दलित स्टाटस

ला, छिमेकी त कामी पो परेछन् !

राज्य व्यवस्था फेरियो। कानुन फेरिए। नियम फेरिए। विधिविधान फेरिए। राजनीति फेरियो। गणेशको जीवनको चित्र पनि अलिकति फेरियो। नेपाली समाजको चित्र पनि अलिकति फेरियो तर यसको चरित्र फेरिएन। कुसंस्कारको ‘लालमोहर’ लागेको त्यो समाजका मानिसहरू दिमाग अझै फेरिएन। 


जब २०५२ सालको अन्तिमतिर पश्चिम नेपालबाट माओवादी बन्दुक बोकेर ‘युद्ध’ गर्न जंगल पस्दै थियो, त्योबेला पूर्व झापाका गणेश लम्साल पनि एउटा ‘युद्ध’को अन्तिम तयारीमा थिए।

फरक यत्ति थियो- त्यो युद्ध गर्नका लागि माओवादीसँग हतियार थियो, गणेशसँग प्रेम।

माओवादी ‘राज्यसत्ता’सँग लड्न जंगल छिरेको थियो गुरिल्ला लिएर। गणेश पनि यही ‘समाजसत्ता’सँग त्यही समाजमै बसेर युद्धमा होमिँदै थिए।

फरक यत्ति थियो- माओवादीसँग हजार हात थिए, उत्पीडितहरूको। साथ थियो। गणेशसँगमात्रै प्रेम थियो, अनि उनले समाएको कमलाको त्यही प्रेमिल हात थियो।

झापा धुलाबारीका गणेश लम्साल बाहुन हुन्। कमला विश्वकर्मा यो समाजले बनाएको एक दलित थिइन्।

गणेश-कमलाको त्यही प्रेम त्योबेला पूर्वी नेपालको समाजमा ‘विद्रोह’जस्तै भयो। कठोर अनि संघर्षपूर्ण।

०००

२०४७ को संविधानले जातपातका आधारमा विभेद गर्न नपाइने घोषणा गरेको ६ वर्ष पुगेको थियो। तर यो पलका लागि भगत सर्वजित विश्वकर्माले विद्रोह गरे। अनिमात्रै ‘जातीय विभेद’लाई नेपालको आधुनिक कानुनले पनि अपराध मान्यो। तर समाजले मान्ने कुरै थिएन, आज पनि मानिरहेको छैन।

‘दलित’ले छोएको नचल्ने त्यो समाजमा ‘ठूला र साना’ जातबीचको विवाह परिकल्पना पनि गर्दैनथ्यो।

त्यही जातीय विभेदकारी पर्खालको खोँचमा फुलेको प्रेमलाई अब गणेश र कमलाले विवाहमा बदल्ने निधो गरेका थिए।

मेचीनगरको बगैँचामा फक्रिएकी फूल नै थिइन्, कमला विश्वकर्मा। सृष्टिसँगै फुलेकी उनलाई दलित परिवारमा जन्मिएकै कारण समाजले ‘बाटोमुनिको फूल’ बनाइदियो। त्यही ‘बाटोमुनिको फूल’ टिपेर आफ्नो जीवनमा सजाउन चाहन्थे गणेश।

जनकपुरको एउटा होटलमा काम गर्ने गणेश कहिलेकाहीँ घर आउजाउ गर्दा बाटैमा झुल्किन्थिन् कमला। कतिबेला मनमै बसिसकिछन्, थाहै थिएन। विस्तारै त्यो प्रेम बनेर फक्रियो।

गणेश अनि कमलाहरू बाँचेको त्यो समाजले यो प्रेमलाई ‘अपराध’ करार गरिदियो।

२०५२ साल माघमा गणेशले प्रेमिका कमला विश्वर्मासँग सुनसरीको बराह मन्दिरलाई साक्षी बनाएर ‘गन्धर्व विवाह’ गरे। फरक थर वा समुदायका केटा र केटीको त्यो बिहेलाई समाजले ‘गन्धर्व विवाह’को नाम दिएको थियो।

