नेपाल मगर संघको राष्ट्रिय महाधिवेशन दाङमा

नेपाल मगर संघ केन्द्रीय समितिको १२औँ राष्ट्रियमहाधिवेशन दाङमा हुने भएको छ।

भोली (बुधबार)बाट दाङको घोराहीस्थित शहिद मञ्चमा महाधिवेशन हुने आयोजक मगर संघ केन्द्रीय समिति तथा १२औँ राष्ट्रिय महाधिवेशन मूल आयोजक समितिले जनाएको छ। 

आयोजकले आज पत्रकार सम्मेलन गर्दै १२औँ राष्ट्रियमहाधिवेशनको तयारी पूरा भएको जानकारी दियो। अधिवेशनका लागि देशभरका ७० जिल्लाबाट ६ सय बढी प्रतिनिधि सहभागी हुने महाधिवेशन मूल आयोजक समितिका संचार सचिव खड्क बुढाले बताए। 

२५, २६ र २७ गते हुने महाधिवेशन उदघाटन समारोहलाई सम्बोधन गर्न प्रमुख अतिथिका रुपमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आउने आउने छन्। देशका भातृ संगठन लगायत तथा १४ वटा विदेश शाखाबाट गरी हजारौँको उपस्थितीमा हुने उदघाटन समारोह गर्नुअघि वृहत र्याली निकालिने आयोजकले जनाएको छ। 

दाङमा हुन लागेको महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि आउने क्रम जारी रहेको छ। भोली उद्घाटन समारोहपछि २६ र २७ गते हुने दुई दिने बन्दसत्रमा संघको भावी कार्ययोजना, विधान संशोधन, कार्यसमिति निर्माणका विषयमा केन्द्रित हुने भएको छ।

प्रकाशित मिति: : 2022-04-07 21:07:00

प्रतिकृया दिनुहोस्