फनपार्क निर्माण सुरु

File Photo
File Photo

बागमती नगरपालिकाले फनपार्क निर्माणको काम सुरु गरेको छ। दक्षिण एशियाकै ठूलो मानव निर्मित तालको निर्माण गर्दै गरेको नगरपालिकाले बगैँचा पनि निर्माण गरिरहेको छ।

वडा नं ११ स्थित पूर्व–पश्चिम लोकमार्गबाट फनपार्कसम्म पुग्ने सडकको पनि व्यवस्थापन भइसकेको नगर प्रमुख भरतकुमार थापाले जानकारी दिए। उनका अनुसार चालू आर्थिक वर्ष २०७८-७९ मा सडक पनि पूर्णरुपमा निर्माण गरिसक्ने लक्ष्यका साथ काम भइरहेको छ। आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सुव्यवस्थित फनपार्कको निर्माणको काम थालिएको नगरपालिकाले जनाएको छ। चुरे पहाडको फेंदी र बागमती नदीको किनारमा व्यवस्थित फनपार्कको निर्माण सुरु भएसँगै व्यवसायीको नजर पनि सो फनपार्क निर्माणस्थलतर्फ पुगेको छ। त्यहाँ निजी क्षेत्रबाट पनि रिसोर्ट निर्माणको काम सुरु भएको छ।

बागमती नदीको किनारमा शान्त ठाउँमा फनपार्कको निर्माण भइरहेकाले वर्षेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक आउने लक्ष्य लिइएको नगर उपप्रमुख लीलाकुमारी मोक्तानले बताए। फनपार्कभन्दा पश्चिम छिमेकी जिल्ला रौतहटको पर्यटकीय क्षेत्र नूनथर रहेको र नूनथरमा वर्षेनि लाखौँ पर्यटक आउने गरेकाले नेपाल र भारतका पर्यटकलाई सुविधा सम्पन्न फनपार्क उपलब्ध गराउँदा झन् धेरै पर्यटकको आकर्षण हुने विश्वास आफूहरुले लिएको उनको भनाइ छ। 

फनपार्क निर्माणपछि हजारौंले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाउने जनाउँदै नगर प्रमुख थापाले फनपार्कबाट भरत तालसम्म केबलकार चलाउने र फनपार्कभन्दामाथि चुरेको डाँडामा गौतमबुद्धको प्रतिमा राखिने जस्ता ठूला योजना पनि फनपार्कसँग जोडिएको बताए। 

प्रकाशित मिति: : 2022-02-13 13:29:00

प्रतिकृया दिनुहोस्