प्रिय बा, भन्नू त के नै थियो र!

जीवन डाँगी

काठमाडौं
Break n Links
Break n Links

‘नयाँ’हरूको बिगबिगी अनि राजनीतिक चकचकीका बीच मिलेका दुई ठूला र पुराना दलको ‘गठजोड’ले सरकारी १०० दिन गुजारेको छ। राजनीतिमा झाङ्गिएको ठगी, अपराध र अराजकताबीच दुई ठूला दलको सरकार साझेदारी सुरु हुँदै गर्दा बससँगै खसेका ६५ जना मानिस त्रिशुलीमा बग्दैबग्दै कतै टाढा पुगिरहेका थिए।

सय दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्झिरहेका रहेछन्, ‘जब म नयाँ प्रधानमन्त्रीको रूपमा शपथ लिँदै थिएँ, त्यसको केही दिन अघिदेखि नै हामी त्रिशुली नदीको सिमलतालमा तीर्थयात्री बोकेको बस यात्रुसहित बेपत्ता भएको दुःखद्घटनाबाट शोकमा थियौँ। त्यसको केही दिनपछि सौर्य विमान दुर्घटना, नुवाकोटमा हेलिकप्टर दुर्घटना र भारतीय पर्यटक बस दुर्घटना भयो। गएको असोज १० देखि १३ गते अकल्पनीय बाढी पहिरोको चपेटामा मुलुक पर्‍यो। यसै अवधिमा देशभर ७ हजार १३५ वटा विभिन्न प्रकारका विपद्जन्य दुर्घटनाहरु भए। प्राकृतिक विपत्तिले धनजनको ठूलो क्षति गर्‍यो…।’

भन्नू त के नै छ र! सय दिनमै भएन, बाँकी बितिजाने अरु केही सय दिनहरूमा पनि के नै होला र!

सय दिन भनेको केही होइन। हरेक मन्त्रालयहरूमा नयाँ मन्त्री फेरिँदा केही दिन त उसलाई त्यहाँको वातावरण बुझ्नै लाग्छ। कर्मचारी बुझ्न समय लाग्छ। कामका तौरतरिका बुझ्न समय लाग्छ। तर सरकारमा जान र आउन बानी लागिसकेका हाम्रा नेताहरूका हकमा भने यो कुरा लागु हुँदैन। उसै पनि हरेक राज्यका प्रशासनिक कामहरूमा मन्त्रीहरूको भूमिका नै के हुन्छ र। कर्मचारी प्रशासनले थेगेको देशको प्रणालीमा मन्त्री त फगत रमितेमात्रै हुन्छन्। तर साँच्चिकै काम गर्नेहरूका लागि सय दिन भनेको धेरै समय हो। अथाह समय हो। 

विपदकै बीचमा बनेको थियो नयाँ सरकार पनि। विपदका आँकलन र अनुमान हुँदै गर्दा ‘पहिरो कहाँनेर खस्छ हामीलाई थाहा हुन्छ र?’ भन्ने प्रधानमन्त्रीबाट सय दिनमै के न उपलब्धि होला भन्ने त आशा नै थिएन। तथापि सरकारले सय दिन गुजारेको छ। सय दिन भनेको राजनीतिक भाषामा सरकार कामको मेसो समाउन दिइएको एउटा अवधि हो। यसलाई राजनीतिक भाषामा सरकारको ‘मधुमास’ पनि भनिन्छ। तर राजनीतिमा चलेको रोमाञ्चक भाषाले यसलाई ‘हनिमून पिरियड’का रुपमा लिइन्छ। योबीचमा प्रतिपक्षले समेत सरकारको उतिसारो आलोचना गर्नहुन्न भन्ने परम्परा छ। अर्थात् यो बीचको समय ‘पर्ख’ र ‘हेर’ भन्ने पनि हो। 

तर ओलीको यो तेस्रो इनिङको सुरुवात सुखद रहेन। सुरुदेखि नै प्रतिपक्षको बलियो अवराधो सामना गरेको ओली सरकारले गुजारेका यी सय दिनका बीचमा अनेकन विवादहरू सतहमा आए। सदन र सडकमा विरोध अनि आन्दोलनहरूको सामना गरिरहेको सरकारका प्रधानमन्त्री ओली सय दिन गुज्रिँदै गर्दा एउटा अत्यन्त गम्भीर नैतिक विवादमा मुछिए। एउटा व्यापारीको ‘दान’मा भव्य पार्टीमहल खडा गर्न कस्सिएका ओलीको नियत र नियति यस्ता थुप्रै विवादहरूले घेरिएका छन्। 

सय दिने उपलब्धिलाई ओलीले लगभग ३ हजार शब्दमा अनुबन्ध गरेका छन्।

सुरुमै ओलीले भने ‘आज हामीले सत्ता सम्हालेको एक सय दिन पूरा भएको छ। तर म यहाँ तपाईंहरूलाई तथ्यांकको लामो सूची सुनाउँदैछैनँ। किनकि अंकहरू आफैँमा के हुन् र? वास्तवमै महत्वपूर्ण कुरा भनेको ती अंकहरूले छोएका जीवन, हल्का बनाएका पीडा र देखाएका सुन्दर भविष्य हुन्।

साँच्चै हो, के भयो र, के थियो र, अनि के छ र सुनाउनलाई!

