आशालाग्दा बिहानी, दिक्कलाग्दा दिनहरू, थाकेकाे शरीर, सिरानीमुनि सजिएका हजाराैँ सपनाहरू तर अपुरो निन्द्रा र अञ्जान भविष्यमा परदेशमा म खुसी हुन सकिनँ। सोच्थेँ परदेश पुगेर मेरा बा-आमाका लागि खुसी किन्छु। बा, आमाको मनमा खुसी, ओठमा हाँसो भर्छु। विकट रोल्पाका गाउँमा उकाली ओराली देउराली गर्दै घाँस दाउरा गर्दा फाटेका मेरा बा-आमाका ती कोमल खुट्टाका पैतला अनि हत्केलामा चराइरहेका घाउहरूमा मलमपट्टी लगाउने काम गर्छु। आमाको त्यो फाटेको धोती अनि चोली फेरिदिन्छु।
छिमेकीको वचनरुपि तीखा वाणलाई सिलाउन मद्दत गर्छु। मेरा बा-आमालाई मिठो मसिलो खुवाउने हैसियत बनाएरमात्रै म घर फर्कन्छु। जीवनमा कहिल्यै सुन लगाउन नपाएकी मेरो आमाको त्यो रित्तो गलामा सुनका गरगहनाले पुरिदिन्छु। बा’को सधैं रित्तो रहने कमिजको खल्तीमा परदेशमा कमाएको पैसाले भरिभराउ गरिदिन्छु। मेरो असफलतामा खुच्चिङ मच्चाउने मेरा छिमेकी तथा साथी-भाइहरूको मुख नै बन्द गरिदिन्छु। हो, यस्तै सयौं सपनाहरू बाेकेर आजभन्दा करिब पाँच /सात महिना अगाडि घरबाट निस्किएको थिएँ म।
तर, भनिन्छ नि परदेश हो, सोचेजस्ताे कहाँ हुन्छ र? सोचेझैं जिन्दगी कसको पो छ र? नेपालमा रहँदा पनि राम्रो गर्नुपर्छ भन्ने सोच आउँथ्यो त्यसैले सरदर मेरो गाउँमा पढ्नेभन्दा माथिल्लो तहको पढाइ पूरा गरेँ। रोल्पाका धेरै गाउँहरूमा स्नातकसम्म पढ्न नपाएरै विदेशीने वा अन्य काममा लाग्नुपर्ने अवस्था छ। किनभने, रोल्पा सदरमुकामभन्दा बाहिर अहिलेसम्म उच्चमाध्यमिक तहको शिक्षा पढाइ हुने कलेजसमेत छैन।
उच्चमाध्यमिक तहको पढाइ गर्नको लागि जिल्ला छोडनु नै पर्ने बाध्यता छ। त्यसमा पनि घरको आर्थिक अवस्थाको कारणले पनि उच्च शिक्षा हासिल गर्न नपाउनेहरूको सङ्ख्या धेरै छ। तर, मलाई भने मेरो बा-आमाले दुःख गरेर भएपनि स्नातकसम्म पढाउनुभयो। जिल्लाभन्दा बाहिर बसेर एकदशक अध्ययन गरेको छु। स्नातक पूरा गरी स्नातकोत्तर पढदै गरेको म देशमै स्वरोजगार बन्न धेरै प्रयास गरे पनि नसकेर विदेशी भूमिमा छु, अहिले।
देशका समग्र क्षेत्रहरूमा थाेरै भएपनि अध्ययन गर्ने अवसर पाएको छु। धेरैजसो क्षेत्रहरुमा राजनीति पावर पहुँच प्रभाव र दबाबका गतिविधिलाई देख्दा यस्तो लाग्यो कि देशमा बसेर केही हुँदैन। यो देश यस्तै हो, देशको राजनीति र विकासको गति पनि यस्तै हो। यहाँका युवा पङ्तिको सोचाइ पनि हो। भोलि हुने पनि यस्तै हो। अनि यस्तै-यस्तै सोचाइले म परदेश उड्न बाध्य भएँ।
नेपालमा हुँदा सोचेको थिएँ कि विदेश पुगेपछि चाहिँ सबै राम्रै हुन्छ।
