पाकिस्तानविरुद्ध भारतका कठोर निर्णयहरू

सिन्धु जल सम्झौता खारेज, पाकिस्तानी कुटनीतिज्ञहरूलाई भारत छोड्न आदेश

जम्मु कश्मिरको पहलगाममा आतंकवादी आक्रमणपछि भारतले पाकिस्ताविरुद्ध कैयौं कडा निर्णयहरू गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तत्कालैदेखि लागु हुनेगरी पाकिस्तानसँग भएको ‘सिन्धु जल सम्झौता’ स्थगित गरेका छन्। 

पाकिस्तानले सिमापार आतंकवादलाई दिएको समर्थन फिर्ता नभएसम्मका लागि सिन्धु जल सम्झौताको स्थगन लगायत अरु कैयौ निर्णयहरू पनि लागु हुनेछन्। चीनदेखि भारत हुँदै पाकिस्तानतिर जाने याे नदी पकिस्तानका लागि लाइफ लाइन हाे। यही सम्झौताअनुसार पाकिस्तानले पाउने पानीबाट त्यहाँकाे लगभग साढे २ कराेड एकड जमिन सिंचित हुन्छ। 

भारतले अटारी इन्टिग्रेटेड चेक पोस्ट पनि बन्द गर्ने निर्णय गरेको छ। यो चेकपोस्टबाट यसअघि नै भारत आएकाहरू १ मेभन्दा अघि नै फर्किन पनि भारतले निर्देशन दिएको छ। 

भारतीय विदेश सचिव बिक्रम मिस्रीका अनुसार अब पाकिस्तानी नागरिक सार्क भिसा छुट परियोजनाअन्तर्गत जारी भएका भिसाका आधारमा भारत यात्रा गर्न पाउने छैनन्। यस अन्तर्गत जारी भएका सबै भिसाहरू पनि भारतले रद्द गरिदिएको छ। उनीहरूलाई ४८ घण्टाभित्र भारत छोड्न पनि निर्देशन दिइएको छ। 

नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगहरूका अधिकारीहरूलाई पनि भारतले एक साताभित्र भारत छोड्न निर्देशन दिँदै भारतले पाकिस्तानमा रहेका आफ्ना कुटनीतिक नियोगका सबै अधिकारीहरूलाई पनि फिर्ता बोलाएको छ। 

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षामा बसेको भारतीय उच्चस्तरीय सुरक्षा संयन्त्रको बैठकले पहलगाम आक्रमणका योजनाकारलाई कुनै पनि हालतमा नछोड्ने निर्णय गर्दै जम्मु कश्मिर क्षेत्रमा उच्च सैनिक अपरेशन जारी राख्न भनेको छ। 

पहलगाम घटनापछि भारतमा रहेका पाकिस्तानी उच्चायुक्तले भारतका हरेक दुस्साहसहरूलाई असफल बनाउनका लागि पाकिस्तान सधैं तयार रहेको र हरेकपटक मुखभरिको जवाफ दिइरहने बताएका थिए। 

यो आक्रमण हुनुअघि नै पाकिस्तानका सेना प्रमुख जनरल सैयद आसिम मुनिरले कश्मिर हरेक पाकिस्तानीको नशानशामा रहेको भन्दै कुनै पनि हालतमा त्यसलाई भुल्न नसक्ने बताएका थिए।
 
मंगलबार पहलगाम घुम्न गएका पर्यटकहरूलाई छानीछानी मारेका थिए। त्यसक्रममा २८ जना मारिएका छन् भने एकजना नेपाली पनि मारिएको पुष्टि भएको छ। 

यो आक्रमणको जिम्मा ‘द रेसिस्टेन्स फ्रन्ट‘ अर्थात् टिआरएफले लिएको छ। लस्कर-ए-तायवाको छाँया संगठन मानिने यो समूहलाई भारतले आतंककारीको सूचीमा राखेको छ। यो पाकिस्तानी सेनाको समर्थन प्राप्त जम्मु कश्मिरको एक स्थानीय हतियारधारी संगठन हो। 
 

प्रकाशित मिति: : 2025-04-24 09:42:00

प्रतिकृया दिनुहोस्