ओली प्रतिष्ठानद्वारा चार विधाका पुरस्कार घोषणा

झापाको भद्रपुरस्थित रूद्र–गौैरी, श्री–अम्बिका ओेली प्रतिष्ठानद्वारा चार विधामा पाँच जनालाई पुरस्कृत गर्ने भएको छन्।

प्रतिष्ठानले यसवर्ष पाँच लाख रूपैयाँ पुरस्कार थप गरी चार विधामा पाँच जनालाई पुरस्कृत गर्न लागेको प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले जानकारी दिएका छन्। प्रतिष्ठानले बैशाख ४ गते काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उनीहरूलाई पुरस्कृत गर्ने उनले बताएका हुन्।

'नवौं संस्करणको पुरस्कार वितरण गर्न लागेका छौँ', उनले भने, 'यस वर्ष पाँच लाख रूपैयाँको एउटा पुरस्कार समेत थप भएको छ।'

प्रतिष्ठानले विसं. २०६७ सालदेखि कृषि, साहित्य-पत्रकारिता, महिला सशक्तीकरण, बालबालिकाका क्षेत्रलाई समेट्दै आएकोमा नवौं वर्षको यात्रा तय गरिरहँदा रू ५ लाख राशीको 'श्रीप्रसाद ओली स्मृति राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार' समेत थप गरेको हो।

पहिलो पटक स्थापित श्रीप्रसाद ओली स्मृति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कारबाट हिमालय शम्शेर जबरा पुरस्कृत हुने भएका छन्।

नेपालमा पहिलो पटक विनिमय दरको व्यवस्था गरी विदेशी मुद्राको प्रचलनलाई निरूत्साहन गरी नेपाली मुद्रालाई चलनचल्तीमा ल्याउन उल्लेख्य कार्य गर्नुका साथै नेपालमा स्वतन्त्र अर्थतन्त्रको जग बसाउन योगदान पुर्‍याएवापत उनलाई उक्त पुरस्कार वितरण गर्न लागेको प्रतिष्ठानले जनाएको छ।

त्यस्तै, रूद्रप्रसाद ओली राष्ट्रिय कृषि पुरस्कार ललितपुरस्थित 'सुभद्रा–मदन फाउण्डेसन' र 'चन्द्रागिरी मेशिनरी उद्योग'लाई संयुक्त रूपमा प्रदान गरिने भएको छ। पुरस्कार राशी एक लाख एक हजार १११ रूपैयाँ रहेको छ। कृषि क्षेत्रको व्यावसायिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै उनीहरूलाई पुरस्कृत गर्न लागिएको हो।

फाउण्डेशन संस्थापक अध्यक्ष कृषि विज्ञ मदन राईको अग्रसरतामा ५० भन्दा बढी जिल्लाका बालबालिकालाई समावेशी ढंगबाट विगत ७ वर्ष देखि खोटाङ जिल्लामा जीवन उपयोगी व्यावहारिक ज्ञानसहित व्यावसायिक कृषिलगायतका विषयमा शिक्षा प्रदान गरी श्रमप्रति सम्मान गर्ने प्रवृत्ति विकासका गर्न अनवरत क्रियाशील छ। यस्तै, संस्थापक अध्यक्ष गोविन्द भक्त श्रेष्ठको नेतृत्वमा सञ्चालित उद्योगले सानादेखि ठूला कृषि औजार उत्पादन गरी देशको कृषि क्षेत्रमा तथा अर्थतन्त्रमा टेवा पुर्‍याउँदै आएको छ।

त्यसैगरी, गौरादेवी स्मृति राष्ट्रिय आर्दश आमा पुरस्कार काठमाडौं निवासी युवती खड्का केसीलाई प्रदान गरिने भएको छ। उनलाई अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिकलाई पुनस्र्थापना तथा सेवा, महिलाहरूको आर्थिक सशक्तिकरण योगदान वापत राशी एक लाख एक हजार १११ रूपैयाँ राशीको पुरस्कार प्रदान गर्न लागिएको हो।

यस्तै, अम्बिका ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार यस वर्ष विगत साढे चार दशकदेखि निरन्तर नेपाली साहित्यको विकासमा क्रियाशील मोरङ विराटनगर निवासी साहित्यकार विवश पोखरेललाई प्रदान गरिने अध्यक्ष ओलीले बताए। पुरस्कार राशीकोरू.एक लाख एक हजार १११ रहेको छ।

'रूद्र्र–गौैरी, श्री–अम्बिका ओेली प्रतिष्ठान' समाजमा भएका अनुकरणीय कार्यहरूको प्रबद्र्धन गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएको गैरनाफामूलक सामाजिक संस्था हो।

वि.स. १९८८ श्रावण १६ गते तेह्रथुम आठराई, छातेढुङ्गा गा.वि.स. वडा–६, होडागाउँमा पिता रूद्रप्रसाद ओली र माता गौरादेवी ओलीको ज्येष्ठ पुत्रको रूपमा जन्मिएका समाजसेवी श्रीप्रसाद ओलीको अग्रसरता तथा प्रेरणा साथै उहाँका परिवारबाट स्थापित प्रतिष्ठानको प्रमुख उद्देश्य समग्र मानव हित तथा सकारात्मक समाजिक विकासमा अनुकरणीय र उल्लेख्य योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई सम्मान गरी समाजमा उल्लेख्य योगदानको लागि अभिप्रेरित गर्नु हाे।

प्रकाशित मिति: : 2022-03-29 18:32:00

प्रतिकृया दिनुहोस्