निर्वाचन विशेष

टिकट वितरणका बाछिटा

BreaknLinks
BreaknLinks

आजको समय राजनीतिमा एउटै प्रकारको समाचार सर्वत्र सुनिदै आएको छ। यसको कारण के हो भन्दा हरेक राजनीतिक दलभित्र आसन्न निर्वाचनको टिकट वितरण हो। नेपालका हरेक राजनीतिक दलहरुभित्र प्रत्यक्ष निर्वाचन पद्धतिमा वा समानुपातिक पद्धतिमा कसले उम्मेदवारी पाउने ? को अवसरमा पुग्ने ? भन्ने होडबाजी अत्यन्त पेचिलो ढंगबाट चल्यो। जसका कारण प्रत्येक राजनीतिक दलका उमेदवारका आंकाक्षीहरु सर्वत्र रुपमा पोखिए।

सामाजिक सञ्जालमा पोखिए, पत्रपत्रिका, रेडियो, टेलिभिजन, इन्टरनेटदेखि सार्वजनिक कार्यक्रमसम्म छरपष्ट हुने गरी पोखिए। ठुला दलहरुमा ठुलै पहिराे गयो, साना दलहरु सानै पहिराे गयो, जसरी पनि जुनमा भए पनि पहिरो त गयो नै तर नेपाली राजनीतिक दलहरुको नेतृत्वमा यसरी राजनीति नै हल्लाउने गरी गएको पहिराे थाम्ने र रोक्ने क्षमताको भने कमी देखियो।

सर्वसाधारण मानिसलाई यसप्रति त्यति चासो भए पनि नभएता पनि थोरै भए पनि राजनीतिक चेतना भएका मानिसहरुमा यसको प्रभाव परेकै छ। हुन पनि किन नहोस् त, बहुदलीय व्यवस्थामा हरेक नागरिकलाई राजनीतिक अधिकार संविधानले उपलब्ध गराएको छ। हरेक नागरिक राजनीतिक रुपमा अधिकार प्राप्त छ, भन्नुको तात्पर्य राजनीतिक रुपमा भेला हुने, संगठन बनाउने, कार्यक्रम गर्ने, हिँड्डुल गर्ने, जनतामा जाने मामिलामा योग्य छ, उसका लागि छुट्टै प्रकारको विश्वविद्यालयको योग्यता चाहिँदैन। राजनीति व्यवसाय होइन, सेवा हो, त्यसकारण राजनीतिका लागि शैक्षिक योग्यताको आवश्यकता पर्दैन। राजनीतिमा शैक्षिक योग्यताभन्दा पनि सामाजिक र राजनीतिक योग्यता नै चाहिन्छ। राजनीति कठिन र सम्भावनाहरू प्रशस्त भएको क्षेत्र हो। राजनीति सरल र फलामको चिउरा चपाउनु बराबरको क्षेत्र पनि हो। यद्यपी राजनीतिक गर्मी नेपालमा अहिले बढेकै छ, जसका कारण विभिन्न तह र तत्कामा होहल्ला मच्चिएकै छ।

(नेकपा) एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी लगायतका प्रमुख दलहरुमा ठुलै हल्लीखल्ली चलेको अवस्था छ। जब–जब निर्वाचनहरु आउँछन, जान्छन, तब तब दलहरुमा एकबाट अर्कोमा सर्ने र सार्ने काम भइरहन्छ। राजनीतिक बसाइ सर्नु, पार्टी फेर्नु, बनाउनु, सन्यास लिनु र टुक्रयाउनु यो सबै प्रक्रिया धेरै नै चलिरहन्छ र यस्तो बेलामा अत्याधिक मात्रामा चल्छ, चलिरहेकाे पनि छ।

अब प्रश्न कहाँनिर भन्दा यसरी पार्टीहरु अस्थिर भइरहँदा वा नेता कार्यकर्ताले सैद्धान्तिक अडान राख्न नसक्दा जनताको नजरमा भने यी दलहरु र यिनका नेता कार्यकर्ताहरु गिर्दै जान्छन्। दृष्टिकोण नकारात्मक र अविश्वसनीय परिस्थितीको जन्म हुन्छ। गतिशिल समाज र गतिशिल समयमा हरेक व्यवहारहरु गतिशील हुन स्वभाविक छ। र, यो प्राकृतिक गति पनि हो र अग्रगामी गति पनि हो। तर, हाम्रो देशका राजनीतिक दलमा देखिएको असहज परिस्थितीले यस कुराको पुष्टि गर्छ कि नेताहरुमा पार्टीलाई व्यवस्थित गर्ने क्षमता कम छ र नेताहरुको तागत संगठन पद्धतिमा चल्दैन। हरेक पार्टीका संगठनहरु पद्धतिलाई पछ्याउने र धैर्य गर्ने शक्ति राख्दैनन्। यो वा त्यो पार्टी वा यो वा त्यो नेता कार्यकर्ता तत्काल ठुलो उपलब्धी पाउने आशा राखेर पार्टीमा प्रवेश गर्छ र प्राप्त नहुने बित्तिकै अर्को दल वा संगठन पट्टी लाग्छ। ऊ केवल अवसर खोजी राखेको छ। बाँकी अन्य विषयमा उसलाई सोच्ने फुर्सद नै छैन। विचार चाहिएन, सिद्धान्त चाहिएन, आदर्श चाहिएन, पहिचान र सम्मान पनि चाहिएन तर यसलाई चाहियो त केवल अवसर।

