२०७५ सालमा मलाई सरकारले बाराको सिम्रौनगढमा मालपोत अधिकृतमा पदस्थापत गर्यो। तर त्यहाँ मालपोत कार्यालय थिएन। यसरी कार्यालय नै नभएको ठाउँमा मलाई सरुवा गरिएपछि म रणभुल्लमा परेँ।
साथीहरुले भने, ‘रमाना लिएर जानुस्, दुई वर्षको अवधिमा करोड कमाइ हुन्छ।’ मलाई कमाउ अड्डाप्रति पहिलेदेखि नै रुचि थिएन। मलाई नैतिकता अनि इमानदारिता जोगाएर राख्ने चाहना सधैँ नै रहिरह्यो।
कार्यालय नै नभएको ठाउँमा गएर कहाँ हाजिर हुने भन्दै विभागमा गुनासो गरेपछि विभागले मलाई मालपोत कार्यालय रोल्पामा ६ महिनाका लागि काजमा खटायो। त्यतिबेला नेपालमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा थियो, देशभर त्रास थियो। विभागले मलाई रोल्पा मालपोतमा पठाएपछि आफ्नो जिल्लामा रहेर सरकारी सेवा गर्न पाउने भएँ भनेर मख्ख पर्दै माइक्रो बसको टिकट काटेर बिहानै रोल्पातर्फ यात्रा सुरु गरेँ।
२०५६ सालमा लोकसेवा पास गरेपछि पहिलो पदस्थापन जिल्ला सिँचाइ कार्यालय रसुवामा भएको थियो। त्यस्तै संयोगबस अन्तिम सेवा पनि काठमाडौँ बाहिरको जिल्लामा हुने भयो भनेर सोचेँ। रोल्पाको लिबाङस्थित मालपोत कार्यालयमा हाजिर भएको चौथो दिनमा देशभर लकडाउन सुरु भयो। कार्यालयमा सेवाग्राही नआउने भएपछि म जन्मथलो खुंग्रीस्थित आफ्नै घरमा गएँ।
८४ वर्षीय पिताजीसँग भलाकुरी गर्दै दिन बिताएँ। तरकारीका लागि चैते बाँको खोज्न वनमा पनि गएँ। भाइसँग गाई चराउन पनि गएँ। म प्रकृतिप्रेमी पनि भएको नाताले मलाई गाउँको परिवेश नै बढी मनपर्छ। राजधानी काठमाडौँको अत्यासलाग्दो बसाइबाट मुक्ति पाएको महसुस पनि भयो।
गाउँका मान्छेहरुले ‘हाम्रै गाउँका मान्छे हाकिम भएर जिल्लामा आएकोमा धेरै खुशी लाग्यो’ पनि भने। मलाई पनि गौरव लागेको थियो, आफ्नै जिल्लामा रहेर सरकारी सेवा गर्न पाएकोमा। जन्मथलो गाउँकाले मात्र होइन, मलाई जिल्लाभरका मानिसले चिन्न थाले। त्यसअघि मलाई जिल्लाका त के गाउँकाले समेत चिन्दैनथे।
लकडाउनको अवस्था भए पनि मलाई मावलीघर जान मनलाग्यो, गएँ। मावल जान मनलाग्यो, गएँ। किशोरावस्थामा गाई चराउन गएका वनक्षेत्र खोरिया, मजुवा, पाटेभिरसम्म घुम्न गएँ। वनपाखा अनि खोलानालातिर जाँदा मलाई आफ्नो ज्यानमा शक्ति पलाएर आएको महसुस भयो। वनमा पहिलेझैँ गाई चराउन लैजाने चलन हराइसकेकोमा मलाई चिन्ता लागेर आयो। हुन त गाई पालेको भए पो गाई चराउनु। अहिले गाउँगाउँमा गाई-भैँसी पाल्नछाडेको देखियो। त्यसमा पनि मलाई चिन्तै लाग्यो।
मापदण्ड पालना गरेर कार्यालय सञ्चालन गर्ने परिपत्र आएपछि म जन्मथलो खुंग्रीबाट फेरि लागेँ सदरमुकाम लिबाङतिर। म बिरामी अवस्थामै थिएँ। भीडभाडमा रहेर कार्य गर्न सक्ने अवस्था मेरो थिएन। मैले नासु स्तरका कर्मचारीलाई अधिकार प्रत्यायोजन गरेर आरामले बसेर स्वास्थ्यलाई ख्याल गर्दै गएँ।
फेरि कार्यालय नै बन्द गर्ने परिपत्र आएपछि धेरै समयसम्म कार्यालय नै खोलिएन। काठमाडौँस्थित अस्पतालमा फलोअपका लागि आउनुपर्ने भयो। कोरोनाको त्रासका बीच सिडियो कार्यालयको पासका आधारमा एकजना खरिदार साथीले हाँकेको मोटरसाइकलमा लिबाङबाट काठमाडौँ प्रस्थान गरेँ।
