भोजपुरमा बेचिँदै अस्वस्थ मासु, प्रशासनले गर्‍यो फ्रिज नै बरामद

File photo
File photo

जिल्ला प्रशासन कार्यालय भोजपुरले गरेको अनुगमनका क्रममा मासु पसलमा अस्वस्थ मासु बिक्री गरेको पाइएको छ। 

जिल्ला प्रशासन कार्यालय भोजपुरका अनुगमन अधिकृत रामप्रसाद दाहालको नेतृत्वमा बुधबार गरिएको मासु पसलहरुको अनुगमनका क्रममा हप्ता दिन अगाडिदेखिको मासु समेत फ्रिजमा हालेर राखिएको अवस्थामा फेला परेको थियो। 

‘नागरिकको स्वास्थ्यको समेत ख्याल नगरी पसलले अस्वास्थय मासु बिक्री गरेको पाइएको छ, ती सामग्रीसमेत बरामद गरिएको छ’, अनुगमन अधिकृत दाहालले भने। 

बजारको समीक्षा मासु पसल र तामाङ मासु पसललगायतका पसलमा अनुगमन गरिएको थियो। मासु राख्न प्रयोग गरिएको फ्रिजमा समेत फोहर भेटिएकाले  फ्रिज बरामद भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नारायण लघुले बताए। 

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको अनुगमनमा घरेलु विकास कार्यालय, उद्योग वाणिज्य सङ्घ, पत्रकार, प्रहरीलगायतका सरोकारवाला निकायका प्रतिनिधिको समेत सहभागिता रहेको थियो। 

धेरै दिन अगाडिदेखि फ्रिजमा राखेर मासु बिक्री गरेका व्यवसायीलाई पत्र काटी जिल्ला प्रशासनमा उपस्थित हुन निर्देशन गरिएको थियो। तर प्रशाशनको सुचनालाई अटेर गरी मासु पसल सञ्चालन गर्दै आईरहेका थिए।

चाडपर्व नजिकिएसँगै स्थानीय प्रशासनले बजार अनुगमन तीव्र बनाएको हो।   
 

प्रकाशित मिति: : 2022-09-14 19:16:00

प्रतिकृया दिनुहोस्