हो, यसरी अवसरलाई मात्रै केन्द्रमा राखेर पार्टी संगठनमा लाग्नेहरुको ताँतीले आज पार्टीका राजनीतिक कार्यकर्ताहरुप्रति जनताले वितृष्णा पोख्ने गर्दछन् र कुनै महत्वपूर्ण कार्य वा निर्णयमा भरपर्दो दृष्टिकोणले अपनाउने गर्दैनन्। राजनीति आफैंमा आगो हो यो सधैंभरि बलिरहन्छ र बल्नु पनि पर्छ तर अहिले आगोलाई घ्यूको मसलाले जुन बढी तताको छ। त्यसको मुल कारण हालसालको संसदीय राजनीतिक निर्वाचन नै हो। जनताले प्रत्यक्ष निर्वाचित गरेर आफ्ना प्रतिनिधिहरु पठाउने कार्यक्रम निर्वाचन हो।

पाँच वर्षीय कार्यकाल सकिएर नयाँ कार्यकालका लागि हुन लागेको प्रदेश संसद र संघीय संसदको चुनावले कतै सुखद र खुशीका समाचार सम्प्रेषण गरी राखेको छ भने कतै दुःखद र असन्तोषका समाचारहरु सम्प्रेषण गरेको छ। कारण नेपाली राजनीतिमा आएको अवसरवादी, व्यक्तिवादी, परिवारवादी, संकीर्णवादी, जातीवादी, क्षेत्रवादी, नश्लवादी, चिन्तन र त्यसको हस्तक्षेप हो। इमान्दार, निष्ठावान, क्षमतावान र संघर्षले खारिएको कार्यकर्तामाथि धन, डन र गनको सहारामा उँभो लागेको व्यक्ति वा शक्ति हावी हुँदा निष्ठा मर्दै गइरहेको छ। फोहोरको डङ्गुर थुप्रिदै गइरहेको छ र निष्ठाले आत्महत्या गर्नुपर्ने अवस्था सिर्जना भएको छ। निष्ठा र इमान्दारितालाई नचिन्ने राजनीतिले अन्ततः देशलाई नर्कदेखि नर्कसम्म मात्र पुर्‍याउँछ र नर्कदेखि मृत्युसम्म मात्र पुर्‍याउँछ।

हो, त्यो अवस्था भनेको देश बर्बाद हुने अवस्था हो, राज्य गलत र अवसरवादीहरुको हातमा पुग्नु हो, राज्य विघटनतर्फ जानु हो। राष्ट्र र जनताको चिन्ता नहुने दल तथा तिनका नेता कार्यकर्ताले दोहन गरेर खानुबाहेक अरु केही काम गर्न सक्ने छैनन् भने अन्ततः अहिले भएका सम्पूर्ण पार्टीहरुको अस्तित्व पनि सकिनेवाला छ। भन्नुको तात्पर्य दलीय व्यवस्था खराब वा लोकतन्त्र खराब भन्ने होइन, खराब बेथिति हो, भ्रष्टाचार हो, अनियमितता हो, नातावाद, कृपावाद, जी हजुरीवाद, सामान्तवाद हो। नेपालमा राजनीति गर्ने दलहरुमा आन्तरिक लोकतन्त्र हुनुपर्छ कि पर्दैन ? हरेक संगठनहरुको आत्मनिर्णयको अधिकार हुनुपर्छ कि पर्दैन न ? जहिलेसुकै केन्द्रबाटै लादेर आउने निर्णयहरु जिल्ला वा क्षेत्रीय समितिहरुले तथास्तु गर्दै जाने हो भने पार्टीहरुमा आन्तरिक लोकतन्त्र रहन्न र फेरि पनि जनवादी केन्द्रीयता होइन कि व्यक्तिवादी केन्द्रियतामा पुग्छ।

