अमूल्यले रानीलाई होटलको पार्टीबाट बिस्तारै समातेर होटलको कोठामा ल्याए। अमूल्यको नजर परेर मात्रै नत्र रानी ढल्थिन्। बेहोस् हुन्थिन्। कसैले चाल पाउने थिएनन्। उसले रानीलाई बेडमा सुबिस्ता हुनेगरी सिरानी राखिदिए, ओढ्ने ओढाइदिए, शीर दुःखेर संकेत गरिरहेकी हुनाले शीरमा बिस्तारै दबाइदियो। हट पटमा पानी तताएर खुवायो। होटलको लबीमा चर्को ध्वनीसहित ठूलो विशाल पार्टी भइरहेको थियो। नाचगान र मदिरामा व्यस्त मानिसहरु रानीको अस्वस्थताबाट बेखबर बन्यो। रानीले आफ्नो ब्यागमा ओखती छ, भन्ने संकेत गरिन्। अमूल्यले ब्याग पूरै खानतलासी गरे, कोडोमोल ट्याब्लेट रहेछ, रानीले खुवाउन संकेत गरिन् र टाउको थिचिरहन संकेत गरिन्। रानीको शीर दबाएर, पैंताला दबाएर अबेरसम्म अमूल्य बसिरहे। रानी बल्ल छटपटाउन कम करिन् र शान्तपूर्वक बिस्तारै निदाइन्। अमूल्यले सन्तोषको श्वास लिए। पार्टी राति अबेरसम्म चलिरह्यो।
भोलिपल्ट बिहान ब्रेकफास्टको समय थियो, रानीको मुख हेरेर सबै हाँसे, गिज्याए। रातभरि रानीसाहेबको खोपीमा को हुनुहुन्थ्यो हँ ? एकजनाले बहुत् अधिकार जमाएर रानीलाई केरकार गर्याे। हेर, तिमीजस्तो बेसरम आइमाइले गर्दा हामीलाई यसो कहिलेकाहीँ रमाइलो गर्न आउन पनि अप्ठ्यारो पारिदियौ। इज्जतको नाममा धज्जी उडाइदियो। हेर्दा त यस्तो कहिल्यै लागेको थिएन, सारो घुसघुसे रहेछ त हो, हेर त्याँ अनुहार, तिमीले त सिध्यायौ, यार। अर्कीले बोली, होइन रानीसाहिबाको त्यो भाग्यमानी राजा चाहिँ को हो के ? बहुत् उत्सुक भो हामीलाई अर्कोले गिज्यायो, सबै गलल हाँसे।
रानी रातभरको बेसञ्चोले लत्रेको अनुहार र रसिलो आँखामा यी सारा प्रश्नहरूबाट घेरिएर मौन उभिरहिन्। नाजवाफ ओठहरु काँपीरह्यो। कसैले बसौं समेत भनेनन्। फर्केर होटलको कोठामा गइन् र ओच्छ्यानमा पल्टिरहिन्। कोठाको फोन बज्यो, आफूलाई राति उपकार गर्ने अमूल्यजी रहेछ। राति नै घर फर्कीसकेको रहेछ। फोनमै पहिलोपटक परिचय साटासाट भयो, मोबाइल नम्बर साटासाट भयो। रानीले धन्यवाद दिइन्।
कार्यक्रम तालिकाअनुसार आजको साँझ आ– आफ्नो ट्यालेन्ट सो गर्नुपर्ने थियो। त्यसपछि होटलको बगैंचामा बार्बिक्यू पार्टी र ल्याम्प डिनर थियो। ट्यालेन्ट सो'मा नाच्ने, गाउने, नक्कल गर्ने, प्यारोडी, जोक्स, साहित्य विविध प्रदर्शन भयो। सबैको पालो सकियो। रानी मात्रै बाँकी थिइन, सबैले रानीलाई नजर लगाए। कोही खित्खित् हाँसे, कोही खासखुस साउती गरे। कोहीले अनुहार कसरी देखाउने हो, छि भनेर तिरस्कार पोखे। रानी उठिन् र आफूसँग भएको ट्यालेन्ट सो गर्ने अनुमति