म बिहानै उठेर हिँड्दै विजय होटलतर्फ गएँ। वन कार्यालय विमानस्थल भन्दा तल्लो भागमा पर्थ्यो भने होटल माथिल्लो पट्टि। हल्का उकालो। हिँड्दा जीउ तातिने। चिसाे हिमाली भेगमा हिँड्नुकाे मजा यही हाे।
मैले साँझ याेजना बनाइसकेको थिएँ। योजना के थियो भने टोलीलाई कार्यक्रम सकेर सुर्खेत पठाइसकेपछि म ४-५ दिन हिँडेर लिमी, लाप्चा पुग्ने। म यो यात्रालाई डोल्पा भन्दा कम रोमान्चक बनाउन चाहन्न थिए। यसैपनि म हिँडडुल गर्न रुचाउने मान्छे।
बिहान विजय होटलमा चिया खाँदै गर्दा एउटा सुचना पाइयो। भर्खरै कैलाश दर्शनबाट फर्केका सद्गुरुलाई मुक्तिनाथ दर्शन गर्न जान दिइएको रहेनछ। कारण कोरोनाले गर्दा त्यहाँको स्थानीय तहले आवतजावतमा रोक लगाएको रहेछ।
यो कुरा थाहा पाइसकेपछि सचिवजीले यता उता फोन गर्नुभयो, सद्गुरुलाई नेपालमा कसले व्यवस्थापन गरिरहेको छ? यससँग सम्बन्धित पक्षको जानकारी लिने कार्य भयो।
सचिव ज्यूले गृह सचिवसँगको कुराकानीमा यदि सद्गुरुले रिसेडुअल गर्न सक्ने भए मुक्तिनाथ दर्शनमा सहजीकरण गर्ने बताउनुभयो।
मैले यस विषयमा फेसबुकमा इशा फाउन्डेसन लगायत यस भ्रमणसँग कोही जोडिएको छ कि भन्दै सहयोग ट्वीट गरेँ। लगत्तै @KTMite ह्यान्डल गरेका एक जना मित्रबाट सद्गुरुको यो यात्रा चलाउने कम्पनीको एमडी अर्थात् जितेन्द्र बस्नेतको फोन नम्बर प्राप्त भयो र मैले फोन गरी गृहसचिवको सूचना सद्गुरुसम्म पुर्याइदिन भने र ट्वीटरमा @SadhguruJV लाई DM गरि उक्त सन्देश छोडिदिएँ।
यसपछि के भयो मलाई पनि थाहा भएन। आफ्नो काममा लगियो। चियापछि सचिव ज्यूहरु खार्पुनाथतर्फ लग्नुभयो। मेरो विजय होटल नजिकैको होटलमा भरत भिनासँग भेट भयो। साँझ उहाँकै नाम लिएर सुतेकाे थिएँ। बिहान भेट भयाे। अर्काे आत्मीय पल!
साविककाे एउटै अञ्चलकाे बाहिर जिल्लामा हुँदा त यती आत्मीय अनुभूति हुने रहेछ भने देश छाेडेर गएकाहरुकाे एकै ठाउँमा भेट हुँदा कस्ताे हुँदाे हाे? सम्झिदा पनि ऐठन हुन्छ।
उहासँगै मुगु, हुम्ला लिंक रोड (MHLR, RAP3) का आयोजना प्रमुख विष्णुराम विष्ट सर, MHLR आयोजनाका डोर श्रेष्ठ, पदम सर लगायतसँग चिया गफ भयो।
उहाँहरु पनि त्यो दिन लिमी जाने योजनामा हुनुहुँदोरहेछ। अब सँगै जानुपर्छ भन्ने कुरा भयो। म हेलिकप्टर भन्दा हिँडेरै जानपाए हुन्थ्यो भन्ने मनस्थितिमा थिएँ।
हामी सबैजना चिया खादै लोक जंग दाइ, प्रविन भाइ भएको अर्को चिया खाने पसलमा पस्याैँ। चिया खादै गर्दा लोकराज न्यौपाने दाजुसँग पनि भेट भयो। चिया पसल आत्मीय भेटघाट, मिठा गफ र भेटघाटका चाैतारी हुन्। हुम्लाले पनि याे संस्कारको विकास राम्रोसँग गरेकाे छ।
बस्दा बस्दै ४-५ कप चिया, सु-च्या खाइयो। भर्खरै बडीमालिकाबाट पैदल यात्रा गर्दै हुम्ला पुगेका एक जना जोगीले कागजमा केही लेखेर (मौन ब्रत लिनु भएको) दिइरहनु भएको थियो। जसमा नेपालको सीमा मिचिएका सन्देशहरु थिए।
चिया खाँदै गर्दा थाहा भयाे लोकजंग दाइ, प्रविन भाइ पनि कैलाश जाने तयारीमा हुनुहुदो रहेछ। ल अब सबै सँगै जानुपर्छ रमाइलो गर्दै भन्ने कुरा भयो। बिहानको खाना डीएफओ क्वाटरमा तय भएकोले उतै लागियो।
केहिबेरमा अर्को सूचना पाइयो कि हुम्ला घुम्न भनेर नेपालगन्जबाट (अमेरिकाबाट) रेणुका म्याडमका छोरा (बिपुल पौडेल) र भाइ (प्रशान्त न्यौपाने) आउँदै हुनुहुँदो रहेछ र सँगै पल शाह र दुर्गेश थापा पनि।
पछि थाहा भयो कि अघिल्लो साँझ हाम्रो टोली बसेको होटल दुर्गेश थापाको ससुरा बाको पो रहेछ। अर्थात् विजय लामा दाइको। करोडौंका मालिक भएपनि शालीन, नरम, सरल र भद्र हुनुहुन्छ विजय दाइ।