परदेश आएपछि फेरि छुट्टै खाले अनुभूति भयो। परदेशको यो ठाउँ बिरानो, साथी-भाइ बिरानो, काम बिरानो। सबै चिज बिरानो। बिरानो बिरानो बिचमा सपनाको भारी बाेकेर आएको म पनि बिरानो यात्रीजस्तै भएकाे छु। थाहा छैन मेरो सपना यो बिरानो सहरले पूरा गर्छ कि गर्दैन। यस्तै गरेर दिन बिते, रात बिते। समय बित्दै जाँदा महिना बितेको पनि पत्तै भएन। महिना थपिँदै जाँदा मेरो कमाइ पनि थपिँदै जाला भन्ने सोचेको थिएँ तर अहँ अहिलेसम्म त्यस्तो भएन।
अहिले, विदेश आउँदा लागेको लाखौं लाख ऋण सम्झिँदै परदेशमा भौतारिरहेको छु। घरमा कुरा हुँदा यस्तो रहेछ विदेश, उस्तो रहेछ विदेश भनि बा-आमासँग सुनाउछु। १८/२० लाख ऋण तिर्न निकै चुनौती रहेछ बा भन्छु। बुबाले भन्नुहुन्छ,- देशमै केही गरेको भएसी हुन्थ्यो सानो तिनो भएपनि जागिर भएपनि देशमै राम्रो हुन्थ्यो। मेरो आश पनि छोराले देशमै केही गर्ला भन्ने थियो। त्यत्रो दुःख गरेर पढाएँ, अन्तिममा छोरो त विदेशी भयो। मेरो मेहनत र पसिना खेर गयो। बुबाको यो कुरा यो बिरानो परदेशमा झन् भारी भएर मन पोल्छ।
सफलताको प्रतिक्षामा एउटा युग बितिसक्यो सोचेकोजस्तो गन्तव्य भेटिएन। नेपालमा पढेको त्यो पढाइ यता विदेशमा काम लागेन, परदेश आएपछि थाहा भयो यहाँ कुर्सीमा बसेर गर्ने काम हामी नेपालीको अर्थात् हाम्रो होइन, हाम्रो काम हो होटलमा पोछा लगाउने। होटल रेस्टुरेन्टमा भाडा धुने। शौचालय सफा गर्ने यी र यस्तै।
मैले यहाँ उठाउन खोजेको प्रसंग के हो भने परदेश आउनुभन्दा अगाडि धेरै कुराहरूलाई ध्यान दिनुहोस्। आउँदा खर्च गर्न लाखौं लाख रुपैयाँको स्रोत के हो? बा-आमाले कमाएर राखेको नगद हो वा ऋण हो? त्यो लाखौं लाख ऋण हो भने तपाईं विदेश न आउनुहोस् मेरो यो सुझाव हो। कमाएर बैंकमा राखेको पैसा निकालेर आउँदै हुनुहुन्छ भने त्यो तपाईंको विचार कुरा हो तपाईंको व्यक्तिगत सम्पत्ति हो, जसरी प्रयोग गर्नुहुन्छ गर्नुस् तपाईको इच्छा हो। यहाँ मैले लाखौं लाख ऋण गरेर आउनेहरुलाई थोरै जानकारी होस्, भनी केही कुराहरू लेख्न खोजेको मात्रै हो।
नेपालमा हुँदा देख्छौँ आफन्त साथी-भाइहरूले लगाएका हाफपाइन्ट, रमणीय दृश्य, चिल्लो कारको अगाडि पछाडि बसेर खिचेका फोटो, परदेशका चिल्ला सडक बाटा र गगनचुम्बी घरहरूलाई देखेर अरूको लहलहैमा लागेर परदेश नआउनु होस्। परदेश तपाईंको रहर हो कि बाध्यता त्यो राम्रोसँग अध्ययन गरेर मात्रै परदेशको सपना बुन्नुस्।
