बिहान गिडीदह मुधुरो थियो। इच्छा नभइ बिहे गरिदिन लागेकी बेहुली जस्तै। वडाध्यक्ष अमरबहादुर रोकाया चम्किला थिए। बिहानै ब्युँझिएर कार्यक्रमको चाँजोपाँजो मिलाउन लागिरहेका थिए। उनमा एउटा हुटहुटी थियो, कसरी हुन्छ गिडीदहलाई एक सुन्दर पर्यटकीय गन्तव्य बनाउने।
गिडीदहामा जमेको पानीको सतह हल्दिँदै थियो। मन्द रेक्टर स्केलको भुँइचालोले हल्लाएजस्तै। हल्लिएको पानी चम्किरहेको थियो, मोतीका दानामा घामको किरण परेजस्तो। लाग्थ्यो, कर्कलाको पातमा सितको थोपा अडिएको छ, ढलपल गर्दै।
नजिकै किरनारमा गयो भने भरिएको गाग्री छचल्किएजस्तै तालले छाल हानिरहेको थियो। एकाएक नामी गायक हुन मन लागिहाल्यो।
छलछल छल्क्यो पानी, पानीझैं छल्क्यो जवानी…
छलछल छल्किरहेको छालको तालमा कम्मर मर्काउन मन लाग्यो। गिडीदहको किनारमा नामी गायक र नाच्नमा सिपालु आफैँ हुँ जस्तो भान दियो।
हाय प्रकृति! उसको संगीतमा हाम्रो गीत।
बिहान गिडीदहलाई कसरी प्रचार गर्न सकिन्छ भन्ने विषयमा छलफल हुने थियो। अर्थात् गिडीदह सम्मेलनको औपचारिक कार्यक्रमको तयारी हुँदै थियो। चार नम्बर वडाका सचिव टिकाराज न्यौपाने र अध्यक्ष त्यसैको तयारी गरिरहेका थिए।
हामीलाई भने दहको माथिल्लो किनारसम्म पुग्नु थियो। माथिल्लो किनारसम्म पुगिएन भने त्यति दु:ख गरेर गिडीदह पुगेको मजा आउनेवाला थिएन। मान्छे टाढाटाढाबाट पर्यटकीय स्थलसम्म घुम्न आउँछन्। मस्तै खर्च गर्छन्। हामी भने आफ्नै घर आगनको आकर्षक पर्यटकीय गन्तव्यसम्म पुग्न सकेका थिएनौं।
धेरैले नाममा सुनेको र जीवनकालभरि नपुगेको गिडीदहमा हामी कत्रो साहस जुटाएर पुगेका थियौं। त्यस्तोबेला थोरै अल्छी गरेका कारण माथिल्लो किनारसम्म जान सकिएन भने अर्कोपालि के हो कसो हो? पुगिन्छ पुगिँदैन? सधैंभरि थकथक लाग्नेवाला थियो।
अघिल्लो साँझ वडाध्यक्षले माथिसम्म पुग्ने साथी जुटाउँला भनेका थिए। स्वयंसेवक दर्शन रोकायाले कोही नगए आफैँले माथिसम्म लिएर जाने बचन दिए। मेरो एउटै उदेश्य थियो, जसरी हुन्छ माथिल्लो किनारसम्म पुगेर फर्किने।
बिहान पत्रकार साथीहरूलाई माथि जाउँ भन्दा कोही तयार भएनन्। स्वयंसेवक दर्शन रोकाया र कौरव पाण्डे तयार भए। रोकायाले वचन पूरा गरे। खुसी लाग्यो। उनी बचनका पक्का रहेछन्। अब कर गर्न सकिने एकजना मात्रै थिए, किरण चौलागाईं। उनी तयार भएपछि हामी चार जना माथिल्लो किनार जाने भनेर हिड्यौं। यता कार्यक्रमको तयारी हुँदै थियो। कार्यक्रम सुरु हुनेबेलासम्म फर्किजाउँला भन्ने थियो।
यतिन्जेल उज्यालोको साम्राज्य सुरु भइसकेको थियो। गिडीदहको चमक बदलिँदै थियो। गिडीदहबारे गाउँघरमा सुनिने अनेक किस्साहरुमा रंग बदल्नु पनि एक थियो। अर्थात् गिडीहदले रंग फेर्छ। दहको रंग बदल्ने काम त्यहाँका भूतले गर्छ। यस्तै–यस्तै…
तर बिहान, साँझ र दिउसोमा झुल्किने घाम छाया, हावा, पानी र बादलका कारण गिडीदहको रंग बदलिने रहेछ। प्रकृतिको कला अपरम्पार। जे होस् हामीले गिडीदहका भिन्नभिन्न रुप हेर्न पाएका थियौं। आँखाहरु पवित्र भएका थिए।
अब गिडीदहको रुप मन खाएको केटासँग बिहे गर्न पाएको जस्तो थियो। जस्तो गिडीदहको रुप, उस्तै हाम्रो मन। मन परेकी युवतीलाई झैं हेरिरहेका थियौँ, एकोहोरो। गजक्क परेको गिडीदह, मख्क परेका हामी। रुप हेर्दै अघि बढ्यौँ। आँखामा आँखा जुधाएजस्तो।