खाना खाइसकेपछि म, बसन्त भाइ र नन्द भाइ बिमानस्थलतर्फ लाग्यौं। बाटोमा लोकजंग दाइको घरमा पसियो। हसिलो, मिजासिलो, रमाइलो हुनुहुँदो रहेछ लोकजंग दाइ, मन परेको मान्छेको लागि जे पनि गर्ने।
उहाँको घरमा चिया खाँदै यात्रा बारे थप छलफल भयो। हेलिकप्टरमा बढीमा ५ जना अटाउने हुँदा ३ ट्रीप गर्नुपर्ने थियो। हेली ईन्धन लिन ताल्चा गएकोले फर्किन केही समय लाग्ने भयो।
त्यतिन्जेल गफ गर्दै, रमाइलो गर्दै बसियो। अन्तत: साढे बाह्र बजे हेली सिमिकोट आइपुग्यो। सिम्रिक एयरको।
अब उडान सुरु हुँदै गयो। पहिलो लटमा लोकजंग दाइ, भरत भिनाको टोली उड्यो। सल्लाह के भयो भने अगाडि गएको टोलि तुलुङ्ग/तुम्लिङ्ग मा रोकिने र सबै आइसकेपछि मौसम अनुकुल आज वा भाेलि कैलाश दर्शनको लागि लाप्चा जाने।
एकपटक हेली तुलुङ्ग पुगेर सिमिकोट फर्किन ४० मिनेट जति लाग्थ्यो। दोश्रो लटमा रेणुका म्याडम र प्रविन भाईहरु उडे। म भने सचिव ज्यूहरु खार्पुनाथ गएकोले आउन ढिला पनि हुने हिसाबले तेश्रो लटमा परे। क्यै नभनी चुपचाप कुरिरहे।
मलाई कुर्दा कुनै असजिलो भएन। बरु भित्रै–भित्रै लाप्चा हिँडेरै जान पाए हुन्थ्यो भन्ने भइरहेको थियो। तेश्रो लटमा म चाहिँ तुलुङ्गमा झर्ने र सचिव लगायत हेलीबाट नै दर्शन गरेर फर्किने भन्ने थियो।
किनभने म १-२ दिन लिमितिर अल्झिन चाहन्थे। म बीचमा झर्नुपर्ने भएकोले मलाई हेलीका अन्य स्टाफले झर्दा कसरी झर्ने? झोला के कसो गर्ने? भनेर डेमो देखाउनुभयो।
तेश्रो लटमा म सुरुमै गएर हेलीमा बसिहाले, पछि के कुरा मिलेन एक जना झर्नुपर्ने भयो भन्ने कुरो आयो। यसो हेरेको मान्छे त ५ नै छौ, अगाडिसम्म ५ जना लगेकै हो। झर्नु पर्दा सचिव ज्युहरु झर्ने कुरा भएन मै झर्नु पर्थ्यो।
पंखा घुमिसकेकोले विजय दाइ मतिरको झ्यालमा आएर 'भाइ हामीसँगै पछिल्लो ट्रीपमा जानुपर्ने भयो' भन्नथाल्नु भयो। मैले नसुनेझैँ गरिरहेँ। उहाँले सचिव ज्यूलाई भन्नु भो पंखाले क्यै सुनिदैन थियाे। उहाँले पनि क्यै सुनिएन भन्नु भो र अन्तत विजय दाइले हेडफोनमा पाइलटलाई ल त ल जानु भन्नु भयो।
कुरा के भएको रहेछ भने नि मलाई अघिल्लो लटमा गइसक्यो सोचेर कृषि सचिव ज्यूको साथमा दुई जना अरु हुम्ला कृषि कार्यालयका साथीहरु आउनुभएको रहेछ। एक जना सीडीओ साप नजाने र अर्काे मलाई गईसक्यो भन्ठानेर।
अन्तत: हेली उड्यो र लागियो अनकन्टार पहाडै पहाड। पहाडको टुप्पोमा कतै–कतै पहिरो गएको, अलि खोचमा पानीले बगाएर ल्याएको गेग्रान थुनिएर ताल बनेको। यस्तै–यस्तै दृश्यको फोटो/भिडियो खिच्दै हेली ५ सेकेन्डको लागि तुलुङ्गमा ल्याण्ड गर्याे।
मलाई पाइलटले बाहिर निस्कन संकेत गर्नुभयो। म सिमीकोटमा डेमो देखाए जसरी झोला समाएर निहुरिएर फुत्त बाहिर आएँ। फर्केर सबैलाई हात हल्लाएँ। उहाँहरु हेलीबाट कैलाश दर्शन गरेर सिमिकोट फर्किनुभयो। मैले नेपालकै ठूलो गाउँपालिका नाम्खामा पाइला टेकेँ। हाय, मेरा पाइला कति भाग्यमानी!
(नाेट: कर्णाली प्रदेश उद्याेग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अधिकृत तेजेन्द्र रावलकाे लिमी यात्रा संस्मरण बिएल नेपाली सेवामा शृङ्खलाबद्ध रुपमा प्रस्तुत भइरहेको छ।) पहिलाे शृङ्खला पढ्न तलकाे लिङ्कमा क्लिक गर्नुहाेला
उत्कृष्ट लेखन शेैली,ओजीला शब्दहरु र मन लोभ्याउने सुन्दर तस्बिरहरूले हुम्ला भ्रमणको लागि जो कोहिलाई उत्साहित बनाउने छ ! पढ्दा सारै मज्जा आयो !!