ओलीलाई चुनाव लाग्यो, हात जाेड्दै पुग्न थाले गाउँ–गाउँ (फाेटाे फिचर)

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली चुनावी तयारीमा होमिएका छन्। उनी वर्तमान संसदले निकास राजनीतिक निकास दिन नसक्ने भन्दै ताजा जनादेशमा जानुपर्ने बताउँदै आएका छन्।

सत्तासीन नेपाली कांग्रेसको एउटा तप्का नै मध्यावधि (अर्ली इलेक्सन) मा जानुपर्ने लवइङ गर्दै आएको र गत साता गृहप्रदेश सुदूरपश्चिम जाँदा धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाले ताजा जनादेशबारे सत्ता गठबन्धनसँग छलफल गर्ने बताएपछि ओली झनै हैसिएका हुन्।

किनकि अहिल्यै अवस्थामा वैशाखभित्र मध्यावधि चुनाव भएमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीभन्दा आफ्नो पार्टी एमालेले अगाडि हुने ओली पक्षीय आँकलन छ। सत्ता गठबन्धन चुनावी गठबन्धनमा परीणत नहाेस् भन्ने चाहन्छन्, ओली।

आगामी वैशाखभित्र स्थानीय तहकाे चुनाव गर्नुपर्ने प्रस्ताव निर्वाचनआयाेगले गरिसकेकाे छ। चुनावकाे खर्चमा मितव्ययिता अपनाउन तीन तहकै चुनाव एकैपटक गर्नुपर्ने माग पनि उठिरहेका बेला ओलीले गृहजिल्ला झापाबाट चुनावी माहोल बनाउन थालेका छन्।

एमाले झापाका जिल्ला अध्यक्ष चिन्तन पाठककाअनुसार पछिल्लो समय ओलीको गृहजिल्ला आउजाउ बढेको छ। पछिल्लोपटक दुईदिवसीय यात्राका क्रममा आइतबार झापा पुगेका ओलीले भाषणभन्दा पनि भेटघाट तथा अरुको कुरा सुन्नमै समय व्यतित गरे। भद्रपुर विमानस्थल हुँदै ओली सुरुमा आफ्नो पिता मोहन ओलीको निवास भद्रपुर-१ पृथ्वीनगर पुगे। जहाँ उनका ९३ वर्षीय पितासँगै भाइ बुहारी बस्छन्।

ओली आफ्नो पुर्ख्यौली निवास पुग्दा उक्त घर पार्टी कार्यालयजस्तै देखिन्थ्यो। आफन्त, छरछिमेक र नेता कार्यकर्ता तथा शुभचिन्तकको भीड लागेको थियो। ओलीले भ्याएसम्म शुभचिन्तक तथा छिमेकीसँग तस्बिर खिचाउने र सञ्चोबिसञ्चो भलाकुसारी गरे। कतिसम्म भने एकजना महिला शुभचिन्तक कुमारी लिम्बुले सधै फोटोमा मात्रै देखेको भन्दैमास्क खोल्न आग्रह गर्दा ओलीले मास्कमात्रै खोलेनन् नजिकै बोलाएर तस्बिर पनि खिँचाए। के कसो भनेर हालखबर सोधे। 

प्रकाशित मिति: : 2021-10-27 20:25:00

प्रतिकृया दिनुहोस्