दसैंको ‘दशा’मा रमाइरहेको कर्णाली

Break n Links
Break n Links

भदौरे झरी छुटेर जाँदा असोजमा नौलो रङ्ग छाउँछ, ठूलाको हात सानाको माथ आशीष दिँदै दसैं आउँछ.....!

जब यस्ता शब्दहरूले भरिएको मुग्लान चलचित्रको गीत बज्न थाल्छ तब हरेक वर्ष झैँ पुनः घुमिफिरी भित्ते पात्रो पल्टिँदै दसैं आएको अनुभूति हुन्छ।

भदौरे झरीसँगै वर्षा ऋतु  छुटेर जान्छ अनि असोजमा नयाँ रङ्ग छाउँदै आउँछ तब परदेशी जीवन व्यतित गर्नेहरूलाई घरको यादले सताउन थाल्दछ।

नसताओस् पनि कसरी गाउँमा ती बुढा आमाबा अनि आफन्तहरू परदेशी घर आउने  आशामा औंला भाँच्दै  परदेशी आउने दिन गनेर बाटो कुरेर बसेका हुन्छन्।

यो वर्ष पोहोर परहारका वर्ष जस्तो  त्यति रमाइलो तथा बजारमा खासै चहलपहल भने भएको छैन  किनकी चाडपर्व नजिकिए  पनि हालका दिनहरूमा वर्षा, बाढी र पहिरोले हाम्रो देशका विभिन्न स्थानहरूमा ठूलो जनधनमा क्षति पुर्‍याएको छ। यस प्राकृतिक विपत्तिले हजारौं परिवारलाई प्रभावित पार्दै, घरबारविहीन बनाएको छ।

दसैं र तिहार जस्ता चाडपर्वहरु नजिकिएसँगै, मानिसहरूले घर जाने तयारी गरिरहेका छन्, तर खराब मौसम र भौतिक संरचनाको अव्यवस्था त्यसमा ठूलो अवरोध बनिरहेको छ।

बाढी र पहिरोका कारण प्रमुख मार्गहरूमा गाडी चल्न सकेका छैनन्। यसले गर्दा ग्रामीण क्षेत्रका मानिसहरूलाई घर फर्किन, विशेष गरी दसैं मनाउनमा ठूलो समस्या परेको छ।

अझ भन्नु पर्दा आफ्नै देशभित्र पनि परदेशी बन्न पुगेका हामी कर्णाली बासीहरुलाई पनि दसैं र तिहार  आएसँगै कसरी सुरक्षित तरिकाले आफ्नो घर पुग्ने भन्ने कुराले पिरोली रहेको छ।

आफ्नो गाउँ घर  पुग्ने यात्रा कठिन रहेको र कर्णाली राजमार्ग पनि बेलाबेला पहिरोका कारण बन्द भएको कुराले घर जाने की नजाने भन्ने कुरामा दोधार छ। नजाऊँ भने वर्षदिनको चाडपर्व जाउँ भने कर्णाली राजमार्गको कष्टकर यात्रा गर्नु पर्दाका कथा अनि व्यथा सम्झेरै परदेशीको मनमुटु पिरोलिरहेको छ।

दसैं र तिहार जस्ता पर्वहरूको समय भनेको परिवारसँग मिल्न, खुसी बाँड्न र सांस्कृतिक परम्परालाई सम्मान गर्ने  समय हो। तर कर्णालीका जनताले घर जाने क्रममा भोग्नुपर्ने कठिनाइहरूले यो रमाइलो समयलाई खल्लो बनाई दिन्छ।

हवाईजहाजमा जान ‘पावर’ पुग्दैन जहाँ सदियौंदेखि चल्दै आएको चलन फोन तथा भनसुनकै आधारमा दलालहरुले टिकट बेच्ने पद्धति हावी हुन्छ। निमुखा सोझा जनताले हवाइजहाजको टिकट पाएर यात्रा गर्न पाउनु भनेको आकाशको फल आँखा तरी मर भने झैं हो।

