नेपालका प्रमुख पर्वहरूमध्ये तिहारलाई झिलीमिलीकाे पर्व मानिन्छ। यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म मनाइन्छ।
हिन्दू धर्मावलम्वीले दीपावली (दिवाली)को रूपमा यस पर्वलाई धूमधामसाथ मनाउँछन्। यस पर्वको नाम हिन्दी शब्दको 'त्योहार' शब्दबाट विकृत हुँदै तिहार बनेको अनुमान लगाइन्छ।
किंवदन्तीअनुसार सूर्यका छोराछोरी यमराज तथा यमुना दाजुबहिनी हुन्। यमुनाले दाजुलाई केही समय कामबाट विश्राम लिन आफूकहाँ आउन अनुरोध गरेकीले यमराज कार्तिक कृष्ण त्रयोदशीका दिन बहिनीकहाँ गए।
बहिनीले दाजुको खुब सेवा गरिन्। यमराज यमुनाकहाँ कार्तिक कृष्ण चतुर्दशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म बसे। यसैलाई आधार मानेर तिहार मनाउन थालिएको हो। याेसँगै तिहारसँग धेरै प्रशंगहरू जाेडिएकाे छ।
प्रेम एवं सद्भावनाका साथ अझ निकट सम्बन्ध स्थापित गर्न तिहारको सबैभन्दा महत्त्वपूर्ण दिन हो, भाइटिका। कार्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीहरूले दाजुभाइलाई टीका लगाइदिन्छन्। यस दिन दिदीबहिनीले यम-यमुनासँगै यमदूत, सूर्य तथा अष्टचिरञ्जीवीको पूजा गरेर त्यसको प्रसाद दाजुभाइलाई लगाइदिने धार्मिक विधान छ।
दिदीबहिनीले टीका लगाउनुअघि दाजुभाइको कानमा तेल हालिदिन्छन्। सप्तरंगी टीकाका साथ दूबो, मखमली तथा सयपत्री र गोदावरीको माला लगाइदिन्छन्। यो अवसरमा ओखर फुटाइन्छ र दाजुभाइको दीर्घायुको कामना गरिन्छ।
त्यसैगरी भाइटीकाका दिन ओखर फुटाउनुकाे विशेष महत्व छ। टीका लगाउनुअघि दिदिबहिनीले दाजुभाइको सबै दुःख, कष्ट, अड्चन नास होस् भनेर महासुरको टाउकोका रूपमा ओखर फुटाउने गर्छन्।
उनीहरूले टीका लगाइसकेपछि दाजुभाइलाई मिठाईं तथा मसलाको उपहार प्रदान गर्छन् भने दाजुभाइले पनि दिदीबहिनीलाई विभिन्न उपहार तथा दक्षिणा दिन्छन्। यस दिन भाइलाई लिन आएका यमदूतसित दिदीले अनेक बहाना बनाएको र भाइको काल टारेको प्रसङ्ग पनि गाँसिएको छ।