‘वसन्त बिदाइ’, यो समय औधी मनपर्छ मलाई। म्यान्माको ऋतुमा यही याम मेरो आफ्नोझैँ लाग्छ। किनभने सरकारी स्कुलको बिदाइमा नेपाली भाषा–साहित्य पढ्ने वातावरण त्यहाँका प्रवासी नेपालीहरूले मिलाएका छन्। हरेक नेपालीले आफ्ना बालबच्चा पाठशालामा भर्ना गरेरै आफ्नो मातृभाषाको जगेर्नाका निम्ति पुस्तान्तरण गरेको ४–५ पुस्ता भएको शिलालेख–किंवदन्ती हेरेर भन्ने गर्छन्।
पेशाले शिक्षक हुँदा सबै नेपाली जमातमा नेपाली भाषा छाँट्न पाउँदा एक प्रकारको आनन्द लाग्छ। बोल्न र धेरै खुरापाती गर्न बडो मज्जा लाग्छ। आमाले ‘आकाश तेरो नामको चिठ्ठी छ’ भन्दा उत्सुकता पूर्वक दौडेँ। कोठाको ढोकामा चुक्कुल लाएर बसेँ। मनमनै इष्टदेव सम्झेर खाम खोलेँ। ‘सेवामा...विषय, वसन्तकालीन पढाइ सम्बन्धबारे’ भन्दा एक कुनाले हरेस खायो। अरू थप हेर्ने मन भएन। ठूलो श्वास फेरेर ढल्केँ। टाउको निकै भारी भएको महसुस गरेँ। मन न हो, चाँडै हरेस खाने भएछ।
मन अति चञ्चल नभएपनि समुद्रको छालझैँ मुटुमा धक्का दिइरहेको थियो। अशान्त र दुःखी अनुहार लुकाएर ऐना हेरेँ। मुस्कुराएर देखाएँ, आफैँलाई खल्लो महसुस भइरह्यो। हुन त मन भारी हुनु स्वाभाविक हो। गत तिहारमा भैलो खेल्दा बल्लतल्ल चौका मारेर उसको झोलामा चिट्ठी राखेको थिएँ। त्यसैको प्रतीक्षा गर्दै कति दिनहरू भाँचेको थिएँ तर पनि मेरा आशाहरू निराशा कहिल्यै बनेनन्। एउटा तन्तुमा अल्झिरहेँ (स्वास रहुञ्जेल आश हुन्छ भन्छन्।) बाहिर निस्केर बाइक चढेर हिडेँ। गन्तव्यहिन, बेवारिस गुडेर गाउँ चालेँ। मन नभई चिनेका, भेटिएकालाई हाँसेर दाँत देखाएँ। लावारिस कतिन्जेल डुलेँ, याद रहेन।
साँझ परेछ। आमाले ‘साँझको बत्ती बाल्न आइपुगेस्’ भनेको याद आयो र सिधा घरतर्फ लागेँ। घर नजिकको बाटोमा मान्छेको भीडले खैलाबैला गरिराथ्यो। केही भो कि भनेर नियाल्ने अठोटमा घाँटी तन्काएरै हेरेँ, ऊ घर फर्केर आएकी रहिछ। (छातीबेग जोडले ढुकढुक्याएको आफैँले सुनेँ।) हाम्रो गाउँ सानो भएका कारण... भन्दा नि ४–५ सय घरको टोली नै थियो तर हरेक कुराको चहल पहलमा सबैलाई थाहा हुने गर्थ्यो। कुनै सामाजिक सञ्जाल नहुँदा पनि (मेरो मुटु जोडले धड्किरह्यो, आँखा धमिलिन खोज्दै थिए।) नजिककाले मेसो पार्छ कि भनेर एकोहोरो बाइक हाँकेँ (उसको एक झलक नै काफी थियो, दिन कटाउन)
'एउटा पागलपन भन्दा पनि तपस्या हो कि! ' त्यो मुहारमा खै के छ थाहा छैन, एक चुम्बकसरि तानिन पुग्छु। अघिको मन, टाउको भारी कता गयो (चैट् भयो)। भगवानको थान अघि धूप बत्ती बालेर शंख, घण्टी बजाएर तीन पटक ढोगेर आमा बुबालाई ढोगेँ। आशीर्वाद थापेर आफ्नो काम गर्न आफिस रुम छिरेँ। नखोलिएका खामहरू खोलेर हेरेँ। झट्ट गर्नुपर्ने काम नहुँदा भिन्नै छुट्याएर राखेँ।
हुन त सम्पन्न परिवार भएका कारण समाजमा अलि बढी मानसम्मान मिल्नु स्वभाविक थियो। बाबाको रूवि व्यापार भएकै कारण तीन/चार पुस्ताले काम नगरे पनि म खुवाउन सक्छु भन्ने धाक दिइरहनुहुन्थ्यो। त्यसैले नै बाबाको कामलाई मैले लिन मानिनँ। तीन/चार वटा माइन र व्यापारिक कामहरूले सधैँ व्यस्त भएर महिनामा एक दिन पनि बाबालाई पाउन्नथेँ।
बुबा भए पनि एकल आमाको दुःख र स्कुलहरूको प्रोग्राममा अविभावकमा आमा मात्रकाे हस्ताक्षरले हुर्केपछि...मनमनै एउटा प्रतिज्ञा लिएको थिएँ। 'तिमीलाई छाडेर घरबाटै कहीँ जाँदिन, सधैँ तिम्रो साथमा बस्छु,रहनेछु' त्यसैले कलेज पढ्दा अर्को शहर जानु पर्दा आमालाई लिएरै गएको थिएँ।
एक्लो छोरा भएकै कारण हल्का अप्ठ्यारो त थिएँ नै, तर आमाको हरेक पीडा नजिकबाट नियालेको हुँदा हल्का भावुक पनि छु नै। उमेरले २८ नाघेको भए पनि मैले देखेकै दिनबाट उसैप्रति समर्पित थिएँ भने आजसम्म पनि उसैमा अडिक रहिरह्यो। स्कुल पढ्दा सिनियर भएकै कारण क्लास अलग थियो, एउटै कोठामा पढ्ने सम्भावना थिएन।
पढन्ते भएकै कारण पढाई, घर र आमालाई सघाउने, आवश्यकताअनुसार खटिने आदतले बाहिरी संसारको महत्व त्यति थिएन। ब्रेक टाइममा सबै केटाहरू एउटा क्लासमा झुमेको देख्दा हाँसो निस्कियो। यिनीहरू सधैं यसै गर्छन्, (कोही राम्री केटी देख्नै हुँदैन) सोचेँ नयाँ चरी स्कुलमा उडेर आइछ, सरासर आफ्नो कुर्सीमा बसेँ। शिक्षकको प्रवेशले शान्त बन्यो कोठा र कालोपाटीमा सरासर सारेका अक्षर कापीमा जस्ताको त्यस्तै सारेँ। यो पनि वाक्क लाग्ने स्कुल लाइफ भन्दा फरक पर्दैन।
सुगा पढाइ, कपि राइट...,अरु धेर के बखान गर्नु। झ्याउ लागेर एउटा क्लास मोडेर पुस्तकालयतर्फ हिडेँ। स्कुलमा भएको सबैभन्दा सुकुन र आनन्द लाग्ने ठाउँ भन्नु नै यही एउटा मात्र छ, जहाँ बसेर म घन्टौँ हराउँछु। सबै जसो किताब पढेर सकिए पनि केही नयाँ छन् कि भन्ने खोजमा दराज नियालेँ।
पुस्तक निकाल्दा पल्लोपट्टीको एक जोडा आँखाले अनायास आफ्नो वस्तुझैँ ध्यान खिच्यो (पढाइबाहेक अन्त ध्यान लाउनु हुन्न भनेर यतिकै एक कुनामा बसेर पढेँ) म अलग संसारमा डुल्न थालेँ। पाले दाइले आजलाई यति नै, अबेर भयो, भोलि कन्टिन्यु गर्नोस् भन्दा म र एक जना महिला मात्र रहेको थाहा पाएर किताब ठाउँमा राखेर कतै नहेरी बाइक भएकाे ठाउँबाट बाइक चढेर हाँक्न लागेको 'आज निकै अबेर भएछ, साँझ पनि पर्नै लागेको देखेँ' पछाडिबाट पाले दाइले मेरो नाम उच्चारण गरेको आवाजले रोकिएँ।
'आकाश! सिमा बैनी एक्लै रहिछन्, तिम्रो घरतिरै बाटो पर्छ। हुन्छ भने उसलाई घरसम्म छाड्दिन्छौ?'...भन्दा एउटै बाटो पर्दा किन भाउ खोज्नु भनेर 'हुन्छ' भनेँ। पछाडिबाट म चढेँ ल भन्ने आवाजले यसो हेरेँ, कसलाई चढाएछु भन्ने त थाहा होस् भनेर। उही आँखा देख्दा झसङ्ग भएँ। गहुँगोरी पातली, लामो चुल्ठो अगाडि झारेर झोला बोकेकी, हातमा टिफिन बक्स,अलग शोभायमान ,आकर्षित रुपरंगले सजिएकी उसलाई देखेर अक्क न बक्क भएँ। मैले आजसम्म विपरीत कसैलाई यसरी नियालेको थिइनँ। बायाँपट्टीको छाती भुक्क फुल्यो। बाइक पछाडि चढाएर हाँकेँ।
'केही थाहा थिएन। घर कता पर्यो? गाउँ कुन हो? कहाँ पुर्याउने?' एकोहोरो दौडाउँदा उसले सम्झिछ, मलाई सबै थाहा छ (कता जाउँ जाउँ भएर मेरै घरको बाटो लागेँ, पाले दाइले बाटो पर्छ त भन्थे) उसको कपाल हावाले उडाउँदै मसँग जिस्किरह्यो। म हावाकाे बेगसँगै ढुकढुकीसँग मेच खेल्दै थिएँ। उसले सोधी, 'दाइ मलाई अगाडिको गल्लीमा छाड्दिनोस् ल। सामान लिन छ, यहीँबाट लिएर जान्छु।' मलाई थाहा थिएन, मेरो घर नजिकको गल्लीमा घर रहेछ उसको। केही नबोली उसले भनेकाे ठाउँमा झारिदिएँ र सरासर घर आएँ। आज भिन्नै महसुस गरिरहेको थिएँ। मनमा काउकुती लागेझैँ खै के भइरहिरह्यो, एक जोडी आँखा, यत्तिमा अल्झिरहेँ। भोक थिएन, नयाँ उर्जा हो या अरु केही, संसार राम्रो देखिएको थियो, रमाइलो लागिरहेको थियो।
भोलिपल्ट स्कुलमा सधैंझैँ व्यस्त रहेँ। केटाहरू आकाशको सम्पत्ति भनेर जिस्किरहेका थिए। 'ध्यान पुर्याउनुपर्छ है भनेको सुन्दा नबुझेर फर्केर हेरेँ। नजानेझैँ गरी बसेका उनीहरूको अनुहारमा एक प्रकारको आक्रोश थियो। मैले केही बुझिनँ र क्लासमा अल्छी लागेर पुस्तकालय गएँ। पुनः किताबहरूलाई घोइरिएर नियालेँ। एक कुनाले ती जोडी आँखा खोजिरहे। नाम सिमा... पाले दाइबाट सुनेको, त्यो झलक, अलग सुन्दरता, पढाइभन्दा उसको विषयमा जान्ने इच्छा बढी भयो र उठेर हिडेँ बास्केट बल खेल्न।
मेरो पढ्नुबाहेक बास्केट बल र टेनिसमा बढी रुचि थियो। नगरीयस्तरबाट खेल्थेँ। प्राक्टिस गरिरहन्थेँ। यसरी नै ती नयनको प्रतिक्षामा दसैँ सकियो। तिहार छेका आ-आफ्नो गाउँबाट भैलीहरूको टोली शहर जान्थ्यो। देउसी-भैलो खेलेर जम्मा गरेको पैसाले गाउँमा चाहिने मठमन्दिर, पाठशाला, कार्यालयहरू निर्माण गर्ने काम सम्बन्धित समितिले गर्थ्यो। जसमा गाउँका युवा-युवतीहरूले प्राक्टिस गरेर नाच्ने, गाउने, बजाउने अभिवार लिनु पर्थ्यो।