अझ दसैं तिहार जस्ता प्रमुख पर्वहरूको मुखैमा जहाजहरू पूर्वतिर जाने र कर्णालीमा एउटा पनि जहाज नहुने हुँदा झन् समस्या हुने गरेको छ। यसले गर्दा हवाई जहाजका व्यवसायीहरु पनि सेवा मुखी भन्दा पनि पैसा मुखी भएको प्रष्ट देखिएको छ।

अर्को तर्फ भएको एउटा नेपाल वायुसेवा निगम को जहाजले पनि कर्णालीका दुर्गम जिल्लामा हप्ताको एकदिन उडान गरेपनि टिकट पाउन मुश्किल छ।

नेपाल वायुसेवा निगमको  टिकट पाउनु हात्तीको दाँत जस्तै भएको छ। देखाउने एउटा र चपाउने अर्को जस्तै। भन्ने बेला अनलाइन टिकट छ भन्ने तर भित्रकै निगमका कर्मचारीले आफूले चाहेका व्यक्तिको नाम राखी आफूखुसी कृत्रिम टिकट प्याक बनाएर  ५ मिनेट मै टिकट नभएको देखाउँछन्। यति मात्र कहाँ हो र टिकट बुकिङ गर्न खोज्दा पुग्ने जिल्लाको नाम समेत सेकेण्ड भरमै हराउँछ।

यस्तो कालो बजारी सदियौं देखि चल्दै आएको छ। सरकार वाला यस्तो कुराको जानकार हुँदाहुँदै पनि तै चुप मै चुप भनी बसेका छन्।

विकल्पको रूपमा कर्णाली राजमार्ग हुँदै घर पुग्न सकिने भएता पनि यो राजमार्गको  जीर्ण र कष्टकर यात्रा देख्दा डरले जो कोहीको मुटुले ठाउँ छोड्छ।

माथि हेर्‍यो बाँदर लड्ने भिरालो पहाड तल हेर्दा सिधै कर्णाली नदी अनि  बीचमा साँघुरो बाटोमा यात्रा गर्दा  मै हु भन्नेहरुको पनि मुटु कम्पायमान हुँदै भगवानको नाम जप्दै आफ्नो कुलदेवताको नामलिदै भगवान भरोसामानै कर्णालीका जनताहरू दशकौं देखि दुःख कष्टपूर्ण कर्णाली राजमार्गको यात्रा गर्न बाध्य छन्। 

चाडपर्व नजिकिएसँगै कर्णाली राजमार्गमा यात्रा गर्नेहरूको संख्या बढ्दो छ।बर्खा यामको झरी तथा बाढी पहिरोले गर्दा राजमार्गका कैयौँ ठाउँहरू बगाएको छ, भत्काएको छ र बिगारेको छ।

कर्णाली राजमार्गमा यात्रा गर्ने जो कोही यात्रीहरूले भोगेका दुःख र पीडाहरू सुनेर र भनेर साध्य छैन होला सायद। अझ भन्नुपर्दा चाडपर्वको मुखैमा कर्णाली राजमार्ग बाढी पहिरोका कारण तीन चार दिन नै बन्द हुने गरेको छ।

यो साल पनि पहिलेको सालझैँ कर्णाली राजमार्गको दयनीय अवस्था दोहोरिएको  छ। बाटोमा यात्रा गर्ने यात्रुहरूको विचल्ली भएको छ भने कर्णालीमा  उत्पादन भएका स्याउ तथा अन्य फलफुलहरू बाटोमै कुहिएका छन्।

योभन्दा अघिल्लो वर्ष मात्रै कर्णाली राजमार्ग बिग्रिँदा करिब एक महिनासम्म बाटो बन्द भएको थियो भने कर्णालीबासीहरूले निकै सास्ती खेप्नु परेको थियो। न गुडेर जानलाई बाटो खुलेको थियो न हवाईजहाजमा जानलाई मौसम नै खुलेको थियो।

