न्युयोर्कमा ट्राभल एण्ड एड्भान्चर शो सम्पन्न

अमेरिकाको न्युयोर्कमा दुई दिने ट्राभल एण्ड एड्भान्चर शो सम्पन्न भएको छ। युनिकम एलएलसीको आयोजनामा जेकब जाभिट्स सेन्टर, म्यानहट्टनमा जनवरी २८ र २९ मा सम्पन्न भएको हाे।

नेपालको प्रतिनिधित्व गर्दै उक्त ट्राभल शो नेपालको लागि आधिकारीक कम्पनी ट्राभल व्युराे अफ नेपालले सहभागिता जनाएको थियाे। ट्राभल्स शोमा हिमाल आरोहणका र पदयात्रामा प्रयोग हुने सामग्रीलगायत पशुपतिको मन्दिर र स्वयम्भु स्तुपा पनि प्रदर्शनमा राखिएको थियो।

मेलामा नेपालका पर्यटकीय क्षेत्र र प्याकेजको जानकारी दिनुका साथै नेपालको पर्यटन प्रर्वद्धनका लागि अमेरिकी पर्यटकलाई निम्ता दिइएको ट्राभल व्युराे अफ नेपालका सिइओ प्रदीप श्रेष्ठले बताए। श्रेष्ठ न्युयोर्कका लागि नेपाल पर्यटन बोर्डले नियुक्त गरेको पर्यटन दूत पनि हुन्।

नेपालबाट केही अन्य कम्पनीहरुले ट्राभल शोमा सहभागी हुन चासो राखे पनि नेपालस्थित अमेरिकन राजदूतावासले भिसा अन्तर्तर्वाको लागि २०२४ मा मात्र समय दिएकोले उनीहरु सहभागी हुनबाट बञ्चित भए। उक्त ट्राभल शोमा अन्तर्राष्ट्रिय ट्राभल कम्पनीहरु, होटल, रिसोर्ट तथा विभिन्न एयरलाइन्स कम्पनीहरुको सहभागिता रहेको थियो।

ट्राभल एण्ड एडभेन्चर शोमा आगन्तुकहरुको उत्साहजनक उपस्थितीले शोमा सहभागी पर्यटन व्यवसायीहरु निकै खुसी देखिएका थिए। कोभिड- १९ ले सुस्ताएको पर्यटन व्यवसाय अब चलायमान हुने देखिएको छ।

ट्राभल व्युराे अफ नेपालका नेपाल प्रतिनिधि तथा नेपाल पर्वातारोहण संघका बोर्ड सदस्य एवम् पर्यटन व्यवसायी राजेन्द्र लामा पनि उक्त शोमा सहभागी भएका थिए। लामाका अनुसार आगन्तुक भिजिटरहरुले नेपालबारे उत्सुक र भ्रमण गर्न निकै उत्साहित रहेको बताए। विदेशका विभिन्न पर्यटन मेलाहरुमा सहभागी हुने अवसर पाएको उनले यसपटक मेलामा नेपालबारे न्युर्योकवासीको चासो देख्दा निकै उत्साहित भएको लामाले बताए।

मेलामा करिब २५ हजार डलर खर्च भएको ट्राभल व्युराे अफ नेपालका सिइओ प्रदीप श्रेष्ठले जानकारी गराए।

उक्त शोको लागि श्रेष्ठले करिब ६ महिना अघिदेखि नै तयारी गरेका र बुथ बुकिङ गरी सम्बन्धित निकायलाई समयमै जानकारी गराएका थिए। तर, नेपालमा पर्यटन सम्बद्ध निकाय नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग र पर्यटन मन्त्रालयलाई पटक–पटक अनुरोध गर्दा पनि सम्बन्धित निकायबाट प्रयाप्त सहयोग नपाएकोमा उनले गुनासो पोखेका छन।

‘नेपालका विभिन्न निकायलाई कसरी नेपालको पर्यटन प्रवर्द्धन गर्न सकिन्छ भनेर पटक–पटक विभिन्न खालका खाका तथा योजनाहरु जानकारी गराएँ,’ उनले भने ,‘तर, कुनै पनि निकायले चासो र गम्भीर रुपमा नलिएको जस्तो लाग्यो।’ यदि सरोकारवाला निकायले चासो दिएमा नेपालको पर्यटन अझै प्रभावकारी ढंगले प्रवर्द्धन गर्न सकिने उनको भनाइ रहेको छ।

प्रकाशित मिति: : 2023-02-01 16:55:00

प्रतिकृया दिनुहोस्