महुवामार्फत सामुदायिक सशक्तीकरण

दाङमा स्थानीय वन व्यवस्थापन र आर्थिक वृद्धि बढाउन रोपियो हजार रुख

महुवा वाइन एण्ड बेभरेजेस प्रा.लि.ले ‘महुवा अभियान २०२४’ अन्तर्गत १,००० वटा महुवाको बिरुवा रोप्ने लक्ष्य सफलतापूर्वक पूरा गरेको छ।

तुलसीपुर उपमहानगरपालिका-१३, अम्बापुर, फूलबारीमा अवस्थित अम्बेश्वरी महिला सामुदायिक वनमा महुवाको बिरुवा रोपिएको हो।

अभियन्ता सन्देश चौधरीको नेतृत्वमा सुरु गरिएको यस अभियानले सामुदायिक वन को आर्थिक र वित्तीय विकासलाई बढवा दिने उद्देश्य राखेको छ।

यस अभियानले स्थानीय समुदायलाई वन व्यवस्थापन सगै वनमा आधारीत उद्यममा संलग्न गराउने सकारात्मक प्रयासको थालनी भएको छ। महुवा अभियान २०२४ केवल बिरुवा रोपणसम्म सीमित छैन।

यसले महिला, आदिवासी, जनजाती, दलित, उपेक्षामा परेका समूह र अन्य सामुदायिक वन उपभोक्ताहरुलाई वन उद्यम सगै वन व्यवस्थापन गतिविधिहरूमा संलग्न गराएर सशक्त बनाउने लक्ष्य राखेको अभियन्ता चौधरीले बताए।

'हामीहरूले वन सफा गर्ने, छाँट्ने, काट्ने, बिरुवाहरूको लागि खाल्डा खन्ने जस्ता कामहरू गरेका छौँ। वन स्रोतहरू बढाएर र आयमूलक गतिविधिहरूलाई प्रवर्द्धन गरेर समुदायको आर्थिक समृद्धिलाई बढवा दिनु यस अभियान मूल उद्देश्य हो', उनले भने।

अभियन्ता चौधरीले आवश्यक तयारीहरूको लागि घोराहीस्थित डिभिजन वन कार्यालयसँग नजिकबाट समन्वय गरेका थिए।

बाँकेस्थित डिभिजन वन कार्यालयका सहायक वन अधिकृत नवराज शाही र लमही, दाङका चिरञ्जीवी खनालले महुवाका बिरुवाहरू उपलब्ध गराएका थिए।

दाङमा महुवा बिरुवाको उच्च माग भएकोले, बाँकेस्थित वन डिभिजन कार्यालयबाट थप सहयोगको अनुरोध गरिएको थियो। यसरी, बाँके र दाङका डिभिजन वन कार्यालयहरूले १,००० थान महुवा बिरुवाहरूको आपूर्ति गरिएको हो।

अभियन्ता चौधरी पहिलो वर्षको लक्ष्य सफलतापूर्वक पूरा भएकोमा सन्तुष्टि व्यक्त गरेका छन् र २०२५ का लागि २,००० भन्दा बढी महुवा बिरुवा सामुदयिक वन तथा खाली रहेका क्षेत्रहरूमा रोप्ने महत्त्वाकाङ्क्षी अभियन्ता चौधरी पहिलो वर्षको लक्ष्य सफलतापूर्वक पूरा भएकोमा सन्तुष्टि व्यक्त गरेका छन् र २०२५ का लागि २,००० भन्दा बढी महुवा बिरुवा सामुदयिक वन तथा खाली रहेका क्षेत्रहरूमा रोप्ने महत्त्वाकाङ्क्षी योजना घोषणा गरेका छन्। 

यस कार्यमा महुवा वाइन एण्ड बेभरेजेस प्रा.लि.ले नियमित रूपमा निगरानी र व्यवस्थापन गर्ने उनले बताए।

