केही समयदेखि सहकारी ठगीको आरोपको वरिपरी रुमल्लिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि जीवी राइहरुसँग मिलेर सहकारीको पैसालाई अनैतिक र गैरकानुनी बाटोबाट मिडियामा ल्याएर आफू खुसी खर्च गर्ने काममा सहभागी भएको सत्यता उजगार भएपछि उनी गिरफ्तार भइसकेका छन्।
रवि लामिछानेले आज जे अवस्थाको सामाना गर्नुपर्यो, त्यो जानेर वा नाजानेर उनले गरेको कर्मको स्वाभाविक परिणति सिवाय केही हाेइन। भलै उनी गिरफ्तार हुने अवस्था उनकै कर्मको फल भएको सत्यताको बाबजुद पनि आज केही मानिसहरु रवि लामिछानेको पक्षमा उभिएर वर्तमान सरकारको विरोधमा नारा लगाइरहेको छन्। हो त्यसो गर्नेहरुमा अधिकांश रवि लामिछानेको दलका कार्यकर्ताहरु नै छन् भने उनीहरुसँगै कुनै दलमा नलागेका केही सर्वसाधारण जनताहरु पनि छन्।
रवि लामिछाने सहकारीबाट गैरकानुनी र अनैतिक रुपमा मिडियामा पैसा भित्र्याउन र त्यसलाई मनोमानी खर्च गर्ने काममा सहभागी भएका हुन् भन्ने सत्य बुझेको मात्रै नभई भएका राजनीतिक दलहरुको विकल्प बन्ने भन्दै जनताको भोट लिएर विजय भएपछि ती ठुला पुराना दलहरुको गलत हर्कतविरुद्ध सशक्त ढंगले लड्नुपर्ने दायित्व भुलेर ठुला दलहरुकै दासत्व स्वीकार गर्दै रास्वपा पटक पटक सत्तामा गएको पनि रविले आफ्नो कर्तुत लुकाउन खेलेको खेलकै पाटो थियो भन्ने पनि जनताले बुझेकै हुन्।
तर पनि किन त आज जनताको थोरै भएपनि हिस्सा रविको समर्थन र सरकारको विरोधमा छ, अनि जनताको अत्यधिक हिस्सा चाहिँ सरकारले स्वाभाविक काम गर्दै गरेको अवस्थामा अनुचित विरोध हुँदा पनि मौनता साँधी रहेका छन्। त्यस्तो किन? किनकि जनता हाल सत्ताको केन्द्रमा रहेका भ्रष्ट, अनैतिक र नालायक नेताहरु अनि तिनीहरुको दलको विकल्प खोज्न आतुर छन्।
जनताको त्यही आतुरताकै जगमा नै रवि, बालेनलगायत अरु थुप्रैको राजनीतिक जीवनको अंकुरण भएको हो। भलै रवि लामिछानेको लालची कदम र त्यो उजागार भइसकेको अवस्थामा पनि उनको पक्षमा अराजक ढंगले उत्रने रास्वपाका अपरिपक्व नेता कार्यकर्ताहरुको हर्कतले राजनीतिलाई सफा बनाएर व्यवस्थालाई थप सवल पार्ने अभियानमा थोरै भए पनि धक्का लागेको छ।
मिडियामार्फत आफू थप चम्कन रवि लामिछानेले जीवी राइलाई मिडियामा ठुलो रकम लगाउन उक्साएको मात्रै नभई सहकारीबाट मिडियामा रकम ल्याउने बाटोसमेत देखाएको सत्य त रविका पार्टनर छविलाल जोशीले बयानमै बोलेको कुरा बाहिर आइ नै सकेको छ।
