्टीले अहिले आएर विपीको दरिलो राजनीतिक पाटोलाई ओझेलमा पारेर साहित्यको राग रट्नुले त्यो इतिहासप्रतिको जिम्मेवारीबाट पन्छिनुजस्तै हो। वा काँग्रेसले विपीको राजनीतिक दर्शनलाई अपनाउन नसकेको आभास पनि हो। आफ्नै इतिहास जोगाउने चुनौती पनि छ काँग्रेसको काँधमा अब।