१२औँ राष्ट्रिय जनगणना

१२औँ राष्ट्रिय जनगणना: चितवनमा २१० सुपरीवेक्षक, ८६७ गणक

File Photo
File Photo

राष्ट्रिय जनगणनाको १२औँ संस्करण आजदेखि सुरू भएको छ। जनगणना कार्यालयले खटाएका गणक र सुपरीवेक्षक आजदेखि ९ मंसिरसम्म घरघरमा खटिनेछन्।

जनगणना कार्यालय चितवनका सूचना अधिकारी अर्जुन अधिकारीका अनुसार चितवन जिल्लामा दुई सय १० जना सुपरीवेक्षक तथा आठ सय ६७ गणक खटिएका छन्। उनीहरूले घरघरमा पुगेर विवरण संकलन गर्नेछन्। यसवर्षको जनगणनामा चितवन जिल्लामा जनसंख्या वृद्धि हुने अनुमान गरिएको छ।

जिल्लामा सात वटा स्थानीय तहमा स्थानीय जनगणना कार्यालय स्थापना गरेर काम गर्दै आएको छ। जिल्ला कार्यालयसहित भरतपुरमा एउटा, गीतानगर, चनौली–नयाँबजार, राप्ती र खैरहनीको संयुक्त रूपमा काम गर्ने गरी भण्डारामा, रत्ननगर, कालिका र इच्छाकामनामा काम गर्ने गरी रेडक्रसग्राममा र माडीमा कार्यालय स्थापना गरेर काम गर्दै आएको उनले बताए।

३० भदौदेखि १८ असोजसम्म सुपरीवेक्षकले संकलन गरेको विवरणलाई आधार मान्दा यसपटक चितवनको जनसंख्या करिब सात लाख ३० हजार पुग्ने अनुमान गरिएको छ। ‘सुपरीवेक्षकहरूले संकलन गरेको विवरणअनुसार  १० वर्षमा चितवनमा घरधुरी संख्या बढेर करिब एक लाख ८० हजार पुगेको छ,’ अनुमानित तथ्यांकबारे जानकारी गराउँदै उनले भने। २०६८ सालमा चितवनको जनसंख्या पाँच लाख ७९ हजार नौ सय ८४ थियो।  

प्रकाशित मिति: : 2021-11-11 15:41:00

प्रतिकृया दिनुहोस्