रुसबाट नेपाली युवाको नेपाल सरकारलाई पत्रः

‘बाँचेर फर्किन गाह्राे छ, हाम्रो चाँडै उद्धार होस्’

मानव तस्कारीको जालो मस्कोदेखि काठमाडौँसम्म फिँजिएको छ। एजेन्टहरूले नेपाली युवालाई ‘भिजिट भिसा’ मिलाएर विभिन्न रुटबाट रूससम्म पुर्‍याउँछन् र त्यहाँ भएका एजेन्टहरूले सिधै उनीहरूलाई रूसी सेनाको क्याम्पसम्मै पुर्‍याउँछन्।

बेरोजगार र आर्थिक अभाव झेलिरहेको युवा जमातलाई अनेकौँ लोभ देखाउँदै दलालहरूले ‘मृत्युमार्ग’तिर धकेल्दैछन्। राहदानी खल्तीमा बोकेर हिँडिरहेका युवाहरू मानव तस्करलाई लाखौँ तिरेर सुम्पिँदै धमाधम रूस उडिरहेका छन्। त्यो पनि ज्यानकै बाजी थाप्न। रूस पनि यही चाहन्छ। सेनामा भर्ती भएपछि ‘धेरै पैसा र तत्कालै रूसी नागरिकता’ आँखैअघि कल्पिँदा क्षणभरमै लोभिन्छन् नेपाली। र, घर–परिवार र आफन्त छल्दै मस्को उड्छन्।

हजाराैँ नेपाली युवाहरू युद्धग्रस्त रूसमा अलपत्र अवस्थामा छन्। उनीहरू उद्धारकाे प्रर्खाइमा भाैतारिरहेका छन्। रूसी सेनामा भर्ना भएका नेपालीमध्येका तुलाराम अधिकारीले नेपाल सरकारलाई एउटा पत्र लेखेका छन्—

०००

आज धेरै दिनपछि नेट चल्ने ठाउँमा आएको थिएँ। न यहाँ सिमले काम गर्छ न वाइफाइले नै राम्रोसँग काम गरेको छ। यो युद्धग्रस्त भूमिको बंकरमा कठिन दिनहरू कटाइरहँदा नेपाल सरकारलाई पत्र लेख्न मन लागेको छ। र, लेख्दै छु– म पत्र स्वदेश फर्काइदिन आग्रह गर्दै।

यो परदेशको भूमि। अझ भनौँ बन्दुक, गोला–बारुद्धको भूमिमा मलाई ती मान्छेको खुब याद आएको छ। जो चुनाव आउँदा मिठा–मिठा सपनाहरू बाड्दै गाउँ पुगेका थिए। तर ती मिठा सपना बिपना कहिल्यै भएन। स्देशमा गरिएको कामले परिवार पाल्न सकिएन। 

त्यसैले त होला म जस्तै  नेपाली युवाहरू रुस–युक्रेन युद्वको घानमा पर्न बाध्य भएको हो। यहाँ आएका प्राय: नेपाली सेना, नेपाल प्रहरी र सशत्र प्रहरीमा १६ देखि २० बर्ष देशमा सेवा गर्दा पनि सानो परिवार पाल्न गाह्रो भइरहँदा भिजिट भिसामार्फत रसिया आएकै हो। यो सबैलाई जानकारी नै छ।

हो हामी आफ्नो देश वा अर्को देशबाट भागीभागी रसिया आएको हो। यो बाध्यता थियो। बाध्यताकाअघि गल्ती भएको पनि हो। तर अब हाम्रो उद्धार नेपाल सरकारले गर्नुपर्ने बेला भएको छ। नेपाल सरकारले रूसी सरकारसँग कुटनैतिक पहल गर्नुपर्ने बेला भएको छ। 

यहाँ सम्पर्कमा नभएका साथीहरूलाई तत्काल सम्पर्क ल्याउने। घाइतेको राम्रो ठाउँमा उपचार हुनुपर्ने। ज्यान गुमाउने साथीहरूलाई रुसको नियम अनुसारको क्षतिपूर्तीको लागि तत्काल प्रधानमन्त्री तहबाटै पहल गरिनुपर्छ। विश्वमा यस्ता ठुलठुला समस्याहरू राजनैतिक पहलबाट समाधान भएका उदाहरणहरू पनि छन्।

नेपालले अर्को उदाहरणीय काम गर्नुपर्ने बेला भएको छ। यहाँ रहेका नेपाली रूसी सैनिकलाई छिटो उद्धार गर्नुपर्ने भएको छ। पैसा कमाउने सपनाहरू लिएर रुस आएको हामी आज युद्व झन चर्किँदै जाँदा धेरै नेपालीहरू सम्पर्कविहीन भएका छन्।

हामी देशका नागरिक हौँ। हामीले तपाईंहरूलाई भोट हालेर जिताएर पठाइएका पनि हौँ। तपाईंहरूलाई सुविधा सम्पन्न बनादिएका छौँ। हाम्रो तपाईंहरू अविभावक हो नि। अप्ठ्यरोमा काम लाग्ने भनेर तपाईंहरूलाई जिताएका हौँ। अहिले हामी अप्ठ्यरोमा छौँ। अब देशका यी युवालाई के गर्ने तपाईंहरूको परीक्षा पनि हो।  

हाम्रो यहाँको बसाइँ—

कति ठाउँमा सिम नै चल्दैन। सबै ठाउँमा वाइफाइ छैन। तपाईं हामीले कल्पना गरे जस्तो छैन यहाँ। धेरैजसो बंकरमा बस्नुपर्छ। बस्ने ठाउँमा फोन लाग्दैन। फोन गर्न अर्को ठाउँमा जानुपर्छ। सबैभन्दा ठूलो समस्या हामीलाई भाषा हो। हामीसँग यहाँको भाषा, धर्मकर्म, रीतिरिवाज, भेषभुसा केही थाहा पनि छैन। यस्तो अवस्थामा पनि नेपाल सरकारकै कारण हामी यहाँ आएर बस्नु परेको छ। 

अहिले बंगुर पनि नबस्ने ठाउँमा म बस्दैछु। हामी बस्दै छौँ। कति नेपाली रूसी सैनिकमा छन्। कति जनाको त ४ महिना भयो तलब आएको छैन। रिपोर्ट गरेको भएपनि आउँछ–आउँछ भन्छ। कहिले आउने हो केही थाहा छैन। नेपालीको उद्धार गर्न नेपाल सरकारले एक्लै चाहेर हुँदैन। रूसी सरकार या रूसी सैनिकले मात्र चाहेपछि हुन्छ। 

यहाँ अर्को हामी भिजट भिसामा धेरैमा १ महिनाको लागि थियौँ। अहिले ४–५ महिना भन्दा बढी इलिगल भइसक्यो। त्यसैले अब नेपाल सरकारलाई देश फर्काउन आग्रह गर्छौँ। हामी देशमा फर्किन पाउँछौँ भन्ने आसा पनि छ। 

नेपालमा धेरै मिडियाहरू छन्। मिडियाको पनि हामीलाई उद्धार गर्नेमा ठूलो हात हुन्छ। हामीलाई सपोर्ट गर्नुहोस् नेपाल सरकारको ध्यानाकर्षण गराउनुहोस्। 

रूसी सैनिकमा कार्यरत नेपाली युवाहरू आफ्नो देश फर्किन चाहान्छौँ।

प्रकाशित मिति: : 2024-02-17 20:14:00

प्रतिकृया दिनुहोस्