प्लाष्टिकको पाइपले कुटिकुटि श्रीमतीको हत्या

मोरङको पथरीशनिश्चरेकी एक जना युवतीको आफ्नै पति (श्रीमान)को कुटाइबाट ज्यान गएको छ।

मोरङ प्रहरीका डीएसपी मञ्जिल मुकारुङका अनुसार पथरीशनिश्चरे नगरपालिका–२ बुद्ध चोकका ३३ वर्षीय जय शर्माले प्लाष्टिकको पाइपले कुटेर पत्नी (श्रीमती) १९ वर्षीया पूजा विकको हत्या गरेका हुन्।

मादक पदार्थ सेवन (मापसे) गरेर घरमा आएका जयले गत पुस ३० गते पत्नीमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ।
पतिको कुटाइबाट गम्भीर घाइते भएकी पूजालाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। पूजाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको थियो। गम्भीर अवस्थामा अस्पताल भर्ना गरिए पनि उपचार हुन नसकेपछि फर्काएर घर लैजाँदै गर्दा शनिबार साँझ बाटैमा पूजाको मृत्यु भएको डीएसपी मुकारुङले बताए। पत्नीको हत्यामा संलग्न जयलाई पक्राउ गरिसकिएको र उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2022-01-16 21:55:00

प्रतिकृया दिनुहोस्