महेश चौलागाईं
हिमाली जिल्ला जुम्लामा पछिल्लो समय लागूऔषधको प्रयोग र अवैध कारोबार तीव्र गतिमा बढ्न थालेपछि प्रहरी सँगसँगै समुदायस्तरमै चिन्ता बढेको छ।
नियन्त्रणका प्रयास सशक्त रूपमा अघि बढाइरहेको भए पनि तस्कर नेटवर्कको विस्तार, प्रयोगकर्ता वृद्धिदर र सामाजिक बेवास्ताले नियन्त्रण अभियानलाई चुनौतीपूर्ण बनाइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्लाभर गरिएका पछिल्ला निगरानी, पक्राउ र अनुसन्धानले गाजा–चरेसदेखि ट्याब्लेट, सिरप र अन्य मनोप्रभावी पदार्थसम्मको गैरकानुनी घेरा बन्दै गएको प्रहरी नायव उपरीक्षक (डीएसपी) रविन बाबू रेग्मीको भनाइ छ।
‘अनुसन्धान, निगरानी र निवारण– यी तीनै मोर्चामा प्रहरीले कडाइका साथ कदम चालेको छ। तर प्रयोगकर्ता र कारोबारी दुवैको संख्यामा देखिएको वृद्धि गम्भीर प्रश्न बनेको छ,’ उनले भने।
साना समूहदेखि नेटवर्कस्तरका तस्कर सक्रिय
प्रहरीका अनुसार जुम्लामा सुरुमा देखिने साना समूह अब क्रमशः सञ्जाल–आधारित नेटवर्कमा रूपान्तरण हुँदै जिल्लाबाहिरका व्यक्तिसँग जडान हुन थालेका छन्। भारत–नेपाल नाका र बाटोमार्ग प्रयोग गर्ने तस्करी शैली अझै नियमनको चुनौती बनेको प्रहरीले बताएको छ।
प्रहरीले जिल्लाभर गस्ती, शंकास्पद व्यक्तिको निगरानी, गोप्य सूचना संकलन र आकस्मिक चेकजाँचलाई तीव्र बनाएको जनाएको छ।
सामाजिक बेवास्ता र मानसिकता नै पहिलो समस्या
लागूऔषध नियन्त्रणमा सुरक्षातन्त्रभन्दा ठूलो चुनौती सामाजिक मानसिकता र बेवास्ता भएको प्रहरीको विश्लेषण छ। समाजमा अझै पनि ‘गाजा–चरेस त सामान्य हो’ भन्ने धारणा जरा गाडेर बसेको भन्दै डीएसपी रेग्मीले चेतावनी दिए।
भन्छन्, ‘सामाजिक मान्यता नै कमजोर हुँदा अभिभावकको निगरानी हराउँछ, विद्यालय स्तरमा सचेतना कमजोर रहन्छ, अनि त्यही ठाउँबाट दुर्व्यसन व्यापक रूपले फैलिन्छ।’
त्यसैले प्रहरीको मूल्यांकनमा अब नियन्त्रणभन्दा बढी सुधार र व्यवहार परिवर्तन प्राथमिक हुन थालेको छ। यो सन्दर्भमा सुधार केन्द्र र परामर्श केन्द्रको पहुँच विस्तार, पुनर्स्थापना कार्यक्रम, मनोसामाजिक सल्लाह र जोखिम समूह पहिचान अपरिहार्य भएको प्रहरीले औंल्याएको छ।
बजार, चोक, संवेदनशील नाका र भीडभाड क्षेत्रलाई प्राथमिकता दिएर सीसीटीभी जडान र आधुनिक निगरानी प्रणाली विस्तार गरिएकाे भए प्रहरीलाई अझ सहज हुने रेग्मीले जानकारी दिएका छन।
अभिभावक, विद्यालय, स्थानीय तह, सामुदायिक संगठन र युवा समूहबीच संयुक्त अभियान र सहकार्य बिनाको नियन्त्रण दीर्घकालीन रूपमा सफल नहुने प्रहरीको निष्कर्ष छ।
‘कानुन, निगरानी, सुधार र शिक्षा यी चारै मोडेल एकसाथ नचलाए यो जंग जितिँदैन,’ डीएसपी रेग्मीको भनाइ छ।
जुम्लामा लागूऔषधविरुद्धको लडाइँ अहिले केवल प्रहरी केन्द्रीत मुद्दा नभई सामाजिक, मनोवैज्ञानिक र पारिवारिक संरचनासँग गाँसिएको विषय बनेको छ। प्रहरी सक्रिय भए पनि समाज जागेन भने समस्या अझ जटिल हुँदै जाने स्पष्ट सन्देश प्रहरीले दिएको छ।
जिल्ला प्रहरी कार्यालयको भनाइ अनुसार, समुदाय–आधारित अभियान, सचेत अभिभावक, सजग विद्यालय र जिम्मेवार युवा पिँढीको सहभागिता बिना जुम्लालाई लागूऔषध–मुक्त बनाउने लक्ष्य चुनौतीपूर्ण नै रहन्छ।
बालेनको अभिव्यक्तिपछि उब्जिएको परिस्थिति
‘प्रिय तिमीले एक्लो बनायौ’
काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन
गाउँ र आमाहरू
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै
भोइस अफ नेपालदेखि ‘कर्णाली तिर’सम्मको : आवाज बनेका अर्जुन सुनार
ब्राजिललाई मोरक्कोको चुनौती
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया