विराटनगर विमानस्थलको स्तरोन्नति र विस्तार रोकिने गरी संघीय सरकारले रोक्का गरेको जग्गा फिर्ता गर्ने निर्णय गरेपछि नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापाले विरोध जनाएका छन्।
उनले रोकेर राखिएको जग्गाको मुआव्जा दिएर तत्काल विमानस्थल विस्तार गर्नुपर्नेमा रोक्का जग्गा फुकुवा गरेर विमानस्थल नबनाउने नीति सरकारले लिएको बताएका छन्।
सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले विराटनगरको विकास र समृद्धिसँग जोडिएको विमानस्थल विस्तार रोकिनु विराटनगरको मुटुमै प्रहार गर्नु सरह रहेको बताएका छन्।
थापाले तत्कालिन केपी ओली नेतृत्वको सरकारले अगाडि बढाएको कामलाई रोकेर अहिलेको सरकारले विकास विरोधी गतिविधि गरेको आरोप लगाएका छन्। विराटनगर विमानस्थल विस्तार गर्नका लागि करिब १२६ विगाह जग्गा रोक्का राखिएको थियो।
मुआब्जाका लागि स्थानीय सरकार, प्रदेश र संघीय सरकारबिच सम्झौतासमेत भएको थियो। विराटनगर उद्योगी व्यवसायीले हेरक वर्ष यो विमानस्थलको स्तरोन्नति र विस्तारको माग राख्दै आएका छन्।
यसैबिच पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरेले पनि सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन्।