टिम लिडरले दिएको जिम्मा सबैले जसरी भए पनि पूरा गर्नुपर्थ्यो। मेरो भागमा त्यस्तो केही पर्दैनथ्यो तर यस पटकचाहिँ गितार सिक्ने रहरले मान्छे खोज्दा बाबाभन्दा सानै थिए एकजना दाइ। मैले चिन्थेँ उनलाई, धेर मिजासिला र गितार बजाउन सिपालु थिए। हामी ५–६ जना जम्मा भएर उनलाई भेट्ने निधो गर्यौं। समय मिलाएर उनकै घर गएर भेट्न जाँदा मेरो घर पछाडिको गल्लीमै रहेछ। म हाँसेँ। यतिका दिनसम्म मलाई यो दाइको घर थाहा थिएन। अतिथि सत्कारमा पानी लिएर निस्केकी उसलाई देखेपछि झन मेरो होश नै गुम्यो।
उसको मन्द मुस्कानमा गाडिने डिम्पल बेग्लै राम्रो थियो। दाइ भन्दै थिए 'सानैबाट मावलमा हुर्केकी हुँदा बल्ल स्कुल सिफ्ट गरेकी।' उता ११–१२ पढ्ने सुविधा नभएकाले बल्ल बल्ल घर आएको बताउँदै थिए। 'मैले त एउटा छोरा मात्र सम्झेको थिएँ, छोरी पनि रैछिन्' भनेको सबैले गलल्ल हाँसेर मजाक उँडाए। 'तेरो दुनियाँ अलग भएर हो' भन्दा रातो मुख पारेछु। दाइले भोलिबाट सिकाउने निधो गर्नुभयो र हामी गितार किन्न हिड्यौं।
उसको एक झलकले दिन बिताउन एकदम सजिलो भइराथ्यो। गितार सिक्ने बहानाले मन शान्त थियो। मनमनै गाह्रो पनि लागिरहेथ्यो। (बुबासँग गितार सिकेर छोरीका लागि गित गाउने योजना बुनिरहेको थिएँ, किनकि त्यो समय बेग्लै रमाइलो थियो।)
साँझ पख केटाहरू जम्मा भएर... मन परेकी केटीको घर नजिक... गीत गाएर इम्प्रेस गर्ने भिन्नै चलन छ हाम्रोतिर। जसमा मायासम्बन्धी आफ्ना भाव पनि पोख्न मिल्ने, गीत पनि गाउन मिल्ने, कसैलाई थाहा पनि नहुने। म मनमनै लड्डु फोरिरहेको थिएँ। दैनिकीका साथ भैलेहरूको टोलमा बाजासम्बन्धी अभिवार लिएँ, केही काम गरेर देखाउने मन थियो। किनकि नाच्ने समूहमा उसको प्रभाव धेर थियो। नाच्न पनि निकै शिपालु देख्दा फुरुङ्गै थिएँ (त्यता हेरेर यता बजाउन बिर्सन्थेँ), हाम्रा रुचिहरू सबै एकै एकै हुँदा मनमनै आफ्नो बनाइसकेको थिएँ तर बाहिर भने केही नभए सरह, एक झलकमा दिन कटाउँथेँ।
बेलुका निद्रादेवी घुम्न जान्थिन्, मेरो नजिक नपरेकी निद्रादेवी बोलाउन र समय खेर फाल्न आफ्ना मनका भाव पोख्दै कापी भरेँ। चित्त नबुझेर चात्दै नयाँ बनाउने क्रममा कति फाँडिए। कोठाभर कागजका टुक्राले भरिए, एउटा ढंगको चित्त बुझ्दो लेख्न किन, आफैँलाई साेधेँ, जाबो एउटा प्रेमपत्र लेख्न सकिनस् भनेर आफैँलाई साेधेँ। हैन! म फिल्मीवाला कहिलेबाट बनेँ? कसैलाई एक झलकमा माया गर्नु, उसैप्रति मोहित बन्नु, उसैसँग जीवन जिउन चाहनु अलि धेर भो कि!
तर एउटा प्रेमपत्र तयार गर्न सकिनँ। नाकाम कोसिसहरूको कडा मेहनतले...
