जनप्रतिनिधि नाम बद्नाम : वडा सदस्य हुँदै यस्तो, माथिल्लो पद पाए कस्तो ? (भिडियाेसहित)

सोमप्रसाद तिम्सिना ‘राम’ उर्लाबारी–३ का वडा सदस्य हुन्।

उनको चुरिफुरी अचाक्ली बढेको स्थानीयहरूको व्यापक गुनासो छ। सामाजिक कार्यकाे आवरणमा वडा सदस्य तिम्सिनाले मुलत: बिचौलिया भूमिका निर्वाह गरिरहेकाे उनीमाथि गम्भीर आरोप छ।

झट्ट हेर्दा जिविकोपार्जनका लागि सामान्य औषधि पसल चलाएजस्तो देखिएपनि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा उनकै रजगज चलिरहेकाे उर्लाबारी–३ का एक वडा सदस्य नै दाबी गर्छन्।

अस्पताल प्रशासनसँगको ‘सेटिङ’मा वडा सदस्य तिम्सिनाले अस्पतालकै मुलगेटमा दुईदुई वटा फार्मेसी सञ्चालनमा ल्याएका छन्।

उनले चलाएका फार्मेसी नियमविपरीत त छँदैछन्, पसलको नाम पनि अर्कैको छ।

स्थानीय बालादेवी गौतमको जमिन हडपेर खोलेको फार्मेसीको नाम गौतमले चलाउँदाकै ‘सेवा मेडिकल हल’ राखिएको छ भने अर्को अतुल फार्मेसी सञ्चालकलाई विस्थापित गराएर ‘नतुल फार्मेसी’का नाममा खोलेका छन्।

अस्पताल प्रशासनसँगको मिलिभगतमा उनले औषधि बेचविखनको साम्राज्य नै खडा गरेकाे स्थानीयहरू बताउँछन्।

पूर्वी मोरङकै ठुलो सरकारी अस्पताल भएपनि सेवाग्राहीले मदन भण्डारी अस्पतालमा निःशुल्क औषधि सहजै पाउन मुस्किल छ। एक भुक्तभोगीले भने, ‘स्वास्थ्यकर्मीले तिम्सिनाकै फार्मेसीमा सिफारिस गर्छन्, नकिनी सुखै छैन।’

तिम्सिना फार्मेसी सञ्चालकसँगै उनी कांग्रेस कार्यकर्ता पनि हुन्। बेला-बेला स्वास्थ्य सचेतना फैलाउँदै हिँड्ने उनकै सुर्तीजन्य पदार्थ गुटखा बाँड्दै गरेको भिडियो अहिले चर्चामा छ।

कांग्रेसको गत अधिवेशनमा तहगत चुनावमा उर्लाबारी–३ बाट क्षेत्रीय प्रतिनिधि चयन भएका उनी क्रमश: निर्वाचन क्षेत्र अन्तर्गतको क्षेत्रीय सदस्य र प्रदेश उपसभापति पदमा उठे। तर लज्जास्पद भोट ल्याएर हारे।

उनको तयारी यतिमै रहेन, पुन:जिल्ला समिति सदस्यमा उम्मेदवारी दिए।

जिल्ला अधिवेशन विराटनगरमा तय भएको थियो। सबैजसो उम्मेदवार आ-आफ्नो एजेन्डा र घोषणापत्र लिएर मतदाता सामु प्रस्तुत हुँदा तिम्सिना भने प्याकेटका प्याकेट रजनीगन्धा र भोला बाँड्नमै व्यस्त रहेकाे कांग्रेस कार्यकर्ताहरूकाे आरोप छ।

मत खसाल्न लाइन लागेका कार्यकर्तालाई सुर्तीजन्य पदार्थ बाँड्ने शैलीले उनको राजनीतिक चेतना उजागर गरेको ती कार्यकर्ताले बताए।

आगामी स्थानीय तहको निर्वाचनमा उर्लाबारी–३ बाट वडाध्यक्ष उम्मेदवारको रुपमा तिम्सिनाले आफूलाई खडा गरेका छन्।

केही वर्षअघि मात्रै सामान्य आर्थिक हैसियतका थिए, उनी। एकाएक सभ्रान्त वर्गमा दरिएका छन्।

उनको अपारदर्शी कारोबार र बद्नाम व्यक्तिहरूसँगको उठबसलाई नोट गरिरहेको स्थानीय कांग्रेसजन बताउँछन्। भन्छन्, ‘पहिलो वडाध्यक्षको टिकट कसरी पाउँछन्, अनि कसरी जित्छन्, हामी पनि हेर्छौँ।’

तर तिम्सिनाले भने आफूमाथि लगाइएका सबै, आराेप गलत भएकाे दाबी गरेका छन्। बिएल नेपाली सेवासंग कुराकानी गर्दै तिम्सिनाले भने, ‘मेराे बद्नाम गर्नका लागि यस्ता आराेप लगाइएकाे हाे।’

प्रकाशित मिति: : 2022-02-03 12:30:00

प्रतिकृया दिनुहोस्