तर त्यो प्रेम विवाह नै हो।

कथित दलित केटीसँग विवाह गरेकै कारण गणेशलाई परिवारले आँगन टेक्न दिएन। आफैँले जन्माएको छोरालाई गणेशका बुबाआमाले ‘मान्छे’ नै ठानेनन्।

विवाह गरेको केही दिनमा नै श्रीमतीलाई माइतीघरमा छाडेर गणेश काम खोज्न विराटनगरतिर लागे।

विशिष्ट श्रेणीमा एसएलसी पास गरेका गणेशले त्यहाँभन्दा माथि पढ्ने सकेनन्। पढ्नका लागि पैसा थिएन। पढ्नुभन्दा काम गर्नु नै थियो त्योबेला।

उनले होटल तालिम लिएर होटेलमै काम गर्न थाले।

‘बाहुन’को सिन्दूर लगाएकी कमलालाई पनि त्यो समाजले आफ्नै माइतीघरमा टिक्न दिएन। हेला र घृणाका छिटाहरू परिवारसम्मै पर्न थालेपछि कमलाका आफन्तीले उनलाई मेचीनगरभन्दा अलि टाढाको चिया बगानतिर बस्ने फुपूको घरमा लुकाइराखे।

अनि कमला हराएको हल्ला चलाइयो। गणेशले नै कमलालाई बेचेको भनेर प्रहरीमा उजुरी पर्‍यो।

अब कमलासँगै बिताउने जीवनको ‘खुसी’ किन्ने पैसा कमाउन विराटनगरको होटेलमा पसिना बगाइरहेका गणेशलाई पुलिसले समायो। 
मेचीनगरको धुलाबारी प्रहरी चौकीमा थुनिए गणेश।

अपराध गरे पो जेल हालिन्छ तर प्रेम गर्दा पनि जेल? केही सोच्न सकेनन् गणेशले, चुपचाप चिसो खोरमा निरीह बनेर पल्टिए।

उपाय पनि के थियो र! साथ दिने कोही थियो न प्रेमको त्यो भाषा बुझ्ने समाज।

त्यसपछि जे भयो, फिल्मभन्दा कम छैनन् गणेश र कमलाको जीवनका पानाहरू।

प्रहरीले अनुसन्धान सक्यो। गणेशले केही कसुर त गरेका थिएनन्, मात्रै प्रेम गरेका थिए।

एक महिनापछि गणेश थुनामुक्त भए। अब कमलालाई साथमा लिएर पन्छीझैँ खुल्ला आकाशमा स्वतन्त्रताको उडान भर्ने चाहना थियो गणेशको तर समाजले गणेशको चाहनाको पँखेटा काटिदियो।

गणेश जेलबाट निस्किँदा गाउँलेहरूले मुखैभरि थुकिदिए।

‘म हिरासतबाट बाहिर आइसकेपछि गाउँलेहरूले मेरो मुखमा थुकिदिए। मलाई पढाउने र मैले विद्वान ठानेकै अग्रजहरुले पनि नेपाल अझै अमेरिका भइसकेको छैन, नेपालमा अन्तरजातीय विवाह चल्दैन भने’, त्यो क्षण गणेशलाई अहिले पनि उत्तिकै बिझाउँछ।

गाउँमा पञ्चायत बस्यो। सिंगो गाउँको एकै आवाज थियो, गणेशलाई गाउँ निकाला गर्नुपर्छ।

समाजको डरले कमलाको माइतीले पनि छोरी-ज्वाइँलाई घर भित्र्याउने हिम्मत गरेन। अनि, त्यो प्रेम जोडी त्यही चिया बगानमा लुक्न बाध्य भयो, जहाँ पहिला कमला लुकेकी थिइन्।

अरुको घरमा कति दिन लुकेर बस्नू!

