स्थानीय तह निर्वाचन

स्थानीय तहको निर्वाचनबारे के भन्छन् युवा ?

स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै गाउँ–गाउँमा चुनावी चहलपहल सुरु भइसकेको छ। मुख्य राजनीतिक दलहरूले आउँदो भुइँतहको निर्वाचनलाई ध्यानमा राखेर अभियान चलाइरहेका छन्।

गाउँ तथा नगरमा उम्मेदवार बन्न नेताहरूबीच तछाडमछाड छ। उम्मेदवारबिनै युवा बोकेर आकांक्षीहरू भोट माग्न बस्ती–बस्ती छिरिरहेका छन्।

अघिल्लो निर्वाचनको तुलनामा यसपालि कैयौं युवाहरू उम्मेदवार बन्न आतुर छन्। उनीहरूले चुनावी मैदान तथा सामाजिक सञ्जालबाट प्रचार–प्रसारलाई तीव्रता दिन थालेका छन्। भलै युवा परिचालनका सकारात्मक पाटाहरू पनि छन्।

आकांक्षीसँगै चुनावका लागि मतदाताहरू पनि उत्साहित छन्। ठाउँ–ठाउँमा स्थानीय निर्वाचनको माहोल तातिरहेका बेला के भन्छन् त युवा :


प्रचारमा लाग्छु तर भोट हाल्ने सोचमा छैन– विजय घले

सिन्धुपाल्चोककाे मेलम्ची नगरपालिका–१० का ३३ वर्षीय विजय घले यसपटक स्थानीय तहको निर्वाचनमा भोट नहाल्ने बताउँछन्। चुनावमा भोट हालेर जिताएका प्रतिनिधिले गाउँमा विकास गर्न नसकेको उनको आरोप छ। त्यसैकारण विजयलाई कसैप्रति भरोसा छैन।

‘विगतमा जसलाई भोट हाल्यौँ, उनै विश्वासिलो भएनन्,’ उनले भने, ‘त्यसैले यो पटक भोट हाल्न गाउँ जान्नँ।’

उनी भोट हाल्न गाउँ नगएपनि काठमाडौंमै बसेर नेपाली कांग्रेसलाई समर्थन गर्ने बताउँछन्। ‘म भोट हाल्न गाउँ जान्नँ, तर मेरो पार्टीलाई सक्दो सर्पोट गर्नेछु,’ उनले भने, ‘चुनावमा सामाजिक सञ्जालबाट सक्रिय रहनेछु।’

उनी नेपाली कांग्रेस तरुण दल वागमती प्रदेश विभागका सदस्य हुन्। साथै विजय समाज सेवामा पनि उतिकै सक्रिय छन्। उनी गोकर्णेश्वर वागमती क्लबका अध्यक्ष समेत हुन्।

एमालेलाई जिताउन भोट हाल्छु– माधव दुलाल

सिन्धुपाल्चोककाे मेलम्ची नगरपालिका–३ का २२ वर्षीय माधव दुलाल एमालेलाई जिताउने पक्षमा छन्।

उनी एमालेलाई भोट हाल्न गाउँ जाने बताउँछन्। ‘भोट हाल्न गाउँ जान्छु,’ उनले भने, ‘एमालेलाई भोट हालेर जिताउँछु।’

पहिलोपटक भोट हाल्न लागेका माधवलाई एमालेले गाउँको विकास गर्छ भन्नेमा विश्वास छ।

‘गाउँमा विकास भइरहेको छ। तर एमाले नेतृत्वमा आयो भने सोचेभन्दा धेरै विकास हुन्छ,’ उनले भने।

गाउँमा थप विकास र समृद्धिको काम गर्नका लागि एमालेमा भोट हाल्नुपर्ने उनको तर्क छ। उनी भन्छन्, ‘मेरो गाउँको विकास हुनका लागि एमालेले जित्नुपर्छ।’ माधव राष्ट्रिय युवा संघ नेपाल सिन्धुपाल्चोकका सदस्य पनि हुन्।

२२ वर्षीया सुवेक्षा भन्छिन्– माओवादीलाई जसरी पनि जिताउनुपर्छ

सिन्धुपाल्चोककाे पाँचपोखरी थाङपाल गाउँपालिका– ७ तिपेणीकी २२ वर्षीया सुवेक्षा श्रेष्ठ गाउँ जाने तयारीमा छिन्।

