नेपाली काँग्रेसको तेह्रौँ महाधिवेशनताका अहिलेका महामन्त्री गगनकुमार थापाले भनेका थिए- यो महाधिवेशनले विपी कोइरालाको विचारको उत्तरधिकारी खोजेको छ, गिरिजाप्रसाद कोइरालाको साहसको उत्तरधिकारी खोजेको छ तर, त्यो उत्तरधिकारी क्रान्तिकारी खोजेको छ।
नेपाली काँग्रेसको पार्टी स्थापना गर्नेदेखि जीवनको अन्तिम अवस्थासम्म राजनीतिको त्यही मूल प्रवाहमा रहेको व्यक्तित्वका रुपमा विपी कोइरालालाई चिन्न सकिन्छ।
प्रजातन्त्र, स्थापनका लागि कोइरालाको संघर्ष देशभित्र र देश बाहिर अझ भनौँ भारतमा नै धेरै बित्यो। उनको नेपाल बसाइँ कहालीलाग्दा थिए। कोइरालाको निर्वासनका करिब २ दशक उथलपुथल रहे। जेल जीवनका करिब १२ वर्ष साहित्य र रोगसँग लड्दै गुज्रिए।
काँग्रेसको मूल प्रवाह विचारका तहमा कोइरालाले राजनीतिमा हस्तक्षेपकारी भूमिका निभाएका थिए। मैले अघिल्लो अकंमा लेखें- काँग्रेसका लागि विपी कोइराला साहित्यका विम्ब होइनन्, राजनीतिकका दर्शन हुन्, भनेर। नेपाली काँग्रेसले कोइरालाको जन्मजयन्तीमा कसरी उनलाई अपनाइरहेको भनेर यी आलेख श्रृङ्खलाहरूमा चर्चा गर्न खोजिएको हो।
विपी कोइरालाको केवल राष्ट्रिय राजनीतिमा मात्रै नभएर भारतको स्वतन्त्रता र अन्तर्राष्ट्रिय समाजवादी धारमा गाँसिएका इतिहास छन्। जहाँ उनका बाध्यता, परिवेश वा राजनीतिक आदर्श जोडिएका थिए।
नेपाली काँग्रेसले यो वर्ष उनै कोइरालाको जन्मजयन्तीमा साहित्य महोत्सव गर्दैछ। यही सेराेफेरोमा केही शब्दहरू विपी र काँग्रेसका नाममा-
केही दिनअघि राजधानीमा कलिङ काठमाडौं साहित्यिक कार्यक्रम चलिरहेको थियो। त्यहाँ एउटा श्रृङ्खला थियाे: के लेख्दैछ दार्जिलिङ ? कार्यक्रमका वक्ताहरूमध्ये एक डा.हर्कबहादुर क्षेत्रीले भनेका थिए- कहिँकतै नदुखेर साहित्य श्रृजना हुनसक्दैन।
विपी कोइराला पनि वकालतको काम गर्न कलकत्ताको पढाइ सकेर दार्जिलिङ पुगेका थिए। दार्जिलिङको उनको बसाइँ लामो हुन सकेन। उनको राजनीतिक चेतनाले त्यहाँ बसिरहन दिएन। कोइराला बिहारको पटनालाई केन्द्र बनाएर राजनीतिक गतिविधिमा अघि बढ्न बिहार पुगे।
नेपाली काँग्रेसको स्थापना र संस्थापकहरूका विषयमा धेरै लेखिरहनु नपर्ला। पटनामा रहँदा बिहार काँग्रेस सोसललिस्टको सह-सचिव बनेर कोइरालाले काम गरेको थिए।
सन् १९४२ मा कोइराला पटनामा पक्राउ परे। अँग्रेजहरूले करिब तीन वर्ष झ्यालखानामा राखे। कोइराला जसै राजनीतिक गतिविधिमा अघि बढे त्यसरी नै पक्राउ पर्ने र छुट्ने क्रमहरू निरन्तर चलिरहे।
यता, गोर्खा दलको आक्रमण र २००७ सालको परिर्वतनसँगै विपी कोइरालाको सोचमा बदलाव आयो। गृहमन्त्री पदबाट राजीनामा दिएर देश दौडाहामा निस्किएका विपी कोइरालको यात्राले काँग्रेसको संगठनको निर्माणको सिलसिला मजबुत बन्दै गयो।
