सँगै बाँच्ने र सँगै मर्ने कसम खाएर १७ वर्षको कलिलो उमेरमा प्रेम विवाहपछि घरजम सुरु गरेकी ३१ वर्षीया कुमारी खत्री यतिबेला आफ्नै श्रीमानबाट असुरक्षित भएकी छिन्।
श्रीमानले कुट्ने, पिट्ने र मार्नेसम्मको धम्की दिएपछि उदयपुरको त्रियुगा–८ रातेखोला घर भएकी कुमारी अहिले मोरङको रतुवामाई–८ इटहरामा आफ्नी दिदीको घरमा शरण लिएर बसिरहेकी छिन्।
श्रीमान् मात्र होइन, सासु-ससुरा, नन्द-आमाजु र देवरसमेत आफ्नो पक्षमा नभएपछि उनी ज्यान जोगाउन गत कात्तिक ११ गते इटहरा आइपुगेकी हुन्। कुमारीका १२ र ८ वर्षका दुई छोरा छन्।
कुमारी आफ्ना पति सिद्धिकुमार खड्कासँग ५ वर्ष अघिदेखि अलग्गै बस्दैआएकी थिइन्। श्रीमानले बर्सेनी श्रीमती फेरेको थाहा पाएपछि कुमारी घर–सल्लाहमा एक्लै बस्न थालेकी थिइन्। बैदेशिक रोजगारका लागि कतार जाउन्जेल खड्का दम्पत्तिको घरजम गज्जब चलेको थियो। तर, खड्का कतारबाट फर्केर मलेसिया गएपछि कुमारीका दुःखका दिन सुरु भए।
कुमारी भन्छिन्, 'मलेसियामै राई थरकी केटीसँग प्रेम बसेछ। त्यसपछि म र छोराहरूप्रति वेवास्था गर्न थाल्नुभयो। परिवारका सदस्यले समेत छोरा मान्छेले जति वटी ल्याए पनि तलाई राम्रो गर्यो भने भै गयो नि, भनेर सल्लाह दिए। मैले पनि आफू भन्दा ठूलाको कुरा होला भनेर माने।'
महिला भएकोले सहनु सबै सहेकै थिएँ। तर, सासु-ससुरा, देवर र नन्दले दशैंको टीकाको दिन श्रीमानलाई तेस्री श्रीमतीसहित घर भित्र्याउन स्वीकृति दिएपछि कुमारीले संसार सबै अध्यारो देखिन्। आफ्नै भनाउँदाहरूले दुईभाइ छोरा र आफूलाई घर निकाल्ने तानावाना बुनेको बुझेपछि उनले प्रहरी र स्थानीय प्रशासनमा उजुरी गरिन्।
'राई थरकी ती महिलाले पनि विष खाएर आत्महत्या गरिन्। उनको काज किरिया पूर्वीय परम्परा अनुसार मेरै घरमा भयो। कुचोले बढार्नु पर्ने कसिंगर हावाले उडायो भनेर म पनि खुसी थिए,' कुमारीले भनिन्। तर, श्रीमानले मगर थरकी अर्की महिला राखिसकेका थिए। 'दुई जना महिला बीच खटपट भएपछि राई थरकी महिलालाई विष खुवाएर मारेको भन्ने हल्ला सुनेँ,' कुमारीले भनिन्, 'श्रीमानलाई केही दिन प्रहरीले पक्राउ गरेर छोडेको गाउँमै हल्ला भयो।'
प्रहरी र स्थानीय प्रशासनसमेत मिलेर बस्नु भनेपछि कुमारीमाथि लगातार आक्रमण हुन थाल्यो। न्याय मरेपछि हरेक दिन कुटाई खानु पर्ने, सासुले नै अर्को लोग्ने खोजेर जा... भन्दै गाली गर्न थाल्नुभयो,' उनले भनिन्। श्रीमान कुट्ने, सासु कुटुने, आफन्त जति सबै बिरानो भएपछि कुमारीले कात्तिक ११ गते घर छोडिन्।
'उदयपुरमा मेरो कुरा कसैले सुनेनन्। न पुलिसमा उजुरी लिइदिए। न समाजले मेरो पक्षमा बोलिदियो। महिला अधिकारकर्मीले पनि मिलेर बस्न सुझाए। त्यसैले न्याय खोज्दै दिदीको घरमा आएकी हुँ,' कुमारीले भनिन्।
यतिबेला कुमारीको आँखामा आँशु सकिएको छ। निद्रा हराएको छ। आकासको जुन झार्ने सपना देखाएर बिहे गरेको केटालेनै मार्ने, काट्ने गरेपछि ज्यान जोगाएर उनी मोरङ आएकी छिन्। उनले भनिन्, 'के अब मैले न्याय पाउँदिन त?'