एकसरो लुगामै कमलाको हात समाएर गणेश त्यहाँबाट निस्किए। अनि मोरङको पथरी पुगे।

हातमा सीप थियो, परिश्रम गरे लाउन-खान मुस्किल हुने कुरै थिएन। तर, काम गर्ने वातावरण अनुकूल थिएन। तैपनि, गणेश र कमलाले संघर्ष गरे।

विवाहको अर्को वर्ष, २०५३ सालमा पहिलो सन्तानको जन्म भयो। न्वारानको लागि ‘बाहुन’ बोलाउँदा कोही पनि आउन मानेनन्। त्यसपछि गणेश आफैँले छोरीको हातमा धागो बाँधेर न्वारान गरिदिए।

२०५६ मा उनीहरूको दाेस्राे सन्तान भयो।

अब समाजले गणेश र कमलापछि ती अवोध छोरीहरूमाथि पनि विभेद गर्न थाल्यो।

अति नै हुन थालेपछि २०५८ सालतिर गणेशले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई चिठ्ठी लेखे- ‘अन्तरजातीय विवाह गरेका कारण म र मेरो श्रीमती पीडित भएका छौँ, हामी सामाजिक बहिष्करणमा परेका छौँ, हामीलाई न्याय चाहियो!’

प्रधानमन्त्री कार्यालयले धुलाबारी गाउँ विकास समितिलाई पत्र पठाएर समस्या समाधान गर्न भन्यो।

फेरि (नव) ‘पञ्चायत’ बस्यो।

गणेशलाई अंशबापत चार कठ्ठा जग्गा दिने निर्णय भयो। तर, अंशको लागि गणेशले कमलालाई घर भित्र्याउन नपाउने शर्त गाउँसभाले राख्यो।

गणेशको मन फेरि दुख्यो। गणेशको त्यत्रो लडाइँ जाबो चार कठ्ठा जमिनका लागि थिएन। बरू उनी त आफ्नो प्रेमको न्यायका लागि लडिररहेका थिए।

कमलालाई घर भित्र्याउन नपाउने भएपछि गणेश आफू पनि आफ्नो घर छिरेनन्, विराटनगर फर्किए।

झापा र मोरङमा गणेश र कमलाको परिस्थितिबारे हल्ला चल्न थल्यो। त्यसपछि गणेश र कमलाको प्रेम कहानी मेचीनगरमा मात्रै सीमित रहेन। विराटनगरको बन्द कोठमा मात्रै सीमित रहेन।

पूर्वाञ्चलमा स्थानीय मिडिया हुँदै राष्ट्रिय पत्रपत्रिकाका पेज-पेजमा पुग्यो। त्यतिबेला पत्रकार भरत भट्टराई र अरुण बरालले राम्रो साथ दिएको गणेश सम्झिन्छन्।

तिनै पत्रिकाहरूमा छापिएका आफ्ना कथा अनि मनभरि व्यथा बोकेर २०५८ सालमा गणेश जातीय विभेदविरुद्ध अर्को लडाइँ लड्न काठामाडौँ आए।

काठमाडौँमा गणेशले नेता, मन्त्री, सांसद, दलित अधिकारकर्मी, मानव अधिकारकर्मीलगायत सबैलाई भेटे। तर, मनमा आशाको दीप बाल्ने कुनै सुत्र भेटिएन।

सामाजिक पुनःस्थापनाको लडाइँ लड्न काठमाडौँ आएका गणेशले पशुपतिनाथ मन्दिर र बसन्तुपरका मन्दिरका पिँढीहरूमा रात कटाए।

त्यही क्रममा उनी जागरण मिडिया सेन्टरमा पुगे। त्यहाँ सुवास दर्नाल (हाल स्वर्गीय)लगायतहरूसँग भेट भएको थियो।

डिबि सागर, सिताराम बराललगायतले गणेशलाई पत्रकार बन्न सुझाए। गणेशलाई पनि लाग्यो- अब कलमले युद्ध लड्छु!

उनी दलित समुदायको व्यक्तिहरुको लागि लक्षित गरेर सञ्चालन गरिएको एक हप्ते पत्रकारिता तालिममा सहभागी भए। त्यसपछि उनी ‘जनउत्थान मासिक’ पत्रिका बोकेर फेरि विराटनगर फर्किए।

आफ्नो सामाजिक पुन:स्थापना होस् भनेर संघर्ष गर्न काठमाडौँ आएका गणेश विराटनगर फर्किंदासम्म पत्रकारिताको माध्यमबाट सम्रग दलित समुदायको उत्थानको लडाइँ लड्ने संकल्पले भरिएका थिए।