उनी स्थानीय निर्वाचनमा मताधिकार प्रयोग गर्न तिपेणी गाउँ जान लागेकी हुन्। पहिलोपटक भोट हाल्न लागेकी निकै उत्साहित छिन्।

नेकपा (माओवादी केन्द्र) लाई मतदान गरेर संघीय तथा स्थानीय चुनाव जिताउन सुवेक्षा आतुर छिन्। माओवादीको योगदानले देशमा तीव्र विकास भइरहेको उनी बताउँछिन्। भन्छिन्, ‘पालिका र वडामा माओवादी केन्द्रलाई जसरी पनि जिताउनुपर्छ। किनकि, संघीयताको जन्मदाता भनेकै माओवादी हो।’

दिगो विकास र समृद्धिको काम गर्ने एकमात्र पार्टी माओवादी रहेको उनी बताउँछिन्। ‘माओवादीले जित्यो भने जनताको लागि राम्रो हुन्छ। विकासका कामहरू अघि बढ्छन्,’ उनी भन्छिन्, ‘त्यसैले मेरो समर्थन माओवादीलाई छ।’

भोट कसैलाई दिन्नँ– राजकुमार जिरेल

दोलखाकाे जिरी नगरपालिका–५ का राजकुमार जिरेल चुनावमा अरू युवा जतिको उत्साहित छैनन्। उनी आफूलाई कुनै पनि पार्टी मन नपर्ने बताउँछन्।

‘भोट हाल्नकै लागि किन गाउँ जानू र? भोट हालेर हामीले काम पाउने हो र?,’ उनको प्रश्न छ।

आफूले कुनै पाटीलाई भोट नदिएपनि परिवारले भने माओवादीलाई जिताउने गरेको उनी बताउँछन्। ‘गाउँमा सबैले भोट दिने भनेको माओवादीलाई नै हो, जित्ने पनि माओवादी नै हो। ०७४ को चुनावमा पनि माओवादीले नै जितेको हो,’ उनले भने, ‘तर म कसैलाई भोट दिन्नँ।’

२४ वर्षीय दोर्जे भन्छन्– वडाध्यक्षमा मेरो दाबी छ

सिन्धुपाल्चोककाे जुगल गाउँपालिका–३ को वडाध्यक्षको पदमा २४ वर्षीय दोर्जे लामाले दाबी गरेका छन्।

गाउँ–समाजको मुहार फेर्न आफू अध्यक्ष पदमा उठ्न चाहेको उनी सुनाउँछन्। ‘समाजको सेवा गर्नुमा नै मेरो खुसी छ,’ उनले भने, ‘वडाध्यक्ष बनेर विकासको काम गर्नेछु।’

कांग्रेसबाट वडाध्यक्षमा ९ जनाको दाबी रहेको बताउँदै उनले भने, ‘हामीमध्ये जसले टिकट पाउँछ, उसैलाई मेरो भोट जान्छ। कांग्रेसले जस्तो विकासको काम अरूले गर्न सक्दैन।’

यो वडाको अध्यक्ष कांग्रेसकै सानू कान्छा तामाङ छन्। दोर्जे कांग्रेसको १४ औं महाधिवेशनकाे सिन्धुपाल्चोकबाट क्षेत्रीय प्रतिनिधिसमेत हुन्।

भोट हाल्नु हाम्रो अधिकार हो– ईश्वर डोटेल

सिन्धुपाल्चोककाे मेलम्ची नगरपालिका–१३ का २२ वर्षीय ईश्वर डोटेल गाउँ पुगेर मतदान गर्नु आफ्नो अधिकार ठान्छन्।

चुनाव नजिकिएसँगै उनमा पनि भोट हाल्ने उत्साह जागेको छ। भोट हाल्न इच्छुक उनी कसलाई भोट हाल्ने भन्नेबारे बेखबर छन्।

‘भोट त हाल्छु तर कसलाई हाल्ने हो, त्यो अझै थाहा छैन,’ उनले भने। गाउँमा जसले विकासको काम राम्रो गर्छ, उसैलाई भोट दिने डोटेल बताउँछन्।

उनले भने, ‘म कुनै पार्टीको सर्पोटमा छुइनँ। जसले राम्रो गर्छ, उसैलाई भोट दिन्छु।’

उनको वडामा हाल माओवादीका देवेन्द्रप्रसाद घोसाई अध्यक्ष छन्। ‘उहाँले राम्रो काम गर्नुभएको छ, उहाँ फेरि उठ्नुभयो भने उहाँलाई नै भोट दिनेछु,’ उनले भने। डोटेल अहिले अध्ययनका लागि काठमाडौंमा छन्।