बिहान ७ बजे लिबाङबाट मोटरसाइकलको पछाडि बसेर काठमाडौँतर्फ लागियो। ‘मोटरसाइकलमा काठमाडौँसम्मको यात्रा त गाह्रो हुन्छ’ भनेकै थिए कतिपयले। तर के गर्नु समयमा अस्पताल पुग्नु नै थियो मलाई। बुटवल पुगेपछि नै मलाई गाह्रो भइसकेको थियो। बाटो लागेपछि गन्तव्यमा पुग्नैपर्छ भन्ने सोच्दै निरन्तर मोटरसाइकलको रफ्तार र गतिमा चुप लागेर मोटरसाइकलको पछाडि बसि नै रहेँ।
राति ९ बजे काठमाडौँ पुगेपछि मेरो ज्यान थिलथिलो भइसकेको थियो। तीन दिनसम्म मलाई आफू थला परेझैँ भयो। असारको महिना थियो, वर्षादका कारण सितल महसुस भएको थियो। अस्पतालमा फलोअपको काम सकिएपछि कार्यक्षेत्र रोल्पा फर्किनु नै थियो।
मोटरसाइकलमा जाने हिम्मत भएन र एकजना चिनाजानको गाडीमा रातारात भालुबाङसम्म गएँ, त्यहाँ पुग्दा बिहान पाँच बजिसकेको थियो। खरिदार साथी म चढेको गाडीको पछिपछि मोटरसाइकलमा कुदिरहनुभएको थियो। भालुबाङमा गाडीबाट ओर्लिएपछि खरिदार साथीले मलाई मोटरसाइकलमा बसालेर रोल्पा लैजानुभयो।
मालपोत भनेपछि मलाई मन नपर्ने कार्यालय थियो अर्थात् मेरो रुचिको कार्यालय थिएन। मेरा कतिपय साथीहरु मालपोतमा सरुवा भएर जानका लागि तँछाडमछाड गरेको पाएको थिएँ। मलाई चाहिँ चोखो सरकारी तलबमा सन्तोष लिने बानी परिसकेको थियो। कार्यालयमा एकजना वृद्धले हजारका नोटका बिटो कोटको भित्री खल्तीबाट झिकेर दिन खोज्नुभयो। मैले झोक्किँदै भनेँ, ‘यस्तो काम नगर्नुस्, प्रकृया मिलाएर आउनुस्, काम भैहाल्छ नि।’
अर्को पटक कुनै दिन एकजना पैसावाल व्यवसायीले जग्गा रोक्का राखिदिनका लागि फोन गरे, ‘म सिडियोसापसँग कुरा गर्छु, कार्यालय खोलेर मेरो काम गरिदिनुपर्यो। हजुरको टिमलाई म यस्सो हेरुँला।’ मैले कुरा बुझिहालेँ, मलाई घुस खुवाएर काम गराउन खोजे भनेर। यस्तै यस्तै प्रलोभन दिएर कतिपयले मबाट काम लिन खोजे।
मलाई २०७९ सालसम्म रोल्पा मालपोत लिबाङमै बस्नुपर्ने थियो। तर मलाई आर्थिक प्रलोभनमा परेर काम गर्न मन लागेन, स्वच्छ तरिकाले काम गर्न खोजेँ। मालपोतको जागिर मलाई मन नपरेपछि मैले भूमि व्यवस्थापन विभागमा काजमा राखिदिनका लागि इमेल गरेर निवेदन पठाएँ। मलाई विभागले ६ महिना काजमा राख्यो, कामचाहिँ दिइएको थिएन।
२०७७ चैतदेखि २०७८ असोजसम्म विभागमा हाजिर गरेर बसेँ। २०७८ असोजमा खेलकुद मन्त्रालयमा सरुवा मागेँ, उक्त मन्त्रालय सबैभन्दा कमजोर मन्त्रालयमा गनिन्छ। मन्त्रालय प्रशासनले मलाई मन्त्रीको निजी सचिवालयमा खटायो, मन्त्रीका स्वकीय सचिवले मसँग घरिघरि निहुँ मात्र खोज्नथाले। उनले मेरो कुर्सी टेबुल नै कब्जा गरे। दुई महिना बिदा बसेँ र २०७९ असार २३ गतेदेखि अनिवार्य अवकाश लिएँ।
मलाई मालपोत हाकिमको कुर्सी अप्रिय लाग्नुका कारण त माथि नै उल्लेख गरिसकेँ। नेपालमा कुशासनको अन्त्य हुनेमा शंका नै छ। यहाँ फटाहाहरुको जगजगी छ। लुच्चाहरुको बिगबिगी छ।