विराटनगर पुगेर गणेश जनउत्थान पत्रिकाको बजारीकरणसँगै समाचार लेखनमा पनि सक्रिय हुनथाले।

सामान्य रुपमा समाचार र आलेखहरू लेखे। तर उनले त्योबेला काठमाडौंबाट निस्किने धेरै पत्रपत्रिका पनि बेच्थे।

२०५८ मा पत्रकारिता सुरु गरेका गणेशले जनउत्थान मासिक र जनआस्था साप्ताहिकबाट आफ्नो पत्रकारिता सुरु गरेको बताउँछन्। उनले दलित खबरमा पनि काम गरे। पत्रकारिता सुरु गर्दा गणेश ३४ वर्षका थिए।

गणेशले २०६० सम्म आइपुग्दा आफूजस्तै अन्तरजातीय विवाह गर्ने ५० भन्दा धेरै जोडी भेटे। ती जोडी भेट्दा गणेशलाई लाग्यो, ‘अन्तरजातीय विवाह गर्ने म मात्रै रहिनछु।’

अनि, जातीय विभेदविरुद्ध लड्ने प्रेरणा थप बढेर आयो।

गणेशले २०६० मा अन्तरजातीय विवाह गर्ने ५० जोडीको कथा समेटेर ‘समाजले नबुझेको विवाह’ लेखे। यो किताब अहिले पनि बजारमा पाइन्छ।

त्यसपछि गणेशले अन्तरजातीय विवाह गरेका व्यक्तिहरूले भोगिरहेको सामाजिक बहिष्कारविरुद्ध संघर्ष ‘फूलबारी नेपाल’ नामक संस्था खोले। पत्रकारितासँगै ‘फूलबारी नेपाल’ मा पनि सक्रिय भए।

सरकारले आर्थिक वर्ष ०६६/०६७ मा अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख रुपैयाँ दिने योजना ल्यायो। तर, यो कुरा गणेशलाई चित्त बुझेन, विरोध गरे। जसरी त्यो जग्गा जमिनको लागि थिएन, यो लडाइँ पैसाको लागि पनि थिएन।

‘मलाई लाग्यो यो पैसाले सामाजिक विभेद अन्त्य हुँदैन। पैसाको सट्टा दलितहरूलाई शिक्षा-दीक्षा, सीप, रोजगारी दिनुपर्छ भनेर मैले त्यो योजनाको विरोध गरेको थिएँ। हाम्रो एजेन्डा अदालतसम्म पुग्यो तर सुनुवाइ हुन सकेन,’ गणेश भन्छन्।

गणेशले आफूले देखेका हरेक विभेदका घटनाहरूलाई सञ्चारमाध्यममार्फत बाहिर ल्याएका छन्।

गणेशकै आवाजमा धेरैले जातीय विभेदविरुद्ध मुठ्ठी कसे। गणेशकै सुझाव पछ्याएकाहरू अहिले केही त मन्त्रीसमेत बनिसकेका छन्।

तीन कक्षा मात्रै पढेकी कमलालाई छोरीहरूसँगै पढाए। केही कक्षाहरू पढेपछि कमला ‘नेपाल आयल निगम’मा जागिरे पनि भइन्।

जेठी छोरी ‘मास्टर डिग्री’ गर्दै छिन्। उनले अब अरूलाई पनि पढाउन थालेकी छिन्। कान्छी छोरीले स्नातक पढ्दैछिन्।

दुवै छोरीहरू पत्रकारिताका विद्यार्थी पनि हुन्। गणेश आफैँले पनि रोकिएको पढाइ पुन: सुरु गरे।

विस्तारै समय फेरियो। राज्यको व्यवस्था फेरियो। कानुन फेरिए। नियम फेरिए। विधिविधान फेरिए। राजनीति फेरियो। ‘आमूल परिवर्तन’का नाराहरू ठूल्ठूला अक्षरमा लेखिए।

गणेशको जीवनको चित्र पनि अलिकति फेरियो। होटेल मजदुरबाट पत्रकार भए। सामाजिक कुरीतिविरूद्ध लडिरहे। सम्मान अनि पुरस्कारहरू पाए।

नेपाली समाजको चित्र पनि अलिकति फेरियो तर यसको चरित्र फेरिएन। कुसंस्कारको ‘लालमोहर’ लागेको त्यो समाजका मानिसहरू दिमाग अझै फेरिएन।

फेरि पनि यो समाज गणेश अनि कमलाहरूलाई भनिरहेछ,- अहो! तिमीहरू त कामी पो हौ?