प्रिय काली, धेरै स्नेह।
तिमीलाई भेटेपछि मेरा हरेक स्वप्नहरू साकारझैं लाग्छन्। तिम्रो हाँसोमा मोहित आँखा लजाउँछन्। ती गहिरा नजरहरूले बोलेको भाव फुकाउन समय लाग्छ तर अर्थ खुलाउन असमर्थछु। ती केशहरू सलबलाएको देख्दा अनुमति लिएरै खेल्ने मन छ। तिम्रो झिनो स्वरले कानसम्म ठोक्किँदा एक प्रकारको उर्जा भर्छ, त्यसैले होला प्रत्येक स्वप्नमा रंगिन पुतलीहरूले हामी हिँड्ने बाटोमा फूलसरि बिछाएर वातावरण रमाइलो बनाउँछन्। जसमा तिमी र मेरो संसार बेग्लै बन्छ। मेरो सर्वस्व हौ भन्दिनँ तर आमापछिको मेरो सबै तिमी हौ। तिमीसँगै नयाँ संसार बनाउने योजनाहरू कुँदिरहेछु, तिम्राे आगमनमा दिनहरू भाँचिरहेछु। मेरो मनसम्मको ढोका सधैं तिम्रा लागि खुल्लै छाडेको छु। पुतली सरह उडेरै तिमी आउने बाटो पर्खी बसेछु।
उही तिम्रो माया गर्ने अनाम
चित्त नबुझे नि पत्र तयार भयो। अब अर्को काम थियो कसरी दिने? थाहा पाए बेइजत हुने हो कि! सबैलाई भनेर कुटाउने हो कि! चिन्ताले बेग्लै प्रेसर दियो।यतिका दन निद्रा मारेर पोखेका भावहरू जसरी भए पनि उसको हातमा थमाउनु नै पर्छ भन्ने अठोटले निदाएछु।
माया खै के हुने रहेछ, न रुपरंग, न धनी-गरिब, उचनिच,न उमेर खै के खै के बेग्लै नशा रहेछ। लक्ष्मी पूजाको दिन भैलो खेल्ने टोली जम्मा हुँदै थियो। मेरा आँखा उसैको प्रतिक्षामा थियो। मन आत्तिएको थियो। कस्ती भएर आउने हाेली भनेर घाँटी लामो बनाइरहेँ। त्यत्ति समय लागेन, साथीहरूसँग आइपुगी। नेपाली पहिरनमा (चौबन्दी र फरिया) सजिएकी ऊ धेरै मायालु देखिएकी थिइ। चुरा र पायलको आवाजले मैले वातावरण नै बिर्सिसकेको थिएँ। म एक्लै अलग संसारमा थिएँ। एकोहोरो हेरिरहेँ, नजानिने पारामा।
हाम्रो टोली जम्मा भएर हिँड्यो, नाच्ने-गाउनेको माहोलमा देउसीहरू रमाइलो गरिरहेका थिए। मलाई भने सधैंको भन्दा यो तिहार रमाइलो लागि रहेको थियो। तीन दिनसम्ममा गोजीमा तातेको पत्र ऊसम्म पुर्याउन सकिनँ। अझ भनौँ, आँट नै आएन। बिहान छुट्ने बेला शौचालय जान ब्याग समाउन दिएकी थिइ, बल्लतल्ल साथीहरूको आँखा छलेर ब्यागमा राखेँ। एउटा ठुलै काम गरेको महसुस गरेँ। धेरै दिनको बोझ झर्यो। अनिदो र भास्सिएको आवाजमा सबैसँग बिदा लिएर घरतिर लागेँ।
धेरै दिनपछि सुकुनको निद्रा लाग्यो। सधैँझैँ हरेक बेलुका उसको घर नजिक उसैको बाउलाई लिएर गीत गाउन थाल्यौँ युवाहरू भेला भएर। विचरा बालाई थाहा थिएन उनकै छोरीलाई इम्प्रेस गर्ने प्रयास हो भन्ने। केही प्रतिक्रिया नआएपछि मन आत्तिन थाल्यो। हुन त पत्रमा न उसको नाम नै थ्यो न मेरो, विचरीले कसरी बुझेर प्रतिक्रिया देओस्।
