आउँथ्यो दशैं आउँन त पहिले नि
यस्तो मजा भाथेन कहिले नि
उठ बस नाँचियो पहिले नि
हल्का कम्मर भाँच्देको मैले नि
प्रिय भाइ हेमन्त शर्माको यो दशैं गीतले सामाजिक सञ्जालमा उधुम मच्चाएको छ। घरदेशमा हुन् वा परदेशमा, दशैं मनाउन आयोजना भैरहेका हरेक कार्यक्रम र जमघटमा यो गीतमा हल्का कम्मर भाँच्नेहरूको कमी छैन। यी अक्षरहरू लेखिरहेको बेला मेरो घरको टेलिभिजनमा पनि यही गीतको म्युजिक भिडियो आइरहेको छ।
मलाई पनि यो गीत प्रिय लाग्छ, त्यसमा पनि आफूले चिनेको मिजासिलो भाइ हेमन्तले गाएको गीत भनेपछि एक किसिमको प्रोक्सिमिटी पनि हुने नै भयो, छ। तर, दु:खका साथ भन्नुपर्छ, मलाई यो गीतले भनेजस्तो न मजा भएको छ, न कम्मर भाँच्ने जाँगर नै चलेको छ। बाढी पहिरोले धेरै नेपालीको दशै 'दशा' बनिरहेको बेला म कुन मनले कम्मर भाँच्न सक्छु र? तर, हेमन्तले यसपटक एउटा कालजयी दशैं गीत दिएर नेपालीलाई ठूलो गुण लगाएका का छन्। यसपालि नसके पनि आउँदा वर्षहरूका दशैंमा म पनि हल्का कम्मर भाँच्न कोशिस गर्ने नै छु।
.......
यी अक्षरहरू लेखिरहेको बेला म मेरो जन्मदेशबाट लगभग आठ हजार माइल टाढा अमेरिकाको पेन्सेल्भेनियामा छु। अमेरिकाको राजधानी वासिङ्टन डीसीमै बसेर पाँच दिन सरकारी काम गरेपछि शुक्रबार साँझ म गृहराज्य पेन्सेल्भेनिया फर्कन्छु। दिनभरिको काम, शुक्राबार अपरान्हको ट्राफिक जाम, साँझ घर आइपुग्दा लखतरान होइन्छ । तर, जब लेख्ने कुरा आउँछ, अझ त्यसमा पनि जन्मदेशका लागि भने भित्रैबाट एक किसिमको ऊर्जा आउँछ । र. हरेक सप्ताहान्त केही घण्टा फुर्सद निकालेर लेखिहाल्छु ।
मेरो कामको प्रकृति र त्यसले निर्दिष्ट गर्ने जिम्मेवारीलाई हेर्दा म जे जस्ता विषय लेखिरहेको छु, त्यसरी लेख्न मिल्छ कि मिल्दैन? यदाकदा म आफैँ पनि अलमलमा पर्छु। कहिलेकाहीँ डर पनि लाग्छ, कतै म आफ्नै जागिरमाथि त बन्चरो त हानिरहेको छैन ? मैले नलेख्दा पनि त हुन्छ । आखिर मैले लेखेर पो के भएको छ र?
आखिर देशमा केही हुन्छ भन्ने विश्वास नलागेर देशै छोडेर हिँडेको मान्छे हुँ। हिँड्ने बेलामा ‘सधैँका लागि गएको कहाँ हो र? छिट्टै फर्कन्छु।‘ भन्दै वृद्ध बाबुआमाका आँसु पुछेको हिजो जस्तो लाग्छ। सात वर्ष पूरा भइसकेछ।
यही बीचमा बाबु गुमाएँ, आमा पनि डाँडामाथिकी घाम जस्ती भइसक्नुभयो। अब त उहाँ आफैँ पनि भन्न थाल्नु भएको छ, ‘बाबु गैहाले, म पनि भरे हो कि भोलि भैसकेँ। त्यसपछि कसका लागि आउँछस् र?, देश भन्थिस्, तैँले भनेको देश पनि अर्कै भइसक्यो। अब नआए पनि हुन्छ।‘
