जनप्रतिनिधिकाे मनोमानी: जग्गा हडपेर मापदण्डविपरीत फार्मेसी सञ्चालन

मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारी मंगलबारेको मुल गेटमै अवस्थित छ, सेवा मेडिकल हल। अत्यन्तै साँघुरो घुम्तीमा फार्मेसी रहनु मापदण्डविपरीत त छँदैछ, पसल रहेको जग्गा पनि अर्कैको हडपेर एकजना जनप्रतिनिधिले फार्मेसी सञ्चालन गरिरहेको पाइएको हो।

उर्लाबारी-३ का वाड सदस्य सोमप्रसाद तिम्सिना ‘राम’ ले स्थानीय बालादेवी गौतमको घडेरी बलजफ्ती कब्जामा लिएर फार्मेसी चलाइरहेका छन्।

बालादेवीका देवर चन्द्रप्रसाद गौतमका अनुसार २०७४ सालमा घुम्ती निर्माण गरी केही समय आफैँले फार्मेसी चलाएको उल्लेख गर्दै पछि मासिक तीन हजार बुझाउने सर्तमा एकजना आफन्तलाई पसल जिम्मा दिइएको थियो।

आँखा र पित्त थैलीमा समस्या भएपछि उपचारार्थ लामो समय आफू काठमाडौँमा रहँदा कुनैबेला आफ्नै पसलका कामदार तिम्सिनाले अनेक षड्यन्त्र गरेर करिब दुई धुर जग्गासहितको घुम्ती हडपेएको गौतमको आरोप छ।

‘बञ्जारा थरका नातेदारलाई पसल चलाउन दिएको थिएँ’, गौतमले भने, ‘उनले राम्रोसँग चलाउन नसकेपछि तिम्सिनालाई मासिक दुई हजार तिर्ने सर्तमा फार्मेसी दिएका थियौँ। तर, उनले पेलेरै जबर्जस्ती गरे।’

पछि आफ्नो घुम्ती पसल फालेर फरक संरचना बनाई तिम्सिनाले मेडिकल हल तयार पारेको पनि गौतमले आरोप लगाए।

पूर्व-पश्चिम राजमार्गको १०५ भित्र पक्की संरचना बनाउन नपाइने नियम भएकोले आफूले न्यायको लडाइँ लड्दा त्यो भोगाधिकार नपाइने हो कि भन्ने लागेको गौतम बताउँछन्। ‘जमिन त मेरै परिवारको नम्बरी हो, तर सहमतिमा आएर तिम्सिनाले कि बहाल तिर्नु पर्यो, कि हट्नु पर्यो’, उनले भने।

अरुको संरचना भत्काई जबर्जस्ती जमिन हडप्ने तिम्सिनाको पसल हटाउन पहल गरिदिन पनि उनले सबैमा आग्रह गरेका छन्।

यस विषयमा बुझ्न खोज्दा तिम्सिनासंग सम्पर्क हुन सकेन। पूर्वी मोरङकै ठुलो स्वास्थ्य संस्था मदन भण्डारी अस्पतालमा चरम बेथिति देखिएको छ। अस्पतालको मुलगेटमै सुँगुरको खोरजत्रो जमिनमा फार्मेसी चलाएका तिम्सिनाको अस्पतालमा हालिमुहाली रहेका स्थानीयकाे आराेप छ।

नेपाल सरकारबाट नागरिकले नि:शुल्क पाउने औषधिहरु अस्पतालको फार्मेसीमा विरलै पाइन्छन् तर तिम्सिनाको फार्मेसीमा सहजै खरिद गर्न पाइन्छ।

यसो हुनुका पछि अस्पतालका संचालक र कर्मचारीको तिम्सिनासंग ‘सेटिङ’ भएको नाम नबताउने सर्तमा एक स्वास्थ्यकर्मीले बताए।

उनका अनुसार अस्पतालको फार्मेसीमा कृत्रिम अभाव सृजना गरिदिएपछि सेवाग्राही दबाई किन्न मुलगेटमै रहेको सेवा मेडिकल हलमै पुग्ने गरेका छन्। जुन तिम्सिनाले बाला गौतमबाट हडपेका हुन्।

नगरपालिकाको वडा सदस्य भएको फाइदा उठाउँदै तिम्सिनाले अस्पतालका हरेक गतिविधिमा आफूलाई समाहित गराउँदै आएको पनि बुझिएको छ।

अस्पताल प्रशासनसंगको मिलिभगतमा उनले दुई/दुई वटा फार्मेसी चलाएका छन्। सेवा मेडिकल र नतुल फार्मेसी चलाएका उनले अरु औषधि व्यवसायीलाई टिक्नखान नदिन अनेक षड्यन्त्र गरिरहने भुक्तभोगीहरु बताउँछन्। उनकै कारण दुई जनाले फार्मेसी पसल नै बन्द गरेको पाइएको छ।

प्रकाशित मिति: : 2022-02-01 13:03:00

प्रतिकृया दिनुहोस्