न त आफ्नो आफन्तहरूलाई चाडपर्वको शुभकामना दिनलाई सञ्चारका माध्यमहरू सञ्चालन भएका थिए। न त विद्यार्थीहरु  परीक्षामा सामेल हुन सकेका थिए। न त झिलिमिली हुने दसैं र तिहार जस्ता चाडपर्वहरूमा बत्ती बाल्न पाइएको थियो।

यस्ता समस्याहरू कर्णालीबासीहरूका लागि नौला भने होइनन्। दशकौं देखि भोग्दै आएका समस्याहरु हुन। जुन जोगी आएपनि कानै चिरेका भनेझै कर्णालीका यस्ता दयनिय पीडामा मलम लगाउन कसैले पनि सकेका छैनन्।

राज्य सञ्चालन गर्ने रैतीहरूले न कर्णालीको पीडा देख्छन् न कर्णालीको पीडालाई महसुस गर्छन्। केवल कर्णालीबासीहरूलाई आफ्नो आवश्यकता अनुसार प्रयोग मात्र गर्छन्।

दसैं र तिहार, नेपाली संस्कृति र परम्पराको महत्वपूर्ण चाडहरू हुन्। यी चाडहरूमा परिवार र साथीभाइका साथ एकत्रित हुने अवसर हुन्छ। तर कर्णालीका जनताले यो अवसरको महत्त्वलाई गुमाउनु परेको छ। घर नपुग्नाले परिवारसँगको सम्बन्ध र चाडको मौलिकता कमजोर बनेको छ। चाडको दिनमा नाता-रिश्तेदारहरूसँग सँगै हुने पलहरू धेरैको लागि अनमोल हुन्छन्, तर यात्रा समस्याका कारण यो सुखद अनुभूति गुम्न पुगेको छ।

यस्तो अवस्थामा, सरकार र सम्बन्धित निकायले तत्काल कदम चालेको खण्डमा मात्र कर्णालीका जनतालाई यस कठिनाईबाट मुक्त गर्न सक्छ। कर्णाली राजमार्गको मर्मत र हवाई यात्रामा सुधार ल्याउनु अति आवश्यक छ। यहाँका सडकको मर्मतमा प्राथमिकता दिनुपर्छ र हवाई यात्रा सुविधाको विस्तार गर्नुपर्ने आवश्यकता छ। यसका लागि ठोस योजना र कार्यान्वयनमा तत्परता अपनाउनु पर्छ।

साथै, स्थानीय तहले पनि नागरिकको आवाजलाई सुनिदिनु आवश्यक छ। चाडपर्वको समयमा यात्रा गर्ने जनतालाई सहयोग पुर्‍याउनका लागि स्थानीय सरकार र गैरसरकारी संस्थाहरूले सहकार्य गर्न आवश्यक छ।

कर्णालीका जनताको जीवनमा चाडपर्वको महत्त्व ठूलो छ, तर सडक र हवाई यात्रामा रहेका समस्याले यसलाई धुमिल बनाउँछ। कर्णाली राजमार्गको बिग्रँदो अवस्था र हवाई टिकटको कमीले गर्दा यस वर्षको दसैं र तिहारमा कर्णालीका जनताले भोग्नु पर्ने दुःख अत्यन्तै गम्भीर छन्।

अन्त्यमा यस्ता समस्याहरूबाट जोगिनका लागि ठोस कदम चालेको खण्डमा मात्र भविष्यमा यस्ता समस्याहरूलाई समाधान गर्न सकिन्छ। कर्णालीको समृद्धि र विकासका लागि यहाँका जनताको समस्याको सुनुवाइ हुनु आवश्यक छ, ताकि उनीहरूको जीवनमा चाडपर्वको उत्सवले पुनः हरियाली ल्याउन सकियोस्।

प्रकाशित मिति: : 2024-10-11 08:03:00

प्रतिकृया दिनुहोस्