कोइरालको लक्ष्य पार्टी सभापति बन्ने त थियो नै त्यसका अलवा समाज रुपान्तरणका लागि ठाँउ-ठाँउमा गरेका भाषणहरूको प्रभाव उच्चकोटीकै थियो। विपी कोइराला सत्ताका लागि संघर्ष गरिरहँदा दाजु मातृकाप्रसाद कोइराला र सुर्वणशमशेर राणाबीच मतभेदसँगै अघि बढ्यो।
दाजु-भाइको टकरावकैबीच मातृका कोइरालाले राष्ट्रिय प्रजा पार्टीको पनि स्थापना गरे। तर, विपी कोइरालाले सत्तासँगै जनपक्षीय राजनीतिलाई अघि बढाउन खोजेको देखिन्छ।
यहाँ म एउटा प्रसंग जोड्न चाहन्छु, करिब सात वर्ष पहिले तेह्रौं महाधिवेशनका लागि कृष्णाप्रसाद सिटौलाको नेतृत्वमा महामन्त्रीको उम्मेदवारी घोषणा गर्दा (यति बेलाका महामन्त्री) गगनकुमार थापाले भनेका थिए ‘मेरो नशामा विपी कोइरालाको रगत बगेको त छैन तर, कोइरालको विचार बगेको छ।’
थापा उतिबेला आफू महामन्त्री निर्वाचित त हुन सकेनन् तर, कोइरालको राजनीतिक दर्शनलाई स्थापित गर्ने बहस चलाएका थिए।
चौधौँ महाधिवेशनबाट महामन्त्री निर्वाचित उनै थापाले तिनै विपी कोइरालको राजनीतिक विचारलाई भन्दा साहित्यिक सिर्जनालाई प्राथमिकतामा राखेर अघि बढ्न खोजेका छन्।
अधिवेशनका बेला उम्मेदवारी घोषणा गर्दा उनले विपीलाई आजको सन्दर्शमा राखेर उनका दर्शनको मन्थन गर्नुपर्ने बताएका थिए। उनकाअनुसार त्यो समय बाँचेका विपी उनका विचारलाई आजको विपीको कल्पनाका आधारमा परिस्कृत गर्दै जाने नै यो (गगन)पुस्ताको काँग्रेस हुनेछ।
तर, उनले भुले काँग्रेसको आदर्शमा विपीको साहित्य बिल्कुल मिसिएको थिएन। जसलाई उनले आफ्नो राजनीतिक दर्शन मानिरहेका छन्।
राजा महेन्द्रसँगको टकराव र भारतको बदलिँदो राजनीतिक प्रभावका कारण क्रान्ति आवश्यक छ भन्ने बोधलाई कोइरालामा थप टेवा दिएको पाइन्छ। यसबीचमा कोइरालाले साहित्यतर्फ कलम चलाएको देखिन्छ।
निर्वासनका सुरुवातमा बिहारमा आश्राय लिएका कोइरालाले कोशी नदीले बेघर बनाएका बिहार र वारि नेपालका प्लटहरूमा नरेन्द्र दाइ र श्वेतभैरवीजस्ता कृतिहरू रचे।
राजनीतिमा विपी कोइरालाको दूरदरर्शन थियो। साहित्य त उनको दैनिक जीवनयापनको जरियाजस्तै थियो। यसो भन्दैमा साहित्यमा उनको योगदानलाई किञ्चित उपहास गर्न खोजिएको नठानौं।
एउटा कालखण्ड यस्तो पनि रह्यो विपी कोइरालाले देशको नागरिक तहको सुविधा पासपोर्टसम्म पाएनन्। भारत सरकारले बनाइदिएको पत्रका आधारमा युरोपसम्म पुगेको पीडालाई सम्झनैपर्छ।
सन् १९७१ ताका बंगलादेशको स्वतन्त्राको पक्षमा विपी कोइरालाले नयाँ दिल्लीमा आयोजित कार्यक्रममा आफ्नाे राजनीतिक उपस्थिति र विचार स्पष्ट राखेका थिए।
बंगलदेशको स्वाधीनताको विगुल बजाएर नेपालमा पनि प्रजातन्त्तको मूल फुटाउन सकिन्छ भन्ने कोइरालको राजनीतिक क्षितिजमा दूरदर्शीता थियो भन्न सकिन्छ।
विपीले नेपालमा प्रजातन्त्र स्थापनका लागि गरेको संघर्षका अगाडि साहित्यिक सिर्जना एउटा अङ्ग मात्रै हो।