मागिन्। उनले यहाँ प्रदर्शन भएकोभन्दा एकदम फरक प्रस्तुति हुने हुनाले आफूलाई सहयोग गर्न एकजनाको आदरपूर्वक नाम उच्चारण गरेर आफूतर्फ बोलाइन्। सबैको ध्यानाकर्षण गराउँदै जादू हुने हुनाले विशेष ध्यान दिन आग्रह गरिन् र आदरपूर्वक बोलाएको मानिसको दुवै हात पछाडि लगेर बाँधिदिइन्, घुँडा टेकेर बस्न लगाइन्। आँखामा पट्टी बाँधिदिइन्। जादूका लागि केही फलाके जस्तो गरी चड्याम–चड्याम दुवै गालामा बेस्मारी थप्पड दिइन्। र, त्यो मानिस उठेर प्रतिकार गर्न लाग्दा रानी चिच्याइन् ः यही हो म एक्लो भएको बेलामा मेरो कोठामा पस्ने, ममाथि अभद्र गर्न खोज्ने। म गएको राति बिरामी परें, तपाईंहरु सबै पार्टीमा मस्त हुनुहन्थ्यो। रिंगटा चलेर कोठामा जाँदै थिएँ, भर्याङमा लडेछु, मलाई यही होटलमा अर्को कार्यक्रममा आएका अमूल्यजीले देख्नुभएछ, म उहाँलाई चिन्दिनँ, जान्दिनँ। तर, उहाँले कोठासम्म पुर्याउनुभयो, औषधि खुवाउनुभयो, शीर दबाउनुभयो र म ठिक भएर शान्तपूर्वक ननिदाउन्जेल मलाई छाड्नुभएन।
यो सबै मतलब राख्नसक्ने तर म बिरामी परेर अर्धबेहोस भएको बेमतलब गर्ने यो मान्छेको नियत हेर्नुस्। अमूल्यजी राति कोठाबाट निस्कँदा यो हल्लिँदै जथाभावी बान्ता गरिरहेको थियो, रे। अमूल्यजीले नै यसलाई पनि समातेर कोठाभित्र हुलिदिएको रहेछ। त्यसपछि यसले के गर्याे सुन्नुस्, बिहानभरि तपाईंहरुले बेइज्जत गर्नुभयो, सबैभन्दा बढी यसले नै मलाई प्रश्न गर्याे। तर, यही बदमास हो, आज दिउँसै मेरो कोठा ढक्ढक्याउन आयो, जबरजस्ती कोठामा पस्यो र ममाथि बदमासी गर्न खोज्यो। यो सबै यसले मलाई रिस फेरेको हो, अफिसमै यसले मलाई राम्रो नजरले कहिल्यै हेरेन। रानीसाहिबासँग हामी पनि मज्जा गरौं न भनेको होइन, आउनुस्, यसलाई जुत्तै जुत्ताले हानेर मजा मानौं। रानीले जुत्ता खोल्यो प्रहार गर्याे। लगत्तै अरु केही महिलाहरु हो, हो यसले हामीलाई पनि नराम्रो व्यवहार गरेका थिए, भन्दै जुत्ता खोलेर आए। मानिसहरु गलल हाँसे, बेसरम कहीँको भन्दै गिज्याए, खित्खित्। खुसामद गरे, बेइज्जत गरे तर रानीको होइन, जो चुपचाप रानीको जुत्ता प्रहार थापिबसेको थियो। रातभरको बिरामीले रानी कमजोर भएकी थिइन्, रानीलाई फेरि फनन रिंगटा लाग्यो। उनी भुइँमा लड्नै लाग्दा अरु महिलाहरुले अत्तालिँदै लड्नबाट बचाए र च्याप्प समातेर उठाए।
‘अहो रानीजी........फेरि के भो ?’
आँत्तिदै रानीको सामु टुप्लुक्क अमूल्य आइपुग्यो। रानी अर्धमुर्छित थिइन्, अन्य साथीहरुको अङ्गालोमा, उनको लामो कालो कपाल अनुहारबाट लत्रिएर कञ्चन नदी जस्तै बगिरहेको थियो।