यद्यपि रविलाई लागेको आरोप सहि वा गलत के हो भन्ने कुराको अन्तिम निराकरण केवल न्यायिक बाटोबाट मात्रै हुनसक्छ भन्ने सत्य स्वीकार्दै अनुसन्धान प्रक्रियालाई सुरुबाट सघाउ होस् भनेर रविले अनुसन्धानलाई नसघाई हुँदै हुन्न। अनुसन्धानमा सघाउनुपर्छ भनेर रविलाई दबाब दिने कुरामा नभई रविले कथित क्लिन चिट पाइसकेको अवस्थामा पनि किन रविलाई थुन्ने? भन्दै आम रास्वपा पङ्क्तिले मच्चाइरहेको रोइलोले पुराना भन्दा नयाँ त झन काम नलाग्ने रहेछन् भन्ने भाष्य निर्माणलाई बल जरुर दिएको छ।
रास्वपाको नेताहरुमा थोरै पनि वुद्धि हुन्थ्यो भने न्यायिक प्रक्रियाको स्वाभाविकतामा अगाडि बढिरहेको पोखरामा रोइलो गर्न छोडेर उनीहरु काठमाडाैँमा राज गरिरहेका रविभन्दा ठुला भ्रष्टहरुको साम्राज्यमाथि धावा बोल्न सिंहदरबार र बालुवाटार वरिपरी जनपरिचालन गरिरहेको हुनुपर्थ्यो।
उनीहरुले ‘रविलाई थुन्यौ, थुन! गल्ती गरेको भए उनको गल्ती र उनले गल्ती गर्दै गर्दा जनताले पाएको धोकासमेतको हिसाव मिलान हुने गरी कारवाही गर!’ भनेर भन्न सक्नुपर्थ्यो। अनि त्यसपछि जनतातर्फ फर्केर भन्नुपर्थ्यो, ‘रविलाई समात्ने तर धनराज अनि ऋषिकेशहरुलाई किन नसमात्ने? भनेर हामीले सोध्न पाउने कि नपाउने? अनि पाउने हो भने त्यो आवाज उठाउन हामीलाई साथ दिन तपाईंहरु आउने कि नआउने?’
त्यसो हुन सकेको भए जनताको ठुलो पङ्क्तिको साथ रास्वापाले पाउन सक्ने थियो। तर हल्ला हल्लामै नेता बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका तमाम नेताहरुले पनि असली नेता बन्न आफ्नो दलको मुख्य नेताको स्वार्थ र संकेत हैन, जनताको स्वार्थ र संकेत बुझ्न आवश्यक छ भन्ने सत्यको बाेध नै गर्न सकेको देखिएन।
अहिले रास्वपाका नेता कार्यकर्ताहरुको पोखरा रोइलो र दौड हेर्दा त लाग्छ कि उनीहरुलाई कहीँकतै रविको पक्षमा बोल्न पछाडि परियो भने राजनीतिक रुपमा समाप्त पो भइन्छ कि भन्ने डर छ। त्यसैले त रवि पोखरामा प्रहरी हिरासतमा रहेको अवस्थामा हिरासत कक्षबाट रविले सुन्ने सुनिश्चिततासहित स्वर्णिम वाग्ले, मनिष झादेखि सुमना श्रेष्ठसमेत चाकरी र दासत्वको नयाँ उदाहरण पेश गर्न तछाडमछाड गरिरहेको देखिन्छन्।
कसले कति धेरै शब्द खर्चेर रविको वकालत गर्ने अनि कसले कति अराजक भएर गगन थापाहरुको विरोध गर्ने भन्ने अघोषित प्रतिस्पर्धा नै पोखरामा देखिएको छ। यो नयाँ भन्न रुचाउने दलको लागि लज्जाको विषय हो भने आम जनताको लागि चिन्ताको विषय हो। यतिसम्मको दासत्व, चाकरी र गलतको पक्ष पोषण गर्ने कुरा एक्काइसौँ शताब्दीको लागि कहीँकतै कसैगरी पनि सुहाउने कुरा हुँदै हैन।
