महोत्तरीमा माओवादीको राष्ट्रिय सम्मेलनका प्रतिनिधि छान्न सकस

नेकपा माओवादी केन्द्र महोत्तरीले राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छान्ने अधिकार केन्द्रीय सदस्य र प्रदेश कमिटी सदस्यलाई सुम्पेको छ।

आकाङक्षीहरुबीच प्रतिनिधिको विषयमा विवाद भएपछि सम्मेलनमा प्रतिनिधि छान्ने अधिकार केन्द्रीय सदस्य र प्रदेश कमिटीलाई सुम्पेको माओवादी केन्द्र महोत्तरीले जनाएको छ।

वडादेखि जिल्ला तहसम्म निर्वाचित हुँदै आएका केही  नेताहरुको नाम सिफारिस भएको भए पनि अन्तिम निर्णय लिने अधिकार केन्द्रीय सदस्य र प्रदेश कमिटीलाई प्रदान गरेको नेकपा माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काले जानकारी दिए।

`प्रदेश सम्मेलनबाट नै केन्द्रीय सदस्य र प्रदेश कमिटी सदस्यहरुबीच छलफल भएपछि मात्र सम्बन्धित जिल्लाको प्रतिनिधि छान्ने अधिकार प्राप्त भएको छ,´  केन्द्रीय सदस्य समेत रहेका राजु खड्काले भने।

महोत्तरीबाट कृयाशिल सदस्यको आधारमा १३ जना प्रतिनिधि छान्न मिल्छ।  केन्द्रीय सदस्य र प्रदेश कमिटीमा छलफलका लागि भने सबै आकाङ्क्षीहरुको नाम पठाइसकिएको माओवादी केन्द्र महोत्तरीले जनाएको छ।

छलफलवाट १२ जनाको नाम टुंग्याइसकिएको र एक जनाको नाम अझै बाँकी रहेको माओवादीका एक जना केन्द्रीय नेताले बताए। 

बिहीबार ११ बजेभित्र सम्पूर्ण प्रतिनिधिको नाम टुंग्याएर केन्द्रमा पठाइसक्ने तयारी प्रदेश कमिटीको छ।

प्रकाशित मिति: : 2021-12-23 06:50:00

प्रतिकृया दिनुहोस्