फलानाले विदेश गएर राम्रो कमाएको छ, भनेर सयकडा ३ का दरले ब्याज साहुलाई तिर्ने वाचा गरेर, बैंकको ब्याजमा घर-जग्गा धितो राखेर देशको झण्डा काँधमा भिरेर अर्काले समुन्द्र छेउमा आइफोनले खिचेको तस्बिर देखाउन र स्टान्डर्ड मेन्टेनका लागि बिदेश जाँदै हुनुहुन्छ भने तपाईंको जिन्दगी त्यो ऋण गरेको पैसा तिर्दैमा बित्छ।
यहाँ आएर मैले अनुभव गरेको यही हो। यहाँ कोठा भाडा, मोबाइल फोनको पैसा, कलेजको फि, खान खर्च, बीमा शुल्क यस्ता धैरै खर्चहरू छन्। यी सबै खर्च तिरेर बाँकी रहेको पैसा नेपाल पठाउने हो। जबकि, पठाएको सो पैसाले सावाँ त यस्तै हो ब्याजसमेत तिर्न पनि गाह्राे हुने स्थिति सिर्जना हुन्छ। होलान् केही थोरै साथीहरू निद्रा भोक नभनिकन २४सै घण्टा खटेर काम गर्नेहरुले राम्रै कमाइ गरेका पनि हुन सक्छन्। त्यस्तो अवसर तपाईं पाउनु हुन्छ कि हुँदैन तपाईं कत्तिको खटिन सक्नुहुन्छ काम भन्ने कुरामा पनि भरपर्छ तर त्यसको लागि काम पनि त पाउनुपर्छ होला। पहिलो कुरा त अहिले काम पाउन मुस्किल छ, परदेशमा।
अझै बुबा भन्नुहुन्छ- तँ’माथि लगानी गरेको वर्षाैँ भयो, विरुवा अझै लाग्न सकेन त्यसमा सफलताको फल थिचिएको वर्षाैँ भयो। अभावको भुमरीमा अझै गर्न सकिएन, हलचल मारेको वर्षौ भयो निद्राको मोह अझै आउन सकेन। सुनौलो बिहानी नदेखेको वर्षौँ भयो सुखको मुहार अझै हट्न सकेन।
आज-भोलि गाउँमा कुरा चल्छ छ रे,- फलानोको छोरोले खासै केही नाप्न सकेन। आफैँले हाँसिल गरेको ब्याचरल डिग्रीको इज्जत राख्न सकेनन् न गर्न सक्यो बिहे न खान सक्यो सरकारी जागिर खेत बेचेर पढाएको पनि काम लागेन। आखिर जसै कल्पिन्छु, त्यस बखतको बुबाको लज्जित अनुहार अनि आमाको झुकेको शिरसमक्ष निदाउन सक्दिनँ।
सुन्दासुन्दै थाकिसकेँ, अर्ति र उपदेशहरू कुर्दाकुर्दै आत्तिइसकेँ, सुखका सन्देशहरू। जब सुनाउँछु, मित्रहरूलाई मेरा असफलताका कहानीहरू खिल्ली उडाउँदै ताली पिट्नेहरू धेरै भेट्छु। जसै खोल्छु निराशाका पोकाहरू आफन्तको माझमा तिनका मुहारमा आनन्दका धर्साहरू देख्छु। मान्छे त आज-भोलि मेसिन भइसके छ, त्यसैले मनका भाव पोख्न यस्तै-यस्तै कुराहरु लेख्छु।
मेरो असफलता देखेर मेरो निराश अनि हतास मुहार देखेर मेरा भावुक स्टाटसहरू पढेर खुसी हुन हतार नगर न मित्र म हारेँ हुँला जरुर, तर अझै थाकेको छैन। बिझे होला काँडा पैतालामा तर हिँड्न छाडेको छैन। शून्य नै हात लागेपनि संघर्षको मैदान छोडेर भागेको छैन। असफलता, छटपटि अनि निराशाबीच बाल्दै बसेको छु, आशाको दीप। अँध्यारो मेरो जिन्दगीमा पक्कै उज्यालो छाउला कसो एकदिन, मेरो पनि पालो नआउला?
(गंगादेव गाँउपालिका- ६ रोल्पा, हाल जापान)