मिलन तामाङको ‘जुगल हिमाल’ पुस्तक विश्व-प्रतिष्ठित केन्डल माउन्टेन फेस्टिभल (युके)मा विमोचन हुने

पर्यटनकर्मी तथा समाजसेवी मिलन तामाङद्वारा अंग्रेजी भाषामा लेखिएको ‘Last Treasure of The Himalayan Frontier’ (जुगल हिमाल) पुस्तक बेलायतमा नोभेम्बरमा आयोजना हुने केन्डल माउन्टेन फेस्टिभलमा विमोचन गरिने भएको छ।

पुस्तकले जुगल हिमालको आरोहण इतिहास, त्यस क्षेत्रको प्राकृतिक सौन्दर्य, धार्मिक र सांस्कृतिक महत्त्व तथा भविष्यका चुनौतीहरूलाई समेटेको छ। साथै, विश्व तापमान वृद्धिको प्रभाव र भेह्युल नेपेमाछाल क्षेत्रमा परेको असरबारे पनि विस्तृतमा विवरण गरिएको छ।

यस कृतिमा जुगल हिमालको धार्मिक र आध्यात्मिक पक्षसँगै, स्थानीय समुदायले हिमालप्रति राखेको अटल विश्वास र सम्बन्धलाई पनि प्रस्तुत गरिएको छ। लेखकको भनाइमा पुस्तकले यस क्षेत्रमा भएका कठिनाइ र सहकार्यका अनुभवहरू र भविष्यमा पर्यटन प्रवर्द्धनका सम्भावनाहरूलाई उजागर गर्ने उद्देश्य राखेको छ। यात्राको मार्गदर्शन र नक्साहरूले इच्छुक पर्यटकहरूलाई आवश्यक जानकारी दिने प्रयास गरिएको छ।

केन्डल माउन्टेन फेस्टिभलमा विशेष प्रस्तुति

पुस्तक नोभेम्बर २३ का दिन बिहान ११ बजेदेखि ११:४५ सम्म Basecamp Village Adventure स्टेजमा सार्वजनिक गरिनेछ। लेखकले आफ्नो अनुभव बाड्ने र दर्शकहरूको प्रश्नहरूको उत्तर दिनेछन्। फेस्टिभलमा पुस्तक बिक्रीका लागि पनि उपलब्ध हुनेछ।

केन्डल माउन्टेन फेस्टिभल विश्वकै प्रतिष्ठित पर्वतीय महोत्सवमध्ये एक हो, जहाँ ३० हजारभन्दा बढी पर्यटकहरू सहभागी हुन्छन्। यसै अवसरमा ब्रिटिस आरोही तथा स्किरहरुले निर्माण गरेको जुगल हिमाल क्षेत्रको पहिलो स्की अभियानको ३२-मिनेटको वृत्तचित्र पनि प्रदर्शित गरिनेछ, जसमा जुगल क्षेत्रको प्राकृतिक सौन्दर्य र सफाइ योजना समेटिएको छ। साथै Mountain Queen: The Summits of Lhakpa Sherpa वृत्तचित्र पनि प्रदर्शन गरिने कार्यक्रम रहेको छ।

जुगल हिमाल पुस्तकले आगामी २०२५मा क्यानाडामा आयोजना हुने बान्फ माउन्टेन बुक फेस्टिभलको प्रतियोगितामा पनि भाग लिने मौका पाएको छ। यो महोत्सवलाई विश्वकै सबैभन्दा ठूलो पर्वतीय पुस्तक फेस्टिभल मानिन्छ।

लेखकको अनुभव र प्रेरणा

लेखक मिलन तामाङ भन्छन्, ‘म कुनै प्रख्यात लेखक वा पर्वतारोही होइन। म जुगल हिमालको काखमा हुर्किएको एक साधारण व्यक्ति हुँ। बाल्यकालमा हामीले हिमाललाई भगवानको रूपमा मानेर पूजा गर्थ्यौं। यही हिमाललाई नजिकबाट देख्न र अनुभव गर्न पाउने रहरका साथै यस  क्षेत्रको प्रचार प्रसारका लागि  अभियानको सुरुवात गरिएको हो।’

तामाङले पुस्तकमा जुगल हिमाल क्षेत्रको प्रचार-प्रसारका लागि गरेका प्रयासहरू, त्यस क्रममा भोगिएका चुनौतीहरू र त्यसले स्थानीयमा ल्याएको परिवर्तनको कथा प्रस्तुत गरेका छन्।

उनले भने, ‘भारतमा मजदुरी गरिरहेका धेरै स्थानीयहरू जुगल हिमाल आरोहण अभियानको खबरले गाउँ फर्किएर पर्यटनमा संलग्न भएका छन्। यस अभियानले आर्थिक र सामाजिक परिवर्तन ल्याउन ठूलो भूमिका खेलेको छ।’

पुस्तकको विशेषता र योगदान

जुगल हिमाल श्रृंखला काठमाडौँबाट १४० किमि दूरीमा रहेको छ, जहाँ ६ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहणका लागि खुला गरिएका छन्। लेखकका अनुसार, जुगल पर्यटन  क्षेत्रका लागि प्रबल सम्भावना भएरपनि लामो समयसम्म अज्ञात रह्यो, तर पछिल्लो समय पर्यटक र आरोहीहरूका लागि नयाँ गन्तव्यको रूपमा लोकप्रिय बन्दै गएको छ।

‘यो पुस्तकले मलाई जीवनमा सिकाएको महत्त्वपूर्ण कुरा भनेको निरन्तरता र दृढ इच्छाशक्ति भएमा असम्भव केही छैन भन्ने हो,’ लेखक तामाङले विचार राखेका छन ।  उनले पुस्तक तयार पार्न सहयोग गर्ने सबैप्रति हार्दिक आभार प्रकट गर्दै भनेका छन्, ‘यस अभियानले हिमालको इतिहासमा एउटा महत्वपूर्ण उदाहरण प्रस्तुत गरेको छ, र मलाई विश्वास छ, यो पुस्तकले पनि अरूलाई प्रेरित गर्नेछ।’

तामाङको टोलीले गत वर्ष पनि जुगल नाइट कार्यक्रमसहित केन्डल माउन्टेन फेस्टिभलमा सहभागिता जनाएको थियो।

‘जुगल हिमाल’ पुस्तकमा ब्रिटिश पर्वतारोही पाउलिन स्यान्डर्सन लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठित ब्यक्ति हरुको प्रेरणादायी प्रस्तावना समावेश छ। नेपाल तथा अन्तराष्ट्रिय पर्यटन क्षेत्रका विज्ञहरुले पुस्तकबारे चासो राख्दै शुभकामना दिएकोमा तामाङ थप हौसिएका छन।

यस पुस्तकको सम्पूर्ण डिजाइन, मुद्रण, र वितरण म्याप हाउसले गरेको हो। यसको मूल्य नेपालमा रू. १,५०० र अन्तर्राष्ट्रिय बजारमा २५ डलर तोकिएको छ।

प्रकाशित मिति: : 2024-10-24 21:11:00

प्रतिकृया दिनुहोस्