जब आमा यसो भन्नुहुन्छ, मन उचाल्नै नसक्ने गरेर भारी हुन्छ, आँखाहरू रसाउँछन्, शरीरमा ऐँठन हुन्छ। शायद यही माया होला। आफू पनि बिस्तारै साठी नजिक पुगिसकियो। पिर दिनेबाट लिने ठाउँमा पुगेको यो बेला मन उड्न खोजे पनि बुढ्यौलीले थाक्दै गएको शरीरले भुइँतिरै तान्दो रहेछ। अब त पाइताला टेकिएको भुइँ पनि अमेरिकी भइसक्यो। भनाइ नै छ नि शरीरले कहिल्यै ढाँट्दैन।
म केही वर्षयता लगातार लगभग उस्तै कुरा लेखिरहेको छु। नेपालमा लोकतन्त्र हैन, ओली, प्रचण्ड र देउबातन्त्र आयो । देशको संविधानदेखि सारा राज्यसंयन्त्र यिनका पार्टपूर्जा मात्र भए । यी दलका दोस्रो, तेस्रो दर्जाका नेताहरू पुस्ताका नाममा उनीहरूकै दाश भए।
पद र मौका नपाउन्जेल बोल्छन्, पाएपछि बोल्ती बन्द। अब त यो नेपाली राजनीतिको सनातन नै भइसक्यो। नयाँ हुन् वा पुराना सबै तत्–तत् पार्टीका ओली, प्रचण्ड र देउवा नै हुन् । पात्र फरक होलान्, प्रवृत्तिका हिसाबले सबै एकै हुन्। यी पात्रहरू मात्र हैन, प्रवृत्ति नफेरी नेपाल बस्नलायक ठाउँ हुँदैन।
यी तीन पात्रमध्ये सबैभन्दा खराब चाहिँ ओली हुन्। अब उनी पात्र मात्र रहेनन्, उनले यसलाई प्रवृत्तिकै रूपमा हुर्काइसके। दुःखको कुरा नेपालमा यही प्रवृत्ति नेपालमा ‘सफल’ भइरहेकोले छ।
अरू पनि सफलताका लागि ओली हुने प्रयत्नमा छन्। त्यस्तो हुन खोज्ने पछिल्लो चर्चित व्यक्ति रवि लामिछाने हुन्। उनी ओलीको स्वाँगे भाइकै रूपमा अगाडि बढिरहेका छन्। उनले बितेका दुई वर्ष नयाँका नाममा जे गरे, त्यसले नयाँ पनि विकल्प हैन भन्ने प्रमाणित गरिदियो। नाम जे भए पनि यी सबै पात्र र प्रवृत्ति नेपालका लागि समस्या हुन्, समाधान हैनन्।
नेपालले लोकतान्त्रिक, समावेशी राजनीतिको अभ्यास गरिसक्यो। नेपाली जनतामा अधिकारको चेतनाले जरा गाडी सक्यो, स्वतन्त्रताको अभ्यास पनि बढी नै भइसक्यो। अब उनीहरू योभन्दा कमतिर फर्कनै चाहँदैनन्। योभन्दा अगाडि बढ्न धेरै खराबभन्दा कम खराब छान्नुको विकल्प उनीहरूसँग छैन। भनाइ नै छ, लोकतन्त्र उत्तम व्यवस्था हैन, खराबमध्येको कम खराब हो।
नेपालको लागि अबको राजनीतिक बाटो भनेको वैचारिक आधारमा दुई दलीय ध्रुवीकरण र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख नै हो। सँगसँगै धान्नै नसकिने आकारका राजनीतिक निकाय र तिनीहरूको प्रतिनिधि सङ्ख्याको मिलान र कटौती पनि त्यतिकै आवश्यक छ। संविधान संशोधनमार्फत यसो नगर्ने हो भने नेपालले राजनीतिक निकास पाउन सक्दैन। राजनीतिक समस्या क्रोनिक भइसक्यो, अब यसको शल्यक्रिया नगरी उपाय नै छैन।
.........
