नाटक

‘लाटीकाे छाेराे’ मा लाटाे समाजकाे प्रतिनिधित्व गरिरहेका गाेविन्द

सबै तस्बिरहरु पुरानाे घरकाे फेसबुकबाट
सबै तस्बिरहरु पुरानाे घरकाे फेसबुकबाट

रंगकर्मी गाेविन्द सुनारले काठमाडौंमा अभिनय सिकेका हुन्। काठमाडौंमा बिए पढ्दै गर्दा थिएटरप्रतिकाे उनकाे आकर्षण बढेकाे थियाे। थिएटरमा उचो छवि बनाएका सुनिल पोखरेलले उनको आर्थिक अवस्था बुझेपछि नि:शुल्क सिकाए।

गाेविन्द त्यतिमा सन्तुष्ट भएनन्। सन्तोष हर चिजको शत्रु हो भने जस्तै थप सिक्न अरु थिएटर पनि धाए। त्यसपछि लगभग सबैले उनलाई नि:शुल्क सिकाए।

थिएटरमा उनले जुन खालको अभ्यास गरे त्यसले उनलाई औधि खुसी मिल्यो। त्यहीँ उनले जीवन र जगतलाई हेर्ने नयाँ आँखा पाएको महसुस गर्न थाले। घरपरिवारको चाहना पढेर जागिर खाओस् भन्ने थियो। त्यही अनुसार उनले काम पनि गरेका हुन्। तर उनको मन त्यहाँ अडिएन।

थिएटरमै जीवन देखेका उनलाई जागिर जेल जीवन जस्तो लाग्यो। त्यसपछि उनी पुन: थिएटरमै फर्के। सिक्दै गर्दा उनीसँग पैसा हुँदैन थियो। तर, पनि सन्तोष थिए। त्यसले शरीरमा उर्जा थपिरहको थियो। त्यही उर्जाकै कारण उनले जुम्लीहरुलाई समेत थिएटरको स्वाद चखाए। जुन स्वाद पहिलो पल्ट उनले काठमाडौंमा ‘चरनदास चोर होइन’ हेर्दा चाखेका थिए।

पहिलो पटक थिएटरको अभ्यास गर्दाका कठिनाइहरु उनले नबोले पनि बुझ्न सकिन्थ्याे। जुम्लामा कुनै नाटक घर छैन। नाटकको लागि भनेर बनेका हलहरु पनि छैनन्। भएका हलहरु पनि थिएटर बनाउन मिल्ने खालका छैनन्। तर, पनि निर्माण व्यवसायी संघको हलमा उनले निर्देशन गरेकाे नाटक 'पम्फा फूल’ महिना दिन चल्याे।

यसरी उनी काठमाडौंदेखि जुम्ला र पुन: काठमाडौं गएर अभिनय गरिरहेका छन्। हाल सिनामंगलस्थित ‘पुरानाे घर’ मा उनले अभिनय गरेकाे नाटक ‘लाटिकाे छाेराे' चलिरहेको छ। यस विषयमा विभिन्न पत्रपत्रिकामा समीक्षा आइरहेको छ। तिनै समीक्षा र सामाजिक संजालहरुमा आइरहेका प्रतिक्रियाका आधारमा कलाकार गाेविन्द सुनारसँगकाे कुराकानी पछि याे लेख तयार पारिएकाे हाे।

लेखक श्याम शाहको ‘अब्बा’ कथासंग्रहमा रहेको ‘लाटीको छोरा’ कथामाथि तयार पारिएको नाटकको नाट्य लेखन तथा निर्देशन रंगकर्मी सूलक्षण भारतीले गरेका छन्। जसले बुज्रुक दर्शकहरुकाे ध्यान खिचिरहेकाे छ भने, हाम्रो समाज कस्ताे छ भनेर जबर्जस्त बहस गराइरहेकाे छ।

सुनारले सुनाए अनुसार मधेसी दलित, डाेम समुदायमा सुन्दर बजार छिरेकाे कुरूप यथार्थ बयान गर्दै नाटकको सुरुवात हुन्छ। विस्तारै दलितहरुलाई बस्तीबाट सारेर नेता र व्यापारीले जमिन हडप्छन्। त्यसपछि गाउँका महाजनहरु मालिक हुन्छन् भने डोमहरु भूमिहीन, अधिकारहीन र आवाजविहीन हुन्छन्। डोमहरुको बास, बस्ती र आवाज रहँदैन।

घरबारविहीन भएका डाेमहरु न्यायको लागि कानुनको सहारा लिन जान्छन्। त्यसकाे नेतृत्व गरिरहेकाे डोमहरुका मुखियाको हत्या गरिन्छ।

सुुन्दर बजारमा सबैले मान्ने गन्न नेता विषनाथ, व्यापारी अग्रवाल, मास्टर साब, पण्डित चन्द्रकान्त झा, हवल्दार, सइ, सबैले बजारलाई कुरुप बनाउन उल्लेखनीय भूमिका खेलिरहेका हुन्छन्। पवित्रा अग्रवालकी विधवा बुहारी हुन्छिन्। बोक्सीको आरोप लगाएर बहिस्कार गरिएकी पवित्रा एउटा सानो झुप्रोमा बस्छिन्। उनलाई ससुरा अग्रवालले बेला बेला बलात्कार गरिरहेका हुन्छन्।