रवि लामिछाने र उनको त्रासमा अराजक र उत्ताउलो भएर सडकमा अनुचित प्रदर्शन गरिरहेकाहरुले बुझ्न नसकेको तथ्य के हो भने खराब पात्र वा प्रवृतिको समर्थनमा निस्किएको भिडको तागतभन्दा सहि र सत्यको तागत ठुलो हुन्छ। त्यसैले आज रविको त्रासले उत्ताउलो भएर उफ्रिरहेका रास्वापाका नेता कार्यकर्ता र तिनीहरुले भए/रहेका भ्रष्टहरुबाट छुटकारा दिलाउलान् कि भन्ने आशमा उनीहरुसँगै हिँडिरहेको पंक्तिको आवाज आफूले मेहनत गरी कमाएर सहकारीमा जम्मा गरेको रकम ठगिएकोले पीडित भएकाहरुको अश्रु मिश्रित आवाजका सामु फिक्का हुनेछ।
जब अहिले रास्वपाका सभापति रविको बचाउको लागि उठिरहेको आवाजभन्दा सहकारी ठगीमा संलग्न रविलगायत सबैलाई कारवाही गरिनुपर्छ भन्ने आवाज जबर्जस्तसँग पीडितहरुबाट उठ्ने छ, तब रविको पक्षमा उठिरहेको आवाज पूर्ण रुपमा बन्द हुनेछ।
नेपाली जनता पीडकभन्दा पीडितकै पक्षमा उभिँदै आएकै छन्। पीडितहरुको पक्षमा अनि पीडकको विपक्षमा उभिने नेपाली जनताको त्यो परिचय रवि लामिछानेकै लागि मात्रै बदलिने छैन। रवि लामिछाने वा अरु कोही कसैले पनि जनताको पसिनाको कमाइमाथि रजाइँ गरेको प्रमाणित हुँदा तिनलाई पौराणिक समयका भगवान इन्द्रका बाउ चन्द्र नै सडकमा आएर उफ्रिए पनि जोगाउन सक्ने छैनन्।
यद्धपि जनता सहकारी पीडित जनताको पक्षमा अनि रवि, जीवी, छवि, धनराज, ऋषिकेश वा जो कोही पीडकहरुको विपक्षमा खडा रहन्छन् भन्ने सत्य जस्तै अर्को सत्य के पनि हो भने जनताले अनैतिकता भ्रष्टाचार र नालायकीको चरमचुलीमा बसेका कथित ठुला दल भनिने नेताहरुको काला कर्तुतहरुको फेहेरिस्ता पनि राखेका छन्। जनताले छिट्टै नै अनैतिक, भ्रष्ट र नालायकहरुको साम्राज्यमाथि धावा जरुर बोल्ने छन्।
आफूहरूलाई विस्थापन गर्छु भन्दै राजनीतिमा आएका रवि लामिछानेको कर्तुतको भण्डाफोर भएकोले उनलाई जेल पठाउन पाएकै कारण आफ्नो साम्राज्य जोगिन्छ कि भन्ने कोही कसैले ठानेको छ भने त्यो दिवा सपना पनि टुट्ने छ। अबको केही समयमै सबै खालका अनैतिकता, भ्रष्टचार, नालायकी र स्टन्टबाजहरुको खिलाफ जनताको पंक्ति फेरि एक पटक सशक्त ढंगले आन्दोलित हुनेछ।
आम जनताको त्यो आन्दोलनले वास्तविक सुशासनसहितको असली लोकतन्त्र र निष्पक्षतासहितको कानुनी राज स्थापित गर्नेछ। त्यसो गर्दै गर्दा जनताले सबै खालका भ्रष्ट, अनैतिक, अराजक, नालायक, स्टन्टबाजहरुको राजनीतिलाई एकै पटक समाप्त गरिदिने छन्। यसो हुनु अनिवार्य छ र यो जरुर हुनेछ। अंग्रेजीमा भन्छन् नि जस्ट वेट एंड वाच!