देशमा युवापुस्ता जोगाऔँ
देशमा खासगरी युवापुस्तालाई अड्याइ राख्न जरुरी भैसकेको छ। त्यसका लागि उनीहरूमा आशा जगाउने थुप्रै काम गर्नुपर्ने हुन्छ। तर, त्यो भन्दा पनि महत्त्वपूर्ण कुरा स्नातक नगरेका अल्लारे विद्यार्थीलाई विदेशमा अध्ययनको स्वीकृति नै दिनु हुँदैन।
झट्ट सुन्दा अप्रिय लागे पनि शिक्षाका नाममा विदेश जाने +२ का अल्लारेहरूलाई रोक्न, उनीहरूले लैजाने विदेशी मुद्रा जोगाउन र उनीहरूकै भविष्य सुनिश्चित गर्न पनि यो नगरी नहुने भएको छ। यो पुस्ता बुझ्दै नबुझी अल्लारे उमेरमै विदेश जाने, नाम मात्रको पढाइ गरेर कुनै न कुनै किसिमले उतै अल्झिने र नेपाल बस्नै नहुने देशका रूपमा भाष्य बनाउन लागि परेको छ।
यो वा त्यो अनेक कारणले नेपालीहरू नेपाल छोड्दैछन्। छोड्ने मात्र हैन, नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता नै लिइरहेका छन्। यो क्रम अब चाहेर पनि रोक्न सम्भव छैन। बढीमा गर्न सकिने भनेको उनीहरूलाई नेपालसँग जोडिराख्ने हो। त्यसका लागि संविधानमै गैरआवासीय नेपाली नागरिकताको व्यवस्था छ। तर, यतिका वर्ष बितसक्दा पनि उचित कानूनी व्यवस्था गर्न सकिएको छैन।
केही समय अगाडि गरिएको नागरिकता ऐन संशोधन पनि बाँदरको पुच्छर लौरो न हतियार जस्तै भएको छ। बाहिरिएका नेपालीलाई भावनात्मक रूपमा नेपालसँग जोडिराख्ने हो भने गैरआवासीय नेपाली नागरिकता दिनुको विकल्प छैन। हैन भने संविधान संशोधन गरेर नेपालसँगको सबै सम्बन्ध नै सकिदिए हुन्छ। अब यसमा थप ल्याङ्ल्याङ् गर्न जरुरी छैन।
म यिनै कुराहरूलाई केन्द्रविन्दुमा राखेर लेखिरहन्छु। यसो गर्दा मैले कसैप्रति आग्रह पूर्वाग्रह राखेको हुन्न। हो, ओली र रवि समस्या हुन्, समाधान हैनन् भन्दा तत्तत् पक्षको क्रोधको पारो चढ्ला। तर, प्रश्न पात्रका रूपमा उनीहरूसँग हैन, प्रवृत्तिसँग हो। यो प्रवृत्ति नेपाल र नेपालीका लागि अहितकर त छ नै, ती दलको स्वस्थ जीवनका लागि पनि घातक छ। त्यसैले यो कुरा प्रकारान्तरमा ती दलका लागि पनि कोरामिन हुन सक्छ।
.........
अमेरिकामा नेपाली
यो त जन्मदेशको कुरा हो, घरदेश अमेरिकाका बारेमा पनि म केही लेखिरहन्छु। मैले लेख्ने थोरै विषयमध्य शीर्ष विषय हो अमेरिकामा रहेका नेपालीहरू। यहाँ मूलतः दुई किसिमका नेपाली छन्, नेपाली नागरिकता मात्रै भएका नेपाली र अमेरिकी अंगिकृत नागरिकता लिएका नेपाली। अमेरिकी सन्दर्भमा भन्दा पहिलो थरी हाइफनविहीन नेपाली हुन् भने दोस्रो थरी हाइनवाला नेपाली अर्थात् नेपाली–अमेरिकी। धेरैजसो नेपालीहरूले यी फरक कुरालाई मिसाएर क्वाँटी–नेपाली बनाउन चाहन्छन्।
म त्यो कुरामा सहमत छैन। मेरा लागि यी दुई नितान्त फरक हुन्। हाइफनविहीन नेपालीको देश नेपाल हो भने हाइफनवाला नेपालीको देश अमेरिका हो। देश फरक भएपछि व्यवहार पनि त्यही अनुसार हुनुपर्छ।
हाइफनवाला नेपालीले अमेरिकी नागरिकताको सपथ लिँदा हात उठाएर खाएको ‘लोयल्टी’को कसम पूरा गर्नुपर्छ। हाइफन नभएका नेपालीले नेपालप्रतिको दायित्व पूरा गर्नुपर्छ। भनाइ नै छ, हरेक सभ्य नागरिकको उसको देशप्रति निश्चित जिम्मेवारी हुन्छ।
नेपालले पनि दुई फरक परिचय बोकेका नेपालीलाई एउटै ढाकीमा हालेर व्यवहार गर्नु हुँदैन। नेपाली राहदानी बोकेका नेपाली र अमेरिकी राहदानी बोकेका नेपाली–अमेरिकी एउटै हैनन्। उनीहरूको नागरिक अधिकार, दायित्व र जिम्मेवारी नै फरक छन्। अनुहार मिलेकै आधारमा एउटै व्यवहार गर्दा अन्ततः जन्मिने भनेको दोहोरो नागरिकता र राहदानी हो। त्यसको ज्यूँदोजाग्दो प्रमाण नै रवि लामिछाने हो।
नेपाली–अमेरिकी बिस्तारै अमेरिकी मूलधारको संस्कृतिमा सम्मिलित हुनुपर्छ। त्यसको मानक भनेको राजनीति हो। र, त्यसमा पनि अमेरिकी मूलधारको राजनीतिमा नेपालीहरू कहाँ उभिने भन्ने कुरा प्रमुख हो। मलाई लाग्छ, वैचारिक हिसाबले नेपाली–अमेरिकी उभिने राजनीतिक धरातल भनेको डेमोक्रेटिक पार्टी नै हो।
तुलनात्मक रूपमा रंगको आधारमा विभेद नगर्ने र आप्रवासीमैत्री नीति अंगाल्ने यो दलसँगै हाम्रा धेरै कुरा मिल्छन्। अहिलेसम्म धेरैजसो नेपालीहरूको साइनो पनि यही दलसँग छ। तर, दुर्भाग्य पछिल्लो समय केही नेपालीहरू आप्रवासी विरोधी रिपब्लिकन दल अझ त्यसमा पनि उग्र दक्षिणपन्थी ट्रम्पका अन्धसमर्थक भएका छन्।
.......