फाेनको चलन थिएन त्योबेला। सबै मिलेर एउटा ग्राउन्डमा भेला भएर खेल्ने, कुरा गर्ने, ज्ञान बाँड्ने चलन थियो। हामी कलेज पढ्दा एउटै क्लासको अन्तर थियो ऊ र ममा। पुन: चिठी लेखेर उसको घरको मेल बक्समा राख्थेँ, प्रत्येक दुई/तीन हप्तामा। केही महिनापछि उसको बाउको हात लागेछ एउटा चिठी। धुइँपत्ता लाएर खोजेका थिए बाले अनामलाई, मैले नि सघाएको थिएँ अनामलाई खोज्न। डर थियो एक मनले, ढुक्क पनि थिएँ अर्को मनले तर चिठी समयमा राखिदिन्थेँ। उसको हात पर्थ्यो या नाई, मलाई थाहा थिएन। मेरा साथीहरूबीच भने खलबल थियो, उसलाई ताकेको छु भन्ने तर साथीहरू पक्का थिए। पढाइ सकियो, करियरमा पढाउन नै चयन गरेँ।
(ऊ मेरो जिउने आशा हो, ऊर्जा हो) समय-समयमा बिहेको हल्ला चल्थ्यो, धेर डराउँथेँ। कुराहरू टरेरै जान्थे। एउटा आशाको तन्तु थियो, पत्र फिर्ता आउने। चार साल कटेर पाँचमा लागेछ। म अनाममै रहेँ। आकाश बन्न सकेको थिइनँ तर प्रतीक्षा भने थियो।
दैनिक कार्य सकेर बैठकतर्फ लागेँ। ऊ पनि रहिछ। म खुशीले गदगद, किनकि उसले पनि पढाउन चयन गरिछ। एकअर्कालाई हाँसो साट्यौँ। त्यसपछि कोसिस गरेरै उसलाई नहेर्ने प्रयास गरेँ। असहज महसुस आफैँलाई नहोस् भनेर। हेड मास्टरको ठाउँ मलाई मिल्यो, नचाहँदा नचाहँदै। अभिवार धेर लिने मन थिएन र पनि भागमा परेपछि उपाय थिएन। सजिलो र राम्रो कुरा के थियो भने उसलाई गाइड गर्नुपर्ने र सिकाउनुपर्ने थियो। किनकि उसको पढाउने क्रम पहिलो थियो, यो क्षेत्रमा म भने पाको भइसकेको थिएँ। आफैँलाई सम्हाल्दा सम्हाल्दै समय लाग्थ्यो। उसको अगाडि बच्चा बन्ने मन हुन्थ्यो।
एक दिन उसको कक्षामा लेक्चर दिने क्रममा ह्वाइट बोर्डमा लेखेको मेरा अक्षर देखेर हेरेको हेरै थिइ। कुर्सीमा बसेर टुलुटुलु नियाली रहेकी थिइ। त्यो अनुहारमा छर्लङ्ग देखिन्थ्यो, यी अक्षरसँग नजिकछु, यसको खोजीमा ५ साल बिताएँ भनेर। उसको रातो अनुहार हेरेर मनमन खुशी थिएँ, मिल्ने भए मलाई चिथोरेर सिङ्गै निल्ने अनुमान लाएर बुझ पचाएरै कोठाबाट हिँडेँ। म सिपालु भइसकेको थिएँ, अनुहारमा केही नदेखाउन तर ऊ कच्चै थिइ।
भोलिपल्ट स्कुल आइनन्, पर्सि पनि। बिरामी रहिछ होला। उसको घर नजिक गएर हेरेँ। केही चहलपहल देखिनँ। बुबासँग बोलेर हिँडेँ। एक हप्तापछि कक्षा सम्हाल्न आएको देखेर टाढैबाट हेरेँ। ऊ ठूली भइछ, अझ भनौँ शिपालु भइछ। पहिला देखिने चञ्चलता गुमेछ। एक हप्तामा त होइन, मैले ननियालेको धेर भएछ। यसरी नै दिन बिते, महिना बिते। हामी काममै व्यस्त रह्यौँ तर घर पुगेर सधैँको झैँ मेल बक्स हेर्न भने कहिल्यै छुटाइनँ। आज पनि खाली नै थियो तर निराशाहरू आशारुपि परिपक्व थिए। केही त हुन्छ, नयाँ घटना घट्छ भन्ने प्रतीक्षामा निरन्तर कुरिरहें।