नेकपा एमालेका नेता रघुजी पन्त शिक्षामन्त्री नियुक्त भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई बुधबार शिक्षामन्त्री नियुक्त गरेका हुन्। उनको सपथ भोलि साँझ ४ बजेका लागि तयारी गरिएको छ।
शीतल निवासले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले गरेको नियुक्ति, हेरफेर र कार्यविभाजनसहितको मन्त्रिपरिषद् पूनर्गठनको सूची सार्वजनिक गरेको छ।
नवनियुक्त शिक्षामन्त्री पन्तलाई मन्त्रिपरिषद्को बरियताक्रमको आठौं नम्बरमा राखिएको छ। उनीभन्दा अघि सातौं नम्बरमा परराष्ट्रमन्त्री डा. आरजु राणा छिन्।
राष्ट्रपति कार्यालयले जारी गरेको वरियताक्रम अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीपछि उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशनमान सिंह, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ, गृहमन्त्री रमेश लेखक, श्रममन्त्री शरदसिंह भण्डारी क्रमशः दोस्रोदेखि छैठौं नम्बरमा छन्।
सोमबार शिक्षामन्त्री विद्या भट्टराईले प्रधानमन्त्रीले असहयोग गरेको भन्दै राजीनामा दिएकी थिइन्।