झिल्लीमिली बत्तीले सजिएको काठमाडौंको असन चोक। फूलहरूले सजिएका सडकमा मानिसहरूको चहलपहल।
तिहार सुरू भइसकेकाे छ।
व्यापारी र ग्राहकहरू किनमेल गर्नमा भ्याइनभ्याइ छन्। तर धादिङका माइला तामाङ भने भुइँमा थच्किएका छन्।
उनकाे मन आफूले बिसाएकाे १० केजी चकटीको भारीभन्दा गह्रुङ्गाे भएको छ। किनकी माइलालाई बिहानदेखि बजारको गल्ली–गल्ली डुलाइरहेको चकटी (मकैको खोस्टाबाट बनाइएको पिर्को) र बेसार बिक्री हुँदैन कि भन्ने डर छ।
‘बिहानदेखि नै सामान बोकेर बेचिरहेको छु तर ग्राहक नै आउँदैनन्’, कपडा पसलमा लागेको भीड देखाउँदै उनले भने, ‘बजारमा यत्रो मान्छे छन् तर खोई मेरो सामान बिक्री भएको छैन।’
एक मानो बेसार र एउटा चकटी बेच्न उनी दिनभरि बजार भौतारिरहन्छन् तर सामानको मूल्य महँगो भएको ग्राहकले गुनासो पोख्छन् माइलासित।
‘मैले धादिङबाट एउटा चकटीको ३ सय रुपैयाँ किनेर ल्याउँछु अनि यहाँ ५० रुपैयाँ नाफा राखेर बेच्छु तर पनि महँगो भन्नुहुन्छ’, एउटा चकटीको तौल आधा केजी हुने बताउँदै माइला भन्छन्, ‘बेसार मेरै बारीको हो, सय रुपैयाँ मानो बेचिरहेको छु, त्यहीपनि गुनासो आइरहन्छ।’
दसैं–तिहार खर्च बनाउनका लागि उनले केही महिनाअघि मात्रै चकटी र बेसार बेच्न थालेका हुन्। त्यसअघि उनी भरिया थिए।
ज्यानले थामिनसक्नुकाे भारी बाेकेर उनी न्यूराेडकाे गल्ली–गल्ली चहार्थे। तर सधैं कहाँ सकिन्छ र धाेक्राे बाेकेर डुल्न।
त्यसैले उमेरले साथ छाेड्याे अनि माइलाले भारीकाे पाेका।
तर उनलाई कामै नगरी बस्नका लागि छुटै थिएन। परिवारमा काम गर्ने भनेकै उनी हुन्।
‘छोराहरू छैनन्, दुईटी बुहारी र नातिनातिना छन्। उनीहरूको लागी काम गर्नेपर्यो’, ८३ वर्षका माइलाले बिएल नेपाली सेवासँग भने, ‘मबाहेक को छ र उनीहरूलाई पाल्ने?’