एउटा राजनेताको मूल पहिचानलाई ओझोल पार्ने गरी सहायक विषयलाई प्रधान बनाइनु राजनीतिक रुपमा बेइमानीमात्रै होइन, यो न्यायीकरुपमा अन्याय र सामाजिकरुपमा असभ्यताको पराकाष्टा हो।
साहित्यमा विपी कोइरालाको अस्तित्ववादी धार छरपष्ट देखिन्छ। सन् १९७६ मा डा.हरिदेव शर्माले दिल्लीमा विपी कोइरालासँग लिएको अन्तर्वार्तामा उनको राजनीतिक चेतना, बदलिँदो अन्तर्राष्ट्रिय राजनीति र दूरदर्शिताको झल्को पढ्न पाइन्छ। त्यो अन्तर्वार्तामा नेहरु म्यूजियममा सुरक्षित छ। यस विषयमा काँग्रेसका नेता स्व.प्रदीप गिरीका टिप्पणीहरू पनि पढ्न सकिन्छ।
साहित्य भावना र कल्पनामा पनि उत्कृष्ट हुनसक्छ तर, राजनीति भावनाको जगमा अगाडि बढ्न सक्दैन। त्यसले कोइरालालाई साहित्यको दर्पण त भन्न सकिएला तर, उनी राजनीतिका दर्शन नै हुन्। मात्रै साहित्यिक ऐनाको तस्विरमात्रै होइनन्।
अझ माथि उठेर भन्नुपर्दा विपी बाँचेको त्यो समयका राजनेता पनि हुन्।
कोइरालाले सत्ता मात्रै हेरेका थिएनन् भविष्यको पुस्तालाई प्रजातन्त्रको उपभोग गरुन् भन्ने ध्येय राखेका थिए। जो एउटा साहित्यिक सर्जकले मात्रै देख्नै सक्दैन। कोइरालाको साहित्य सिर्जना अधिकांश हिन्दी र नेपालीमा छन्। वनारसजस्तो शिक्षाको हवमा बसेर पनि कोइरालामा संस्कृत भाषा र त्यसको साहित्यप्रतिको रुचीमा कमी देखिन्छ।
कोइरालाका साहित्यमा युरोपका जाँ पाउल सात्र, मोपासा, एन्टोन चेखव र अल्बर्ट कामुको प्रभाव देखिन्छ। कोइरालको लेखनीमा अल्बर्ट कामुको दि आउट साइडर उपन्यासको गहिरो प्रभाव परेको पाइन्छ। कोइरालामा यु जिन ओनिलका प्लटमा सिग्मन्ड फ्रायडको प्रभावलाई पढ्न सकिन्छ।
नेपाली साहित्यको मूल आधार पूर्वीय दर्शन र संस्कृत मूल पनि हो। जुन कोइरालाको कृतिहरूमा कमजोर तरिकाले भेटिन्छन्। उसो त एउटा राजनीतिज्ञ, राजनेता साहित्यको आकाशमा तारापुञ्जको रुपमा कोइरालाको नाम लिन सकिन्छ।
तर, काँग्रेस राजनीतिक दल भएकाले मूल नेतृत्वको राजनीतिक विचारलाई पर राखेर साहित्यिक सीमामा बन्धक बनाउनु न्यायोचित कदापि होइन।
अब्राहम मासलोका शब्दमा विपी कोइराला ‘सेल्फ एक्युलाइज्ड’ हुन्। अनि राममनोहर लोहियाका बुझाइमा सम्पूर्ण व्यक्तित्व पनि हुन्।
नेपाली काँग्रेसका यतिबेला होनाहार दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा छन्। यी दुवै महामन्त्रीसहित सभापति शेरबहादुर देउवाले स्वर्गीय विपी कोइरालाको विषयमा आफूले विगतमा बोलेका कुराहरूको ख्याल गर्नैपर्छ।
यतिबेलाको आवश्यकता भनेको कोइरालाको योगदानसँगै उनको राजनीतिक दर्शनको विषयलाई मूलरुपमा अघि बढाउनुपर्छ, न कि साहित्यलाई मात्रै। नेपाली काँग्रेसका विभिन्न विभागले कोइरालाको साहित्यिक योगदानको चर्चा जतिबेला पनि गर्न सकिन्छ।