आम नागरिकलाई प्रधानमन्त्रीले धेरै ठाउँमा ‘प्रिय’ भनेर सम्बोधन गरेका छन्। सरकारका फेहरिस्तसँगसँगै उनले आफ्ना भावनाहरू यो सय दिने उपलब्धिमा मिसाएका छन्।

‘गएको असार ३१ गतेको दिन, जब मैले पदको सपथ लिँदै थिएँ, मैले कुनै ईश्वरको नाममा होइन, तपाईंहरूको नाममा सपथ लिएको थिएँ। किनभने यो सरकार तपाईंहरूको आशा,तपाईंहरूको सपना, र तपाईंहरूको विश्वासले बनेको हो। त्यो दिन मैले तपाईं नाममा सपथ लिनुको २ वटा कारण छन्’ ओलीले ती दुई कारण हुन् ‘पहिलो, तपाईंकै विश्वास र भरोसाका कारण यो सरकार बनेको हो। दोस्रो, यो सरकार तपाईंकैलागि बनेको हो।’

सरकारका सबै मन्त्रालयले यो सय दिनमा २७४ काम गरे। ती भनेका बैठकदेखि उद्घाटनसम्मका कार्यक्रमहरू छन्। पहिलो सयमा सरकारले गर्छु भनेको काममध्ये ओलीका अनुसार यो लगभग ७० प्रतिशत काम फत्ते भएको हो। यो बीचमा प्राकृतिक विपत्तिहरूले नबिथोलेको भए अरु पनि काम गर्ने ओलीले आशा गरेका छन्। 

‘यदि प्रकृति प्रतिकूल नभइदिएको भए बाँकी ३० प्रतिशत काम पनि यो सरकारले पूरा गर्थ्यो’ ओलीले भनेका छन्। 

सय दिन पुग्दै गर्दा ओलीले प्रतिपक्ष दलहरूलाई एउटा चेतावनी पनि दिइछोडेका छन्। सडक र सदनमा सरकार घेरेर बसेका प्रतिपक्षहरूलाई उनले सरकार ढाल्ने सपना नदेख्न भनेका छन्। प्राकृतिक विपदका बेला सरकार हराएको भनेर हल्ला पिटिरहेको प्रतिपक्षी नेकपा माओवादीले अब सडक आन्दोलनको तयारी गरिरहेको छ। सहकारी ठगीमा पक्राउ परेका आफ्ना सभापतिको पक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी साता दिनदेखि सडक आन्दोलनमा छ। 
ओलीले सहकारी ठगीविरुद्ध सरकारले चालेका कदमलाई पनि आफ्नो प्रमुख उपलब्धि भने मानेकै छन्। उनले आफ्नो प्रगती विवरणमा लेखेका छन्। 

‘सहकारी ठगी गर्ने व्यक्तिहरुमाथि कानुनी कारवाही सुरु भएको छ। हालसम्म ६ सय भन्दा माथिलाई कानुनी कारवाही गरिएको छ। ५ सय ७५ भन्दा बढी त जेलमै छन्। सहकारी ठगहरूलाई कारवाही गर्ने मात्र होइन, वचतकर्ताको वचत फिर्ता गर्नको लागि आवश्यक पर्ने सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधीकरण स्थापना गर्ने काम पनि सँगसँगै अघि बढाइँदैछ’ उनले लेखेका छन् ‘सरकारले विकास र सुशासनका लागि सही दिशामा काम अघि बढाएकाले भ्रष्टहरुको मोर्चा बन्नु बेग्लै कुरा हो। तर, म प्रतिवद्धता दोहोर्‍याउन चाहन्छु– राष्ट्रियताको रक्षा, राष्ट्रिय हितको संरक्षण, सुशासन र विकासका काममा सरकारले कसैसँग कुनै सम्झौता गर्दैन।’ 

विपदका केही दु:ख, भावना र केही बुँदाका उपलब्धिहरूलाई पुकार्दै सय दिनमा ओलीले विपक्षीलाई ‘दीवास्वप्न’ नदेख्न चेतावनी दिएका छन्। 

‘सरकारले १०० दिन पूरा गरेपछि होइन, सरकार बनेकै दिनदेखि बिरोध सुरु गरियो। सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने जस्ता अफवाह पनि फैलाउने गरिएको छ’ उनले भनेका छन् ‘यो काम गर्न नदिने उद्देश्यले चलाइएको हल्ला हो। कांग्रेस र एमालेजस्ता इतिहास र हैसियत भएका दलहरु मिलेर बनेको सरकार ढल्ने दिवासपना कसैले नदेखे हुन्छ।’

प्रकाशित मिति: : 2024-10-23 17:23:00

प्रतिकृया दिनुहोस्