यही बीचमा स्टेजमा लाटीको प्रवेश हुन्छ। व्यापारीको छोरो पुनीतले लाटीलाई गाउँका केटाले दु:ख दिएको देखेर पवित्रा भाउजुको जिम्मा लगाउँछ। पुनीत लाटीलाई प्रेम गर्न थाल्छ तर धनी व्यापारीको छोरो भएकोले उसको लाटीसँगको प्रेममा अवरोध आउँछ।

एकाएक एउटा गम्भीर समस्या आइलाग्छ। लाटी गर्भवती हुन्छे। चौतारीमा गाउँको मुखिया बसेको हुन्छ। शिक्षक, प्रहरी, पण्डित र व्यापारी एकएक गर्दै लाटीको गर्भ आफ्नो भएको र यो समस्याको समाधान निकालिदिन मुखियालाई एकान्तमा अनुरोध गर्छन्।

मुखिया पनि अपराधी मानसिकतामा फसेका हुन्छन् र डोमलाई फसाउने गरी लाटीको गर्भ डोमको भएको निष्कर्ष सुनाउँछन्। डोमलाई जेल हालिन्छ। केही समय बित्छ। चुनाव जितेर गृहमन्त्री बनेको नेता गाउँ फर्कन्छ। चौतारो छेउमा एउटा बालक खेलिरहेको हुन्छ। मन्त्रीले तिमी को हौ? भनी प्रश्न गर्दा बालकले लाटीको छोरो भनेपछि नाटक सकिन्छ।

कलात्मक प्रस्तुतीकरण र अभिनयले नाटकलाई जीवन्त बनाएको छ। सबै अभिनेताहरूले आफ्नो चरित्रलाई न्याय गर्न सकेकाे गाेबिन्दले बताए।

‘नेता, प्रहरी, जग्गा व्यापारबाट पैसा कमाएको नव धनाढ्य, शिक्षक, पण्डित, चिया पसले, दलित, बोक्सी, लाटी, प्रेमी र एउटा लाटोको अभिनय गरिरहेको निरीह पात्रकाे रुपमा हजामकाे भूमिकामा देखिन्छु,’ उनले भने, ‘लाटी, बोक्सी, प्रेमी र लाटोको अभिनय गरिरहेको म समाजका बहिष्कृत पात्रकाे रुपमा देखा परेकाे छु।’

अरु सबै पात्रहरुले समाजमा पहिचान र सम्मान पाएका छन्। सम्मान पाएका भन्दा पनि समाजले सम्मान दिलाएका पात्रहरु हुन्। तर तिनै पात्रकाे व्यवहार निकै असामाजिक र अराजक खालकाे छ। यही तिताे सत्यलाई लेखक र निर्देशक कलात्मक तरिकाले प्रस्तुत गर्न सकेकै कारण नाटकले दर्शककाे मन जितेकाे छ। दर्शककाे मन जितेकाे मात्रै हाेइन हेर्दा सद्दे देखिने तर उल्टाेपाल्टाे समाजकाे विषयमा बहस गर्न बाध्य पारेकाे छ।

‘कथालाई नाटकको फर्म्याटमा ढाल्न सुलक्षण सरले बेजोड मेहनत गर्नुभएकाे छ। त्यसलाई मुर्त रुप दिन कुन्दन चौधरीले अथक परिश्रम गर्नुभयाे,’ सुनारले भने, ‘मञ्च सामान्य लागेपनि कलात्मक लाग्छ। इतिहास र वर्तमानको साक्षी बुढो रूखको मुनि पसल थापेर बसेको लाटोको अभिनय गरिरहेको म देखिन्छु।’

उनले पात्रकाे रुपमा आफू लाटाे नभएपनि सधैं माैन भूमिका रहेकाे बताए। उनले थपे, ‘म बाेल्न सक्छु भन्ने कुरा पवित्रालाई मात्रै थाहा हुन्छ। बाँकी सबैले लाटाे सम्झेका हुन्छन्।’

विभिन्न पत्रपत्रिकाका समीक्षा अनुसार हजाम मञ्चमा देखिएकाे रुख जस्तै शान्त र सहनशील छ। तर उ नबाेलिकनै पुरै दर्शककाे ध्यान खिच्न सफल भएकाे छ। उसकाे मौनता नै पावर र पहुँचकाे आधारमा सत्य लुकाउने समाजकाे प्रतिबिम्ब हाे। शब्दको निरर्थकतालाई बुझेको दार्शनिक पात्र हाे। उ बोल्न सकेर पनि नबाेल्नु नै नाटककाे सबैभन्दा सबल पक्ष हाे।

नाटले दर्शकलाई आक्रोशित बनाउन, आँसु खसाउन र हसाउन सफल भएकाे छ। समग्रमा नाटकले देखाएको मधेशको पृष्ठभूमि झल्काउने झुपडी, चौतारी, परालसहितको मञ्च, मधेशको लवज, भेषभूषा तथा अभिनय जीवन्त छन्। लाटो हजाम भूमिकामा देखिएका सुनारले मञ्चमा शान्त बसेरै दर्शकको ध्यान केन्द्रित गर्न सकेकाेले उनकाे चाैतर्फी प्रशंसा भइरहेको छ।

नाटकमा लाटीकाे भूमिकामा देखिएकी सरिता भुजेल, गाेविन्दसँगै टीका निरौला, अरुण पौडेल, सन्देश कार्की, सुव्रतराज सिलवाल, शिशिर गिरी, जयराम, रितेश कार्की, सागर भट्टराई, प्रकाश थापा निशा दाहाल, बाल कलाकार निरोज दाहाललगायतको अभिनय रहेको छ।

प्रकाशित मिति: : 2022-01-24 11:40:00

प्रतिकृया दिनुहोस्