अम्बेश्वरी महिला सामुदायिक वनका अध्यक्ष तथा स्थानिय सरकारका जनप्रतिनिधि श्री विमला शर्माले यस अभियानमा महत्त्वपूर्ण साझेदार बन्न पाउँदा खुसी लागेको बताइन्।

'६.३ हेक्टर क्षेत्रफल रहेको यस वनले यस अभियान अन्तर्गत १ हेक्टर खाली जमिनमा ५०० बढी महुवाका बिरुवा रोपण गरिसकेको छ भने बाँकी क्षेत्रलाई खयर, सिसौ, र अन्य फलफूलका बिरुवाहरूको लागि छुट्याइएको छ', उनले भनिन्।

यसै गरी दंगीशरण गाउँपालिका १ बाँकी बेटारपुरमा रहेको महालक्ष्मी सामुदायिक वनमा हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र महालक्ष्मी सामुदायिक वन उपभोक्ता समुहको सहयोगमा मौहवा र अन्य बिरुवाहरू करिव २ हेक्टर क्षेत्रफलको खाली जमिनमा वृक्षारोपण गरिएको छ।

‘महुवा अभियान २०२४’ अन्तर्गत तुलसीपुर उपमहानगरपालिका-१३, अम्बापुर, फूलबारीमा अवस्थित अम्बेश्वरी महिला सामुदायिक वन र दंगीशरण गाउँपालिका १ बाँकी बेटारपुरमा रहेको महालक्ष्मी सामुदायिक वनमा करिव १,००० वटा महुवाको बिरुवा रोपिएको हो।

महिलाहरूको समूहद्वारा व्यवस्थापन गरिएको अम्बेश्वरी महिला सामुदायिक वनमा ८० घरधुरी र २०० जनसङ्ख्या रहेका छन्, जसले महिलाहरूको नेतृत्वमा वन व्यवस्थापनको बलियो मोडल प्रस्तुत  गर्दै आइरहेको छ।

अभियन्ता चौधरीसँगको सहकार्यमा, अध्यक्ष शर्माले डिभिजन वन कार्यालय घोराहीसँग सहयोगको लागि सम्झौता गरेकी हुन्। यसमा छाँट्ने, काट्ने, र खाल्डा खन्ने कार्यका लागि वित्तीय सहायता र १,२०० खयर र सिसौ बिरुवा रोपण कार्य  समावेश छ। 

बिरुवा रोपण गतिविधिलाई सामुदायिक वन उपभोक्ताहरु, स्थानीय समुदाय, सदस्य र अम्बापुर, फूलबारीका नेपाल सेना बलले समर्थन गरेका हुन्।

२०५१ सालमा स्थापना भएको अम्बेश्वरी महिला सामुदायिक वनले दर्ता प्रमाणपत्रको अभाव र नेपालको गृहयुद्धका क्रममा धेरै चुनौतीहरूको सामना गरेको थियो।

तर  विभिन्न सङ्घसंस्था र नेपाल सेनाको समर्थनले गर्दा यो वनलाई २०७६ सालमा सफलतापूर्वक व्यवस्थापन र दर्ता गरिएको हो।

हाल यस सामुदायिक वन हरियाली र विकसित रूखहरू सहित फस्टाउँदै छ । र भविष्यमा यसलाई पिकनिक स्थल र हरित पार्क क्षेत्रहरूसहितको पर्यटन स्थलमा विकास गर्ने योजना रहेको छ।

अध्यक्ष विमला शर्माले अभियन्ता चौधरी र महुवा वाइन एण्ड बेभरेजेस प्रा.लि.लाई समर्थनका लागि आभार व्यक्त गरेकी छन्।

उनले सामुदायिक वनको दिगो व्यवस्थापन सुनिश्चित गर्न निरन्तर प्राविधिक र वित्तीय सहयोगको आवश्यकता समेत औँल्याएकी छन्।

प्रकाशित मिति: : 2024-08-05 12:20:00

प्रतिकृया दिनुहोस्