गणेशको चाहना थियो– आफूहरुले भोगेको जातीय विभेद आफ्ना सन्तानले भोग्न नपरोस्। तर, कुसंस्कारले ग्रस्त भइसकेको यो समाजको चेत कहाँ फेरिएको छ र!

अब जवान भइसकेका उनका छोरीहरूमाथि पनि जातीय विभेदको तीर चल्न थालेको छ। अनि फेरि गणेशहरूको मन दुखेको छ।

अनि, फेरि उनले समाजिक सञ्जालमा लेखे, ‘आज मलाई साह्रै पीडा भएको छ, छिमेकीले हाम्रौ परिवालाई दलित भनेर देउता लाग्छन् घरभित्र नछिर भनेर मेरा छोरीहरूलाई विभेद गर्न थालेका छन्।’

जीवनभरिको कमाइ खन्याएर गणेश र कमलाले केही महिनाअघि मोरङको बुढीगंगा गाउँपालिका–१ करैयामा घर बनाएका थिए। २७ वर्ष लामो डेराबासपछि आफ्नै घरमा सरेका उनीहरूलाई लागेको थियो, अब त आफ्नै घरमा आइयो। डेरामा बस्दा जस्तो अब सहनु पर्दैन।

तर, सोचेकोजस्तो कहाँ भएको रहेछ र समाज!

गणेशको जीवन पो बद्लिएको थियो, उनको परिवारको बासस्थान पो फेरिएको थियो तर समाजका मान्छे त उनै थिए। ती अझै फेरिएका छैनन्।

गणेशकी श्रीमती कमला दलित भएको थाहा पाएपछि छिमेकीहरुले जिब्रो टोक्दै भन्न थालेका छन्, ‘ला! छिमेकी त कामी पो परेछन्। यिनीहरूलाई भित्र छिर्न दिनुहुँदैन देउता लाग्छन्!’

गणेश र कमलाहरूको मन फेरि बेस्सरी दुखेको छ।

यो सामाजिक चेत फर्काउनका लागि गणेश धेरै लडिसकेका छन्। धेरै भोगिसकेका छन्।

समाजले पटक–पटक दुखाउने गणेशको मन त्यतिबेला अझ धेरै दुखाएको थियो, जतिबेला आमाको मृत्यु हुँदा उनलाई अन्तिम संस्कार र सारा मृत्युसंस्कार गर्न छेकिएको थियो।

‘म व्यक्तिगत रुपमा यस्ता धार्मिक कर्मकाण्डमा विश्वास गर्दिनँ। तर, समाजले भने यस्तै कर्मकाण्डका आधारमा मान्छेको जात, वर्ग, छुत-अछुत निर्धारण गरेको देख्दा चित्त दुख्दो रहछ,’ गणेश भन्छन्।

बेलाबेला गणेशको मन त सहकर्मी पत्रकारहरूले पनि दुखाइदिन्छन्।

गणेश जुन घरबाट निकालिएका थिए, त्यो घरमा अहिले ८० वर्षीय उनका बुबा र आमा (कान्छी) छन् । भाइको परिवार पनि त्यतै छ।

गणेशलाई त्यो घरभित्र पस्न मन छ। त्यो घरमा फर्किनका लागि गणेशले धेरै प्रयास गरे, मिडिया लगे, अधिकारकर्मीहरू लगे, राजनीतिज्ञहरूले लगे। तर, उपाय लागेन।

अझै पनि गणेशको चाहना छ- जन्मघर फर्किने, बुबा-आमाको स्याहार गर्ने। तर, सायद गणेश र उनको परिवारका लागि त्यो घरको ढोका खुल्दैन।

र, चेतनाको यो बिर्को उघार्न गणेश र कमलाहरूले अझै अर्को लडाइँ लड्नुपर्नेछ।

प्रकाशित मिति: : 2023-08-26 19:00:00

प्रतिकृया दिनुहोस्