प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभामा गर्दै आइरहेको अवरोध हटाएको छ। आज बसेको प्रदेशसभाको दशौं अधिवेशनको दोस्रो बैठकबाट एमालेले गर्दै आएको अवरोध हटाएको हो।
एमालेले प्रदेशसभामा गएको साउन १ गतेदेखि अवरोध गर्दै आएको थियो। पाँच दलको गठबन्धनमा एमालेले कारवाही सिफारिस गरेका दुई सांसद विमला वली र अजय शाहीसमेत सहभागी भएपछि उनीहरूलाई हटाउन माग गर्दै एमालेले सदन बहिस्कार गरेर संसद चल्न दिएको थिएन।
तर आज बसेको प्रदेशसभाको बैठकबाट एमालेले अवरोध हटाएको छ। प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता तथा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले अबदेखि संसदमा अवरोध नगर्ने जानकारी दिए।
उनले सरकार पक्ष आफ्नो मागप्रति जति जिम्मेवार हुनपर्ने थियो त्यस प्रकारको जिम्मेवारी अनुभूत गर्न नपाएको बताए। उनले कानूनी विषयहरु कानूनी रुपमा रहने जानकारी दिँदै राजनीतिक विषयहरु जनाधेशका रुपमा टुंगिएकाले अरोध हटाइएको उल्लेख गरे।
पोखरेलले सत्ता पक्ष नीति, संविधान, कानुन, राजनीतिक प्रणाली, दलीय प्रणालीप्रति जिम्मेवार हुन नसकेको भन्दै हटेको अबरोधलाई भोलिका दिनमा सहि प्रयोग गर्नेमा विश्वास ब्यक्त गरे।
'हटेको अवरोधलाई भोलिको दिनमा सत्ता पक्षले सहि प्रयोग गर्ने छ भन्ने म यस अवसरमा उल्लेख गर्नु चाहन्छु,' पोखरेलले भने, 'किनकि हामीले जे काम गर्दा पनि हुन्छ भन्ने मान्यता राख्यौँ भने यसले अन्तिममा हामीलाई लखेट्छ र हाम्रो प्रणालीलाई कमजोर बनाउँछ।'
एमालेका महासचिवसमेत रहेको पोखरेलले दलका प्रतिनिधिहरुले दलीय प्रणाली नमानेको पनि उल्लेख गरे।
'हामीले दलीय प्रणालीमा विश्वास गर्छौँ। दलका तर्फबाट निर्वाचित भएका प्रतिनिधिहरु दलप्रति जिम्मेवार र जवाफदेही हुनुपर्छ,' उनले भने, 'तर हामी न कानुनलाई मानेका छौँ। न दलीय प्रणालीलाई मानेका छौँ। जस्तो प्रकारको अभ्यास गरेका छौँ। जसले दलीय प्रणालीलाई बलियो बनउदैन र लोकतन्त्रलाई कमजोर बनाउँछ।'