नेपाल र नेपालीको हितमा गर्नुपर्ने राजनीति त्यसको विपरीत हुँदै गयो भने नेपाललाई नकारात्मक दिशामा पुर्‍याउँछ। किनकी अन्य पेशाकर्मी व्यवसायी जस्तो राजनीतिकर्मी होइन, राजनीति अव्यवस्थित होस् या व्यवस्थित फेरि पनि राष्ट्र सञ्चालन सोही राजनीतिले गरेको हुन्छ। सम्पूर्ण राज्यका संयन्त्रहरु यिनै नीतिले घुमाएको हुन्छ। जुन देशमा राजनीति सफा र पद्धतिमुलक छ, त्यो देशमा छिट्टै चेतनास्तर, जनस्तर र समृद्धि पनि उठेको छ। आज नेपाली राजनीतिककर्मीको मुख मुखमा समृद्धि समृद्धि झुण्डिएको तर समृद्धि कसरी आउँछ त भन्ने योजना चाहिँ कसैले पस्किएको देखिन्न। हो, प्रश्न र समाधान यही छ कि समृद्धि हिँडेर आउँदैन, गुडेर आउँदैन, उडेर आउँदैन, आउँछ त कर्मबाट आउँछ, योजनाबाट, समूहको बलबाट आउँछ, जसरी निर्वाचनको बेला आगोमा आगो थपिएको राजनीति छ, त्यसरी नै समृद्धिका लागि बलमा बल, योजनामा योजना, सामूहिकतामा सामूहिकता, लगानीमा लगानी, प्रवर्धनमा प्रवर्धन, निर्माणमा निर्माण थपेर तताउने हो।

विश्वका धनी मुलुकको तुलनामा नेपाल पुग्न कुनै बढी समय लाग्दैन। करिब दुई दशकको यात्रामै नेपाल समृद्ध हुन्छ। काठमाडाैँमा बालेनले यो गरे उ गरे भनिन्छ, धरानमा हर्कले यो गरे उ गरे भनिन्छ तर बालेन र हर्क जस्तै जोस होस् भएका युवाहरु, व्यक्तिहरु फटाफट निर्वाचित हुने र कार्य गर्न थाल्ने हो भने हामीले खोजेको, देखेको समृद्धि पनि छिट्टै हाम्रो आँगन आँगनमा आइपुग्छ र आँगनबाटै समृद्धि पनि सुरु हुन्छ तर बालेन र हर्कले पनि अझै उत्पादनमुखी र रोजगारीमुखी कार्य भने गर्न नसकेको देखिन्छ।

अबको राजनीति उत्पादनमुखी र रोजगारमुखी हुनुपर्छ, समयमा विद्रोह पनि गर्दै सम्भावनाको श्रोतहरु खोजी गरेर निर्माणतर्फ लानुपर्छ। नेपाल श्रोत साधनले गरिब देश होइन तर श्रोत साधनको पहिचान र उत्खनन गरी विश्व बजारमा पुर्‍याउन नसकेको मात्रै हो। यसको अर्थ यो हो कि जसरी निर्वाचनका बेला टिकट र सिटको लडाइँ चल्छ त्यसरी राष्ट्रका समस्याका विषयमा, समाजका समस्याका विषयमा, आम सर्वसाधारणका समस्याका विषयमा, लडाइँ चल्दा, छलफल वहस चल्दा कसो हुन्थ्यो होला।

आज दलहरुमा टिकट किनबेच भयो भनिन्छ। सिट किनबेच भयो भनिन्छ। उमेदवार किनबेच भयो, सांसद किनबेच भयो भनिन्छ र त्यसरी दलीय राजनीति विकृत हुँदै पनि गएको छ भने यसको असर र नकारात्मक प्रभाव त फेरि दलीय व्यवस्थालाई नै हो। आज दलहरुबाट राजनीति सम्भव छैन, देश बनाउँदैनन् भनेर भटाभट स्वतन्त्र व्यक्तिहरुले जितिरहेको देख्दा फेरि पनि एकपटक राजनीतिक दलहरुले छातीमा हात राखेर गम्भीर ढंगबाट समीक्षा गर्ने कि ? तात्तातो समयको तात्तातो राजनीतिलाई आईसमा राखेर ठण्डा दिमागको साथमा आत्मसमाचोलना गर्ने कि ? कि अझै पनि टिकट र सिट मात्रै भन्ने ? कि अझै पनि प्रत्यक्ष र समानुपातिक मात्रै भन्ने ? राजनीतिमा प्रवेश गरेपछि केही उपलब्धीको आशा गर्नु पनि स्वभाविक हो तर राजनीति त पूर्ण रुपमा सेवा हो नि हाम्रो नेपालमा गरिबी भएकै कारण राजनीतिलाई पेसा बनाइयो यो पनि एउटा कारण हो भन्दा फरक नपर्ला र अर्को लोभी पापी प्रवृत्ति बढेर जानु र इमान र निष्ठा बलात्कृत हुनु हो।

अतः टिकट र सिटले तताएको राजनीति सेलाउन अझै पनि निक्कै समय लाग्ने देखिन्छ भने निकट भविष्यमा फेरि पनि नयाँ–नयाँ राजनीतिक शक्तिहर उदय हुने सम्भावना पनि बढेर गएको छ।

प्रकाशित मिति: : 2022-10-17 19:00:00

प्रतिकृया दिनुहोस्