उपराष्ट्रपति पदका लागि मतदान सुरू

उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा अहिले १० बजेदेखि मतदान सुरु भएको हो।

संघबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादव र प्रदेश सभाबाट नेकपा (एमाले)का राजेन्द्रसिंह रावलले पहिलो मतदान गरेका छन्।

संघ र प्रदेशसभा सदस्यका लागि बेग्ला–बेग्लै मतदान केन्द्र कायम गरिएको छ। निर्वाचनमा नेकपा (एमाले) बाट नेतृ अष्टलक्ष्मी शाक्य, जसपाका नेता रामसहायप्रसाद यादव र जनमत पार्टीकी नेतृ ममता झा उम्मेदवार छन्।

निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभातर्फ पाँच सय ५० मतदाता कायम छ।

मतदानका लागि मतदाता बिहान नौ बजेदेखि नै मतदान केन्द्र अगाडि पङ्क्तिबद्ध भएका छन् भने उम्मेदवारहरू पनि मतदान केन्द्रमा आइसकेका छन्।

मतदान दिउँसो ३ बजेसम्म सञ्चालन हुने र मतदान सकिनासाथ मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2023-03-17 10:26:00

प्रतिकृया दिनुहोस्