बाटो अप्ठ्यारो थियो। अप्ठ्यारो थियो के भनौँ बाटो नै थिएन। बीचबीचमा हिँड्ने ठाउँ नै छैन जस्तो लाग्थ्यो। स्वयंसेवक फिर्ता भैजाउँ भन्थे। म जिद्दी गरेर माथि गैजाउँ भन्थेँ। अनि फेरि उनीहरू उक्लिन तयार हुन्थे। आज्ञाकारी छात्र जस्ता उनीहरू अगाडि अगाडि बाटो बनाउँथे। हामी उनीहरूका पाइला टिप्थ्यौँ।
बाख्लो निगालाको झार, भुइँमा लागेको लेउ, नरम जुत्ताका सोल। खुट्टा खुब चिप्लिन्थे। कतिबेला लाग्थ्यो चिप्लिएर दहमै चोबलिने त होइन? निकै संयम भएर हिँड्नुपर्थ्यो। बीचबीचमा भएका अग्ला ओडारबाट गिडीदहलाई पृष्ठभूमि बनाएर फोटो खिचिरहन्थ्यौँ। जति माथि हिँड्यो उति ताल ठूलो लाग्दै जान्थ्यो। गिडीदहको रुप झनझन् चञ्चल हुँदै गइरहेको थियो। कुरकुरे बैँस आएका युवा युवती जस्तै।
ड्रोनबाट खिचेको फोटो र अग्लो ठाउँबाट हेर्दा गिडीदह लामो आकारको छ भन्ने लाग्थ्यो। नजिक पुगेपछि फराकिलो पनि उत्तिकै रहेछ। जुम्ला जिल्लाको विशाल तालको बीच भागमा पुग्दा त आफू खास हुँ लागिरहेको थियो। हाम्रो यात्रा गोडेनमा भएका साथीहरूलाई छोडेर तालको सिरानीसम्म पुग्ने थियो। नाक यसै ठूलो भैगयो।
घना जंगलमा थार, घोरल, नावर, रतुवालगायतका मृग, चरी बाग र भालु जस्ता जनावर, डाँफे, कालिज, फग्रास जस्ता पंक्षीहरू पाइन्छन्। चराचुरुङ्गीहरुको गन्ती छैन। विष पनि चुसेर स्वस्थ्यकर मह बनाउन सक्ने मौरी पनि त्यतैबाट फैलालिन्छन्। मेसिला मान्छे कहिलेकाहीँ जंगलमा मह भेटाउँछन्।
भालुले रुखको फेद कोतरेको भेटियो। दर्शन र कौरवले नियालेर हेरे। अनुहार चम्किलो भयो। मुसुक्क मुस्कुराए। मतलब गिडीदह मध्य किनारले निम्तो दियो। महको संकेत मिल्यो। आउँदा नभुलियोस् भनेर संकेत बनाए। हामी लाग्यौं गिडीदहको सिरानतिर।
अघिल्लो दिन नदीमा रुखको पुल बनाउन जोखिम मोलेर डरलाग्दो भेलमा छिरेका कौरव पाण्डे साँच्चिकै साहसिक लागेका थिए। आज लाग्यो हामीले उनको स्थान लियौं। उनको कद अग्लियो।
जडीबुटी कोर्न, घोडी खोज्न र मौका परे सिकारसमेत खेल्न आउने स्वयंसेवकसँग एकछिन गफियौँ। उनीहरूले आफ्ना अनुभुति सुनाए। मैले तीनै जनालाई गिडीदहको सम्भावनाबारे बोल्न लगाएँ। उनीहरुले आगामी दिनमा पर्यटक भित्र्याउने सकिए गिडीदहको महिमा बढेर जाने बताए। त्यही मौकामा मैले एउटा भिडियो ब्लग बनाएँ। दश मिनेटको बनेछ। फर्किएपछि कोसेली पब्लिस भयो।
तल्लो किनारबाट माथिल्लो किनार जान एक घण्टा बढी लाग्यो। यसबाट पनि अनुमान लगाउन सकिन्छ कि ताल कति ठूलो छ भन्ने कुरा। माथिल्लो किनारमा पनि एउटा नदी नै रहेछ। मतलब गिडीदहको स्रोत दुईवटा नदी। दुबै नदीमा वर्षामा ठूलो बढी आउँछ। यसले दहको केही भाग पुरिदिने रहेछ। विस्तारै तालको आकार साँघुरिने सम्भावना पनि छ।
पाका पुस्ताको कुरा सुन्दा माथिल्लो किनारमा पनि ठूलो ताल थियो। वर्षमा आउने पानीकै कारण त्यो पुरिँदै गयो। दुईवटा नदी र अरु सानातिना खोलाले ताल बनेको छ। तालबाट एउटा नदी नै निस्कन्छ। जसको नाम हो, गिडीसोभा नदी। दिउसोको हावा चल्दा चञ्चल देखिने ताल बिहान साँझ शान्त देखिन्छ। वर्षामा त्यही तालबाट निस्कने भलले वडा नम्बर–४ मा बबन्डर मच्चाउँछ।
केहीबेरको दृश्यावलोकनपछि हामी फिर्कियौँ। हाम्रो निम्ति भनेर कार्यक्रम आधा घण्टा ढिलो गरिएछ। फोनका लागि नेटवर्क थिएन। बोलाएर सुनिनेवाला थिएन। धेरैले सिटी हालेछन्। सिटीको स्वरभन्दा बीचबीचका खोलाको सुसाहट कयौँ गुणा ठूलो थियो। हामी त्यहाँ पुगुन्जेल गिडीदह सम्मेलनको कार्यक्रम आधाउधि सकिसकेको थियो।