अमेरिकी राष्ट्रपतिको चुनाव
अमेरिका इतिहासमै पहिलोपटक महिला राष्ट्रपतिका रूपमा कमला देवी ह्यारिसलाई छान्ने कि एक फेलोन राष्ट्रपतिका रूपमा डोनल्ड ट्रम्पलाई छान्ने भन्ने निर्णायक चुनावको अगाडि उभिएको छ। मेरो गृहराज्य पेन्सेल्भेनिया यस पटकको चुनावमा निर्णायक छ। प्रत्यक्ष निर्वाचित भनिए पनि अमेरिकामा धेरै मत ल्याउने हैन, २७० कलेज इलेक्ट्रोल मत ल्याउने उम्मेद्वार राष्ट्रपति चुनिने अनौठो चलन छ।
अहिलेको स्थितिमा कमलाको पक्षमा नीला राज्य भनिने डेमोक्रेट्स बहुल राज्यको २२६ कलेज इलेक्ट्रोल मत र ट्रम्पको पक्षमा राता राज्य भनिने रिपब्लिकन बहुल राज्यको २१९ कलेज इलेक्ट्रोल मत निश्चित छ। जीतका लागि ह्यारिसलाई थप ४४ र ट्रम्पलाई ४९ कलेज इलेक्ट्रोल मत चाहिने हो।
पेन्सेल्भेनियाको कलेज इलेक्ट्रोल मत १९ छ। र, यो राज्यमा नेपाली भाषी भुटानीसहित नेपाली–अमेरिकी मतदाताको संख्या ५५ हजारभन्दा बढी छ। हारजीतका लागि यही मत निर्णायक छ। यही मतलाई अमेरिकाको ४७औं राष्ट्रपतिको निधो गर्ने मत भन्दा पनि हुन्छ।
यो चुनावमा हजारौंको संख्यामा नेपाली–अमेरिकीले मतदान गर्दैछन्। म पनि पेन्सेल्भेनिया राज्यबाटै अमेरिकी राष्ट्रपति निर्वाचनमा पहिलोपटक मतदान गर्दैछु। म यसपटक कमला ह्यारिसलाई मतदान गर्दैछु। मलाई विश्वास छ, मेरो एक मतले अमेरिकामा पहिलो महिला राष्ट्रपति दिन सक्छ।
एक भारतीय मूलकी आमा र अफ्रिकी मूलका बाबुकी छोरी कमला वर्तमान उपराष्ट्रपति हुन्। उनको पक्षमा पहिलो अमेरिकी उपराष्ट्रपति महिलालगायत अनेकौँ कीर्तिमान छन्। मिडल नेम नै देवी भएकी कमला अमेरिकाको पहिलो राष्ट्रपति महिला भएर इतिहास बनाउन सकुन्।
देवीको पूजा आराधना गरिने दशैको बेला कमला 'देवी'लाई यही नै शुभकामना।
बिट मार्नुअघि...
दशैं भन्ने बित्तिकै परदेशमा बस्ने नेपालीलाई एक किसिमको ऐठन लाग्छ, त्यसमाथि पनि देशमा दुर्दशासँगै आएको दशैंले त पीडाको पारो नै बढाउँछ। यसपालिको दशै त्यस्तै छेको पारेर आएको छ। बाढी पहिरोले सयौको ज्यान लिएको छ, हजारौको उठिबास लगाएको छ । यस्तो बेला लेख्न नसकिने रहेछ शुभकामना ! त्यसैले माफ गर्नुहोला, यसपालिको दशैंमा लेख्न सकिएन है शुभकामना !