यो पटक कसैलाई भोट हाल्दिनँ– नमराज आचार्य

सुर्खेतका नमराज आचार्य यसपटक भोट नहाल्ने बताउँछन्। अघिल्लो निर्वाचनमा भोट हालेका उनी यसपटक भने स्वतन्त्र बस्न चाहन्छन्।

‘जसलाई भोट दिएपनि पारा त्यही हो,’ उनले भने, ‘विकासको काम त नाम मात्र हो।’ आफूले भोट हालेर जिताएका प्रतिनिधिले गाउँको विकास नगरेकाले आफूले भोट नहाल्ने बताउँछन्।

‘आफूले विश्वास गरेकोले त विकासको काम गरेनन्, झन् अरूले त के गर्छन् होला र,’ उनले भने, ‘त्यसैले यसपालि कसैलाई भोट हाल्न गाउँ जाँदिनँ।’

चुनावको कुनै मतलब छैन– कृष्णा गाहामगर

नवलपरासीकाे नगरडाँडा–६ की २१ वर्षीया कृष्णा गाहामगरलाई चुनावको कुनै प्रवाह छैन। उनी भोट हाल्न गाउँ जाने पक्षमा पनि छैनन्। उनीलाई कुनै पार्टीप्रति विश्वास नै छैन।

‘हामीले जसलाई भोट दिएपनि राम्रो केही हुँदैन,’ उनले भनिन्, ‘भोट हालेर किन खेर फ्याल्नु?’ नेताहरू चुनावको बेला मात्र जनतासामू झुक्ने बताउँदै उनले भनिन्, ‘जितिसकेपछि हामीलाई कसैले वास्तै गर्दैनन्।’

आफूहरूले जिताएका नेताहरूले विकासको काम नगरेकोमा उनी गुनासो पोख्छिन्। ‘अगामी दिनहरुमा जसले राम्रो काम गर्छ, उसैले भोट पाउनेछ’, उनले भनिन्।

चुनावबारे मलाई थाहा छैन– मीना तामाङ

सिन्धुपालचोककाे ठूलो पाखा लुखङखु–२ की मिना तामाङ स्थानीय तहको चुनावबारे थाहा नभएको बताउँछिन्। हाल चुनावको माहोल भएपनि आफूलाई यसबारे थाहा नभएको उनले बताइन्।

‘मेरो घरका मान्छे चुनाव लाग्यो, घर जानुपर्छ भन्नुहुन्छ तर मलाई यसबारे थाहै छैन,’ उनले भनिन्। मिनाका काका एमाले हुन् भने ठूलो बुबा माओवादी। त्यसैले पनि उनलाई कुन पाटी राम्रो हो भन्नेबारे केही थाहा छैन।

उनका परिवारले मिनालाई भोट कार्ड बनाऊ भनेर नभनेको पनि होइन, तर उनले चासै दिइनन्। ‘मलाई पार्टीमा केही चासो छैन, त्यसैले भोट कार्ड पनि बनाइनँ,’ उनी सुनाउँछिन्।

भोट हाल्ने मन छ तर कार्ड छैन– दावा तामाङ

नुवाकोटकाे दुप्चेश्वर गाउँपालिका–७ का दावा तामाङ स्थानीय तहको निर्वाचनमा भोट नहाल्ने बताउँछन्। चुनावमा चासो भएपनि भोट हाल्न नपाउने उनले बताएका छन्। ‘भोट हाल्ने मन छ, तर कार्ड छैन,’ उनले भने।

यसपटक भोट हाल्न नपाएपनि आउँदो चुनावमा भने माओवादीलाई भोट हाल्ने उनको भनाइ छ। राजनीतिमा चासो राख्ने उनको भविष्यमा नेता बन्ने चाहना छ। ‘भविष्यमा माओवादी पार्टीको नेता बन्नेछु,’ उनले भने।

हाल उनको वडामा कांग्रेसको नेतृत्व रहेको बताउँदै उनले भने, ‘कांग्रेसले राम्रो काम गरिरहेको छ। माओवादीले नेतृत्व गर्यो भने झनै विकासको काम राम्रो हुने मेरो विश्वास छ,’ उनले भने।


स्थानीय निर्वाचन

प्रकाशित मिति: : 2022-04-10 06:05:00

प्रतिकृया दिनुहोस्