कुनैबेला दुई छाेराहरूकाे धनी थिए माइला पनि। तर एकाएक गरेर दुईटै छाेराले छाडेर गयाे। त्यहीपनि सदाका लागि।
‘एउटा छोरा ८ वर्षअघि बित्यो अनि दोस्रो छोरा गत भदौमा गयो। त्यसैले अहिले मेरो कोही छैनन् छोरा’, एकैछिन निराशिए माइला।
दुई छाेरा र श्रीमतीलाई ७ वर्षअघि बिमारले लग्याे। तर पनि डगमगाएनन् माइला। बरू, झनै बलिया भए। बाँचेकाहरूका लागि काम गरिरहे। उनी भन्छन्, ‘म त कतिन्जेल पाे बाँच्छु हाेला र! तर मभन्दा सानाहरूका लागि मैले काम गर्नेपर्छ।’
उमेरले ८ दशक कटिसकेका उनी पहिलेदेखि नै जागरिलाे थिए। काम गर्नकै लागि माइला वि.स २०११ सालमै काठमाडाैं छिरेका थिए।
आजभन्दा करिब ७ दशकअघि अहिलेको जस्तो थिएन काठमाडौं। जङगलले भरिएको सानो र सुनसान बस्ती। दिउँसो हिड्न समेत डराउँर्थे बटुवाहरू। ‘त्योबेला गाडीहरू थिएन, हिडेरै काठमाडौं आएको थिएा’, उनी काठमाडौंबारे बताउँछन्, ‘म त्योबेला बालुवा बोकेर पैसा कमाउँथे।’
काठमाडाैं बसेकाे ८ वर्षपछि उनी धादिङ फर्किएर विवाह गरे। परिवारकाे सहमतिमा भएकाे थियाे २२ वर्षका माइलाकाे विवाह। त्यहीपनि गाउँकै एक किशाेरीसँग।
‘माइलीसँग मेरो मागी विवाह भएको थियो’, आफ्नै नामसँग जोडिएर श्रीमतीको नाम राखिएको बताउँदै उनले भने, ‘मभन्दा ४ वर्ष कान्छी थिइन्।’ सानै उमेरमा पनि घर–व्यवहारमा परिपक्क थिइन् माइली। त्यसैले त उनी श्रीमानकाे मात्र नभइ पूरै परिवारकाे प्यारी भइन्। सानाे–सानाे कुरामा पनि साथ दिने।
‘मलाई सधैं काम गर्नका लागि उसले हौसला र हिम्मत दिइन्। मलाई कहिल्यै थाम्न दिइनन् तर आज उनी मेरो साथमा छैनन् दुख लाग्छ’, स्वर्गीय श्रीमतीलाई सम्झिएर भावुक बने माइला।
कुनैबेला आफूलाई प्रेम र स्याहार गर्ने श्रीमतीलाई सम्झिएर भक्कानिनेे गर्छन् उनी तर पनि सबेरै काममा निस्किन्छन्।
‘बूढीलाई सम्झिएर मात्र खान नपुग्दो रहिछ। पापी पेट पाल्नको लागि काम गर्नेपर्छ’, काम गर्नु बाध्यता भएको सुनाउँदै उनले दुखेसो पाेखे, ‘बूढो भइसकें। काम गर्न सक्दिनँ तर के गर्नु काम नगरे हुँदैन।’
बसन्तपुर छेउमा उनकाे एउटा सानाे डेरा छ। तर उनकाे त्याे बाँस बिसाउने चाैतारी मात्र बनेकाे छ। ‘त्यो घर त मेरो लागि सुत्ने ठेगाना मात्र हो। यहाँ मेरो कोही परिवार छैनन् म त्यहाँ खाना पकाएर पनि खादिनँ’, दिनभरिको थकाइ मेट्न उनी खाली पेट सुतिदिन्छन्।
परिवारसँग टाढिएर काठमाडाैं बसेका उनलाई बुहारीले काम नगर्न भनेर पनि सुझाउँछिन् तर कहाँ मान्छन् र माइला। उनले बुझिसकेका छन् उनी छैनन् त घरमा आगाे बल्दैनन्।
लक्का–जवान उनका नातीहरू पनि छन् तर उनीहरू गुमनाम भएका छन्। पैसा कमाउँछन् तर घर पठाउँदैनन्, आफ्नै दुनियाँमा रमाइरहेछन्। कोही विदेशमा छन् त कोही सिन्धुपाल्चोकमा गाडी गुडाउँछन्। तर घर फर्किन मान्दैनन्।
‘उनीहरू आफैं पैसा कमाउँछन् त्यसैले घर आउँदैनन्, केही भर छैन उनीहरूको। तर मेरो साना–साना नातिनातिना पनि छ। तिनीहरूको लागि भएपनि मैले काम गर्नेपर्छ।’
पाखुँरामा मासी रहुन्जेल परिवारकाे लागि काम गर्ने अठाेट लिएका माइलाकाे एउटै चिन्ता छ, तिहारमा खर्च जुटाउन सकिएन भने के गर्ने हाेला?
पुनःप्रकाशित