तार्केश्वर घटना

जुन चक्कु ल्याउँदा सुनिताले शंका गरिन्, त्यही चक्कुले दिनेशले सुनिताको ज्यान लिए !

कमल प्रभात

काठमाडाैँ

'दिनेश पाण्डेले केही समय अगाडी घरमा तरकारी काट्ने चक्कु ल्याउँदा पनि सुनिताको सास डरले बढेर आउथ्यो। उनलाई यसरी ल्याएको हतियार आफूलाई मार्नको लागि समेत ल्याएको आशंका हुन्थ्यो।' जुन कुरा आइतबार घटना भएपछि छिमेकीले घटनास्थलमा कुरा सुनाइरहेका थिए।

त्यसो त चक्कुको विषयलाई लिएर श्रीमान दिनेश र श्रीमती सुनिताबीच झगडा समेत भएको रहेछ।

श्रीमतीले तरकारी काट्न किनेको चक्कुको विषयलाई लिएर आफूलाई प्रहरीकहाँ पुर्‍याएको दिनेशले मर्नु अगाडि छोडेर गएको सुसाइट नोटमा उल्लेख गरेका छन्।

३९ वर्षीया सुनिता पाण्डे काठमाडौंको तार्केश्वर नगरपालिका–२ स्थित पदमसालमा सोमबार मृत भेटिएकी पात्र हुन्। दिनेश उनकै श्रीमान्। सुनितासँगै उनका श्रीमान् ४१ वर्षीय दिनेश पाण्डे, १३ वर्षीया छोरी र ८ वर्षीय छोरा पनि सँगै मृत भेटिएका थिए। चारै  जनाको शरीरमा धारिलो हतियार प्रयोग गरेर हत्या भएको देखिएको छ। घटनास्थलबाट प्रहरीले धारिलो हतियार चक्कु समेत बरामद गरेको छ।

जुन चक्कुको विषयमा दिनेश र सुनिता विषय पहिले झगडा भएको थियो। प्रहरीले घटनास्थलबाट १० पेजको सुसाइट नोट  समेत बरामद गरेको छ। सुनाइट नोटमा दिनेशले पहिले तरकारी काट्न ल्याएको चक्कुको विषयमा समेत खुलाएका छन्। उनले पहिले आफूलाई तरकारी काट्न ल्याएको चक्कुमा झुटो आरोप लगाएको र अहिले त्यही चक्कुले प्रहार गरेर सत्य सावित गरिदिएको उल्लेख गरेका छन्।


श्रीमती र छाेराछाेरीलाई मारेर आत्महत्या गरेका पाण्डेकाे सुसाइट नाेट: श्रीमतीकाे अपहेलना सहन सकिनँ


'पहिले त्यसै आरोप लगाइस् अहिले त्यही चक्कुले हानेर हत्या गरेको आसय नोटमा लेखिएको छ,' एक प्रहरी अधिकृतले सुनाए।

चारै जनाको विभत्सरुपमा मृत्यु भएको छ। श्रीमती सुनिताको शरीरमा गहिरो हतियारको निशास छ। १० पत्रको सुसाइटनोटमा दिनेशले श्रीमतीसँगको आशंका, आर्थिक लेनदेन, छोराछोरीको मायादेखि श्रीमतिसँगको अन्तरसम्बन्धलाई  समेत उल्लेख गरेका छन्।

सोमबार बिहान श्रीमती र छाेराछाेरीकाे हत्या गरेर आत्महत्या गरेका पाण्डेले श्रीमतीले माया नगरेकाे र माइतीसँग मिलेर सम्पत्ति हड्प्न खाेजेकाेले मर्न र मार्न बाध्य भएकाे सुसाइट नाेटमा उल्लेख गरेका छन्।

‘मैले दु:ख गरेर सम्पत्ति जाेरेँ तर तैँले माया गरिनस्, तैले माइतीसँग मिलेर मेरो पैसा खत्तम गरिस्,’ पाण्डेले सुसाइट नाेटमा लेखेका छन्,‘तैँले मलाई हेला गरिस्, माइतीका दाजुभाइलाई लगाएर मलाई महिला हिंसाकाे आराेप लगाएर प्रहरीकाेमा लगिस्, त्यसैले मैले आज यो गर्न बाध्य भएँ।’

यो घटना श्रीमान् र श्रीमतीबिच भएको आशंका र असमझदारीले भएको देखिएको छ। घटना हत्यापछि आत्महत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। घटनास्थलको प्रकृति, आफन्तको बयान, घटनास्थलबाट बरामद सामाग्रीको कारण घटनामा तेस्रो पक्षको संलग्नता नरहेको देखिएको छ।

१२ वर्ष कुवेतमा काम गरेर ४ वर्षअघि नेपाल आएका गोरखाको भीमसेन थापा गाउँपालिका घर भएको पाण्डेले इलेक्ट्रिसियनको काम गर्दै आएका थिए। उनीहरूको तारेकेश्वरमा १ तले घर छ। श्रीमतीले सुनिताले फेन्सी पसल गर्दै गर्थिन्। अहिले पसल छाडेर उनी बेलायत जाने तयारीमा थिइन्।

एउटै गाउँमा प्रेम विवाह गरेका उनीहरूको सम्बन्न पछिल्लो समयमा बिग्रिँदै गएको पाइएको छ। उनीहरू विवाद गरेर पटक–पटक बालाजु प्रहरीमा पुगेको पाइएको छ। पाण्डेले नोटमा हुँदै नभएको महिला हिंसाको आरोप लगाएर आफूलाई जेलमा हाल्न खोजेका र अरूको अघि अपमान गरेकोले आत्मसम्मानमा चोट लागेको बताएका छन्। त्यस्तै आफूलाई श्रीमतीको दाई भाइले हप्की दप्की गर्ने गरेको समेत बताएका छन्।

प्रकाशित मिति: : 2022-08-03 16:00:00

प्रतिकृया दिनुहोस्