साकेला गाउँपालिकाको भवन शिलान्यास

खोटाङको साकेला गाउँपालिकाको भवन शिलान्यास गरिएको छ। स्थानीय सरकार कार्यान्वयनमा आएको पाँच वर्षपछि गाउँपालिकाको आफ्नै भवन निर्माण सुरु गरिएको हो। संघीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा निर्माण हुने भवन सोमबार गाउँपालिका अध्यक्ष रबीप्रकाश राईले शिलान्यास गरेका छन्।

आफ्नै भवन नहुँदा हाल साकेला गाउँपालिका–४ मात्तिम मानेभञ्ज्याङस्थित साबिकको इलाका कृषि तथा पशुसेवा केन्द्रको कार्यालयबाट गाउँपालिकाको सेवा प्रवाह हुँदै आएको छ।

भ्याटसहित ७ करोड ६२ लाख ३५ हजार १५२ रुपैयाँका लागतमा निर्माण गर्नेगरी निर्माण कम्पनी मल्लरानी–सजीव जेभीले गत २० असारमा भवन निर्माणको सम्झौता गरेको गाउँपालिकाका इन्जिनियर आशिष राईले बताए। बाल, लैंगिक र अपांगमैत्री हुने तीन तले सुविधा सम्पन्न भवन सम्झौता भएको मितिले एक वर्ष छ महिनाभित्र सम्पन्न गर्नुपर्ने सम्झौता छ।

भवन शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिर्सिका राई, प्रमुख प्रशासकीय अधिकृत महेश राई, वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।

भवन शिलान्यास कार्यक्रमकै अवसरमा गाउँपालिका अध्यक्ष राईले मानेभञ्ज्याङमा लाग्दै आएको ऐतिहासिक हाटबजारको नवनिर्मित संरचना उद्घाटन गरेका छन्।

प्रकाशित मिति: : 2022-09-06 17:06:00

प्रतिकृया दिनुहोस्